खेलकुद २०१७
सन् २०१७ नेपाली खेलकुद जगतमा एउटा यादगार बर्ष सावित हुन गयो। भर्खर मात्र नेपाली १९ बर्ष मुनिको समूहले एसिया कपमा छिमेकि राष्ट्र भारतलार्इ पराजित गरेको खबरले अहिलेसम्म खेलकुद प्रेमीहरुमा हर्षौल्लाश छ। तर, यो वर्ष नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन भने त्यति सन्तोषजनक रहन सकेन। कप्तान पारस खड्काको अगुवाईमा रहेको राष्ट्रिय टोलि, यसै वर्षको खेलहरुमा लगातार खराब प्रदर्शन पछी डिभिजन १ बाट डिभिजन २ मा खस्केको छ ।
यो बर्ष नेपाली घरेलु क्रिकेटको लागि भने एउटा उत्कृष्ट बर्ष रह्यो। "धनगडी प्रिमियर लिग" र भर्खर मात्र सम्पन्न भएको "एभरेष्ट प्रिमियर लिग" जस्ता अति आवश्यक क्रिकेट प्रतियोगिताहरु यस बर्ष आयोजना भए । क्रिकेटमा प्रगति गरिरहेको नेपाल जस्तो राष्ट्रमा यस किसिमको प्रतियोगिताले युवा खेलाडीहरुको हौषला बढाउन मदद गर्यो ।
अप्रिलमा भएको धनगडी प्रिमियर लिगमा ६ टिमको प्रतिष्पर्धा रहेको थियो भने नेपाल राष्ट्रिय क्रिकेट टोलिको कप्तान पारस खड्काले अगुवाई गरेको टिम चौराहा धनगडीले उपाधि हात पार्यो । त्यसैगरी डिसेम्बर महिनामा काठमाण्डौमै सम्पन्न भएको एभरेष्ट प्रिमियर लिगको फाइनलमा पनि कप्तान पारसकै टिम बिराटनगर वारियर्सले नाटकीय अन्त्य रहेको उत्कृष्ट खेलमा भैरहवाको टिमलार्इ १ रनले पराजित गर्दै उपाधि आफ्नो नाम गर्यो ।
त्यसैगरि, नेपाली राष्ट्रिय फुटबल टोलिबाट पनि यो बर्ष फुटबलमा कुनै उत्साहजनक क्षण आउन सकेन । यसैबर्ष सम्पन्न भएको "ए यफ सी एसियन कप"मा नेपाली फुटबल टोलीले आफ्नो समर्थकहरुलाई निराश बनाउदै ५ खेलमा कुनैपनि जीत हात पार्न सकेन।
अन्तराष्ट्रिय खेलकुद जगतको कुरा गर्दा भने यो बर्ष अब २०१८ मा हुने विश्वकप फुटबलको छनौट खेलहरु सम्पन्न भए र सो खेलहरुमा केहि अप्रत्यासित परिणामहरु आए । फुटबलमा प्रतिस्पर्धी टिम मानिने नेदरल्याण्ड अर्थात हल्याण्ड छनौट हुन सकेन ।
त्यसैगरी, फुटबल प्रेमीहरुको लागि निक्कै नै प्रतिक्षित हुने यस बर्षको "फिफा प्लेयर अफ द इयर"मा अर्जेन्टिनाका लियोनेल मेस्सीले फेरी एकपटक अर्को चर्चित प्लेयर क्रिस्टियानो रोनाल्डोलार्इ पछी पार्दै उपाधि आफ्नो पोल्टामा पारे ।
यसै बर्ष बंगलादेशमा भएको "रोल बल च्याम्पियनसिप"मा कुल ४० देशले सहभागिता जनाएको थियो भने नेपालले यस प्रतियोगितामा क्वाटर फाइनलसम्मको यात्रा तय गर्यो ।
मनोरञ्जन २०१७
यो बर्ष नेपाली चलचित्र क्षेत्रको लागि भने एउटा परिवर्तनकारी बर्ष रह्यो । खराब प्रदर्शनबाट बर्षौदेखि गुज्रिरहेको नेपाली चलचित्र क्षेत्र सन् २०१६ मा केहि हदसम्म सम्हालिएको थियो भने २०१७ चलचित्र क्षेत्रको लागि उत्कृष्ट साबित भयो । अघिल्लो बर्षहरुमा सफल भएका नेपाली चलचित्रहरुलाई औलामा गन्न सकिने गणितलाई पर धकेल्दै यस बर्ष थुप्रै चलचित्रहरुले सफलताको स्वाद चाखे । एकातिर 'घामपानी" , "ए मेरो हजुर २" , "प्रेमगीत २" , "म यस्तो गीत गाउछु" जस्तो रोमान्टिक चलचित्रले दर्शकहरुको मनमा आफ्नो स्थान बनाउन सफल भयो भने अर्कोतर्फ "लूट २" , "२ रुपैया" , "फाटेको जुत्ता" र "लप्पन छप्पन" जस्तो चलचित्रहरुले दर्शकहरुको पूर्ण मनोरञ्जन गराए ।
बर्षको सर्वाधिक कमाउन सफल चलचित्र भने यस बर्ष पनि दीपक दीपाको "छक्का पन्जा २" हुन गयो । नेपालि चलचित्रहरुले यस बर्ष स्वदेशमा यति लोकप्रियता पायो कि कुनै बेला बिदेशी चलचित्रको बच्सर्व रहने हाम्रो चलचित्र उद्योगमा यस बर्ष त लगभग बिदेशी चलचित्रहरु स्वदेशी चलचित्रको अगाडी फिक्का बन्दै गए । यो अवस्था अब झन् सुध्रने अनुमान चलचित्रकर्मीहरु माझ हुन थालेको छ।
नेपालि चलचित्रको सुखद प्रदर्शनसंगै नेपालि गीत सङ्गीतले पनि यो बर्ष फड्को मरेको छ । उत्कृष्ट गीत सङ्गीत कै मददले पनि चलचित्र सफल हुन थालेको भन्दा गलत नहोला । यसबर्ष थुप्रै यस्ता गीतहरुले नेपाली बजार ततायो र युट्युबमा १ करोडको आकडा पार गर्न सफल भयो । यसै बर्ष सार्वजनिक भएको चलचित्र "२ रुपैया"को "कुटु मा कुटु" ले त नेपालको जनसंख्या भन्दा बढी युट्युब भिउ पाउन सफल रह्यो ।
चलचित्रका गीतहरुले मात्र नभएर यो वर्ष सार्वजनिक भएका "नाइँ मलाइ थाहा छैन" र "भाइरल भैदियो" जस्तो गीतले पनि संगीतप्रेमीहरुलाई एउटा फरक स्वाद दिन सफल रहे ।
मनोरञ्जन क्षेत्रमा यहि सब कारणले पनि यो बर्ष उत्कृष्ट बर्षको रुपमा लिन सकिन्छ र कमसेकम सन २०१७ ले यस उद्योगलाई अब झन् झन् बर्षै पिच्छे प्रगतिको बाटोमा डोहोर्याउने पूर्वानुमान गर्न सकिनेछ।
अन्तराष्ट्रिय चलचित्रहरुको कुरा गर्दा यस बर्ष चलचित्र “ब्युटी एण्ड द बिस्ट” विश्वकै सर्वाधिक कमाउने चलचित्र बन्न पुग्यो , त्यसैगरी यस बर्ष युट्युबमा सार्वजनिक भएको "डेस्पासिटो" गीतले विश्वलाई नै आफ्नो बिटमा नचाउँन सफल भयो । साढे चार अर्ब भन्दा धेरै पटक युट्युबमा हेरिएको यो गीतले आफ्नो नाममा धेरै रुचाइएको गीतको रेकर्ड बनाउन सफल भयो ।
हिन्दी चलचित्र क्षेत्रमा भने यस बर्ष "बाहुबली द कन्क्लुजन"ले सबै रेकर्ड तोड्दै भारतीय इतिहासमै सर्वाधिक कमाउने चलचित्र बन्यो ।
सन् २०१७ ले थुप्रै सफलताहरु चाखेको छन्, थुप्रै इतिहासहरु रचेका छन, तर पनि २०१७ भन्दा २०१८ थप सफल हुन आवश्यक छ , विश्वलाई शुभ कामना ।
Liked by: