आफ्नो मुख्य द्वारमा लक्ष्मीजीको पदचिन्ह स्थापना गर्नु भनेको लक्ष्मीजीलाई भित्र्याउनु हो । यम पञ्चकमा घरको मुख्य द्वारमा चाँदी, तामा या कागजकै स्टिकर भएपनि स्थापना गर्नु लाभदायक हुनेछ । यस्तो पदचिन्ह सम्भव भए मुख्य द्वारको तल्लो भागमा गाड्ने र सम्भव नभए स्थापना मात्र गर्ने अथवा रातो माटो या कमेरो माटोले पदचिन्ह बनाउनु पर्दछ ।
जब तपाईं लक्षमी पूजा तथा दिपावलीकोलागि किनमेल गर्न जानुहुन्छ त्यतिखेर केहि कुरा निक्कै ध्यान दिनुपर्ने हुन्छ । वास्तु शास्त्रानुसार आफ्नो घर आँगन, व्यापारीक केन्द्र आदीमा लक्षमीजीलाई प्रसन्न पार्ने वस्तुहरू स्थापना गर्दा लक्षमीजीको स्थिर वास हुनुको साथै घर परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुनेछ ।
कुनैपनि वासस्थान वा व्यापारीक केन्द्र होस त्यसको मुख्य द्वार तपाईंको सफलताकोलागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यस यमपञ्चक दिपोत्सवमा लक्ष्मीजीलाई प्रसन्न पार्न मुख्य द्वार बिग्रिएको वा भत्किएको छ भने त्यसलाई चाँडै बनाएर आकर्षक ढङ्गले सजाउनु पर्दछ र मुख्य द्वार वरीपरी वास्तु शास्त्रानुसार केहि वस्तुहरू स्थापना पश्चात् देख्नु वा पाउनु हुनेछ घर परीवारमा सुख, शान्ति, समृद्धि र स्थिरता माता लक्ष्मीले युक्त सफल जीवनको अनुभूति ।
घर आँगन या व्यापारीक केन्द्रको मुख्य द्वारमा लक्ष्मीजीको प्रिय वस्तुहरू राख्नाले लक्ष्मीजीको कृपा प्राप्त हुनेछ । मुख्य द्वारमा राखिने वस्तुहरू वास्तुशास्त्रानुसार निम्न प्रकारका छन्ः
१) जलपुष्पदानी (फ्लावर वाटर पट)
सबैभन्दा पहिले मुख्यद्वारमा फ्लावर पट अर्थात पानी भरेर फूल राख्न मिल्ने भाँडो । यम पञ्चकको पाँचाै दिनसम्म शिशाको भाँडामा पानी भरेर सुगन्धित पुष्पहरू राख्नुपर्दछ । हरेकदिन नबिराई राखिएका पुष्पहरू बदल्नुपर्दछ । यसो गर्नाले घरमुलीलाई सकारात्मक उर्जा प्रदान गरी कुनै प्रकारको नकारात्मक उर्जालाई घरभित्र प्रवेश गर्न दिंदैन । सम्भवतः जलपुष्प सुगन्धयुक्त होस्, जलपुष्पदानी मुख्य द्वारको पूर्व या उत्तर दिशातर्फ राख्नु पर्दछ, यो तपाईंकोलागि भाग्यशाली रहनेछ । शिशाको भाँडा नभए तामा, पित्तल या माटोको साधारण भाँडामा पानी राखेर सजाउन सकिन्छ ।
२) पदचिन्ह
आफ्नो मुख्य द्वारमा लक्ष्मीजीको पदचिन्ह स्थापना गर्नु भनेको लक्ष्मीजीलाई भित्र्याउनु हो । यम पञ्चकमा घरको मुख्य द्वारमा चाँदी, तामा या कागजकै स्टिकर भएपनि स्थापना गर्नु लाभदायक हुनेछ । यस्तो पदचिन्ह सम्भव भए मुख्य द्वारको तल्लो भागमा गाड्ने र सम्भव नभए स्थापना मात्र गर्ने अथवा रातो माटो या कमेरो माटोले पदचिन्ह बनाउनु पर्दछ । यसमा ध्यान राख्नुपर्ने कुरा जे लगाए पनि लक्ष्मी माताको पाउको दिशा घर भित्रतर्फ प्रवेश गरीरहेको हुनुपर्दछ । यस्तो गर्नाले घर भित्र धनधान्य तथा लक्ष्मी माताको आगमन हुनेछ ।
३) तोरण
घरको मुख्य द्वारमा तोरण वा बन्धनवार सजाउने घरमा सकारात्मक उर्जाको वास हुने र नकारात्मक उर्जा घर बाहिरै रहने हुनाले आफ्नो घर वा व्यापारीक केन्द्रको मुख्य द्वारमा तोरण सजाउनु पर्दछ । तोरण आँप, पिपल, अशोक आदी रूखका पातको, कपडाको, मोतिको, पुष्पको अथवा विभिन्न रत्न आदी आधूनिक जुनसुकै लगाउन सकिन्छ । यदि घरको मुख्य द्वार अगाडी कुनै बाटो छ भने शिशालेयुक्त तोरण लगाउनु महत्वपूर्ण हुन्छ । यदि तपाइको घरको मुख्य द्वार अगाडी कुनै बाटो छैन भने शिशायुक्त तोरण पूर्ण वर्जित हुन्छ, त्यसैले शिशायुक्त तोरण सबै घरमा लगाउनु हुँदैन ।
४) लक्ष्मीजीको मुर्ती
धनतेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईं माटोको मुर्ति वा तस्बिर पनि लिन सकिनेछ । मुर्ति लिंदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको वास हुन्छ ।
५) स्वस्तिक चिन्ह
घरको मुख्य द्वारको दुवै तर्फ चाँदिको नभए अबिर, केशरीकोद्वारा स्वस्तिक स्थापना गर्नाले एकदमै लाभ मिल्नेछ । वास्तु शास्त्रमा स्वस्तिकलाई अत्यन्तै शुभ मानिन्छ । यसले घर परीवारमा समृद्धि र सु-स्वास्थ्यता प्रदान गर्नेछ । स्वस्तिकका साथै शुभ-लाभ र ॐ पनि स्थापना गर्नुपर्दछ । यस्तो गर्नाले घर अफिस वा व्यापारीक केन्द्रमा शुभ र लाभको प्रवेश भइ रोग, कष्ट, दुःख, क्लेस आदि नकारात्मक कुराहरू टाढा रहन्छन् ।
यहाँ धेरै कुरा चाँदीको लगाउनुपर्छ भनिएको छ किनकि चाँदी लक्ष्मीजीलाई प्रिय छ र यो अत्यन्त शुभ मानिन्छ । वास्तु शास्त्रानुसार मुख्य द्वारमा चाँदीका सामाग्री स्थापना गर्नाले त्यस घरमा लक्ष्मी माताको वास हुन्छ । त्यसैले सम्भव भएसम्म चाँदीको प्रयोग गर्नु राम्रो मानिन्छ । यदी सम्भव छैन भने गच्छ अनुसार साधारण वा किफायती सामान श्रद्धापूर्वक उपयूक्त स्थानमा सजाउनु प्रभावकारी हुन्छ ।
६) श्री-यन्त्र
लक्ष्मी पूजाको अवसरमा आफ्नो घर, अफिस वा व्यापारीक केन्द्रको मुख्य द्वारमा पूजा स्थानमा श्री-यन्त्रको स्थापना गर्नाले स्थिर लक्ष्मी प्राप्त भइ घर भित्रको नकारात्मक उर्जालाई बाहिर निकाली सकारात्मक उर्जा प्रदान गर्दछ । यसमा ध्यान दिनुपर्ने कुरा यो छ की श्री-यन्त्रलाई दक्षिण दिशातर्फ स्थापना गर्नुपर्दछ ।
७) रङ्गवल्ली (रङ्गोली)
शुभ दिपावलीको अवसरमा रङ्गवल्ली अर्थात् रङ्गोलीको निक्कै महत्व छ । वास्तु शास्त्रानुसार आफ्नो घर आँगन वा कुनै व्यापारीक केन्द्र आदिमा सप्तरङ्गी वा अधिक रङ्गमा रङ्गवल्ली बनाउँदा लक्ष्मी माता प्रसन्न भइ स्थिर रूपमा वास गर्नुहुनेछ । यो रङ्गवल्ली गोलाकार, त्रिकोण, चाैकोण, षड्कोण, अष्टदल, षोडषदल आदि आकारमा बनाउन सकिन्छ । रङ्गको विकल्पमा रातो, कमेरो आदी माटोको प्रयोग गर्नुका साथै पुष्पको समेत प्रयोग गर्न सकिन्छ ।
८) रातो कपडा
शुभ दिपावलीको अवसरमा माता लक्ष्मीजीको प्रिय रङ्ग रातो र चम्किलो भएकाले श्री लक्ष्मी, गणेशजीकोलागि रातो, गुलाबी चम्किलो कपडा लिनुपर्दछ । यम पञ्चकमा भूलेर पनि कालो रङ्गको कपडा लिनुहुँदैन, साथै कसैले उपहारमा दिएको कालो वस्तुपनि लिएर भित्र्याउनु हुँदैन ।
९) भाँडाकुँडा
तपाईं धनतेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नुलागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भइ तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।
१०) शुभ सगून
धनतेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ । सिङ्गो धनियाँ धनको प्रतिक मानिन्छ । ध्यान दिनुस् कि लक्ष्मी पूजा समाप्त भएपछि रातो कपडामा काैडी र कमलगट्टा बाँधेर दराज या लकरमा राख्नुपर्दछ ।
११) अन्य सामाग्री
यम पञ्चकमा लक्ष्मीजीलाई प्रसन्न पार्न लक्ष्मीजीको अन्य प्रिय वस्तुहरू लक्ष्मी पूजामा स्थापना गर्न सकिन्छ । जसमध्ये कुचो, नाङ्गो, कमलपुष्प, भोगटे, अनार, पान, कापी, कलम, रत्न, आभूषण, द्रब्य आदी स्थापना गरी यथाशक्तिका साथ पूजा अर्चना तथा दिपावली गर्नाले लक्ष्मीजीको कृपा सदा सर्वदा बनिरहनेछ ।
सार संक्षेप
उल्लेखित विधि सदियाैंदेखि चलि आएको वैदिक सनातन संस्कारका प्रचलन र चलनचल्तिका उदाहरणहरू मात्र हुन । धन आर्जन भनेको मिहिनेत, इमान्दारीता तथा बुद्धि, विवेकको सही प्रयोगले मात्र सम्भव छ, यसर्थ हाम्रा अमृततूल्य प्राचिन वैदिक सनातनी संस्कारका उदाहरणहरू प्रेरणा बनून् । मेहनती बन्नुहोस्, मिहीनेत जारी राख्नुहोस सुख, समृद्धि, स्थिरता, खुशीयाली प्राप्त हुँदैजानेछन् दिपावलीको मङ्गलमय शुभकामना !
----
हाम्रो पात्रोकोलागि ज्योतिष पण्डित नारायणप्रसाद दुलाल
Liked by: