योगा गर्नै पर्ने १६ कारणहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

योगा गर्नै पर्ने १६ कारणहरु





-प्रकाश आचार्य, योग विषेशज्ञ
मानिसले निश्चय नै आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, जति कोसिस गरे पनि रोगले शरीरलाई छाड्ने होइन । कताबाट रोग आइलाग्छ पत्तै हुँदैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छन्, जिम लान्छन्, जिउ मर्काइमर्काई ‘डान्स’ गर्छन् तै पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रूपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा पुर्याए पनि पूर्णता भने दिएको हुँदैन ।

शारीरिक अभ्यासका रूपमा जबसम्म योगलाई आत्मसात् गरिँदैन अरू कुनै उपायले त्यो सन्तुष्टि दिनै सक्दैन । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अरू व्यायामभन्दा योग नै किन ? भन्ने जिज्ञासुहरूका लागि निम्न बुँदा उपयोगी साबित हुन्छन् ।


१) स्वास्थ्य वैज्ञानिकहरूका अनुसार रोग लाग्नुको कारणमध्ये शरीरमा ‘फ्रि रेडिकल’ बढ्नु पनि एक हो । फ्रि रेडिकलले हाम्रो कोषिका तथा डीएनएलाई विकृत गर्छ । फ्रि रेडिकल बढ्ने कारणमध्ये अत्याधिक थकानयुक्त कसरत (जिम, एरोबिक, दौड आदि) पनि एउटा हो । योगको अभ्यासपछि भने शरीरमा हल्कापन आउँछ र फ्रि रेडिकल बढ्न पाउँदैन ।

२) अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ ।

३) शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले गर्न कुनै कठिनाइ हुँदैन ।

४) अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।

५) योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ ।

६) योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ ।

७) योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् ।

८) योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरू अभ्यासमा त्यो पाइँदैन ।

९) जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ । ‘रिढ’को लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।

१०) योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरू शारीरिक व्यायाममा यस्तो पाइँदैन ।

११) योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ ।

१२) अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ ।

१३) अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन्, तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन ।

१४) योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।

१५) शरीरमा हर्मोन्स तथा इन्जाइमको सन्तुलन मिलाउन र शरीरलाई सक्रिय एवं ऊर्जावान् बनाउन योगले ठूलो भूमिका खेल्छ ।

१६) शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् । स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको कुरा हो ।

अतः स्वास्थ्यका लागि सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।

स्रोतः स्वास्थ्य खबरपत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.