श्रद्धा सुमन | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

श्रद्धा सुमन




   दुर्गा वनवासी - Jul 11 2024

भानुको सालिकमुन्तिर भानु जयन्ती मनाउनेहरुको घुइँचो थियो | विशिष्ट व्यक्तित्वहरुबाट भानुको सालिकमा माल्यार्पण गरी कार्यक्रमको श्रीगणेश भयो | सालिकछेउकै खुला चौरमा पाल टाँगेर बनाइएको अस्थायी हलमा कार्यक्रम सम्पन्न हुँदैथियो | मन्चमा आसीन गरिमामय व्यक्तित्वहरु भानुको जीवनी, योगदान र कृतिहरुमाथि प्रकाश पार्दैथिए | बोल्ने शैली र स्वर पृथक भए पनि लगभग तिनै विषयवस्तुहरु दोहोरिन्थे | हेर्दाहेर्दै एउटा एउटा वहानामा लगभग आधा हल खाली भइसकेको थियो | मन्चमा आसीन अतिथिहरु चाहिँ उँघ्दै भए पनि पालो पर्खिरहेका थिए | उद्घोषक बेलाबेलै औपचारिक कार्यक्रमपछिको सांस्कृतिक कार्यक्रमको प्रलोभनद्वारा दर्शक, श्रोताहरुलाई कार्यक्रममा बाँधिराख्न उद्यत थिए |

करिव डेढ घन्टाको भानुप्रति श्रद्धान्जली अर्पण गरिएको औपचारिक कार्यक्रमपश्चात उद्घोषकले सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको उद्घोष गरे | हल फेरि खचाखच भरियो | भाषासँगै संस्कृति र संगीत पनि जोडिएका हुन्छन् र संगीतको कुनै भौगोलिक या भाषिक सिमाना हुँदैन भन्दै उद्घोषकले व्याख्या गरिदिएपछी कार्यक्रमको बन्देज खुकुलो भयो | हेर्दाहेर्दै अंग्रेजी र हिन्दी गीत र नृत्यहरुले भरपुर मनोरंजन दिन थाले | दर्शक दीर्घाबाट वाहवाह र तालीका गड्गडाहटसँगै जोशिएका कति त मन्चमै पुगेर नाच्न थाले भने कति बसेकै ठाउँमा उठेर हल्लिन थाले | समग्रमा कार्यक्रम निकै रोचक तरिकाले सम्पन्न भयो |

कार्यक्रम सकिएपछि सालिकका भानु एक्लै परे | दिनभरिको कार्यक्रमको समीक्षा गर्दै उनी गुन्गुनाए –
माला लगाए, ताली बजाए
श्रष्टाको सालिक भव्य सजाए
विदेशी बाजा, स्वदेशी गोडा
सर्जक र श्रद्धा दुवै लजाए |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.