कर्पूरगौरं करुणावतारं, संसारसारं भुजगेन्द्रहारम् ।
सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।
पौराणिक मान्यता अनुसार श्रावण महिना देवताहरूका पनि देवता महादेव शंकर अर्थात् शिव भगवानको महिनाको रुपमा लिइन्छ । सती देवीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रुपमा जन्म लिनु भयो र देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै पवित्र श्रावण महिनामा श्रद्धा एवं भक्तिले निराहार रही कठोर तपस्या गरेर आशुतोष भगवान् शिवजीलाई खुसीपारी विवाह गर्नु भयो र पुनर्मिलन हुनुभएको थियो यसै कारणले शिवजीलाई यो श्रावण महिना अविस्मरणीय भै अति प्रिय हुन गएको पौराणिक मान्यता छ ।
हाम्रो सनातन संस्कृतिमा आउने हरेक महिनाको चाडपर्व एवं तिथि मितिको अर्थ महत्त्वपूर्ण भएपनि साउनको महिमा अरु महिनाको भन्दा भिन्न छ । यस साउन महिनामा धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, सोमबारका दिन ब्रत बस्नु र श्रावणमास भरि जो भक्त भक्ति र भावपूर्ण तरिकाले तन मन र वचनले शिवजीको आराधना गर्दछ भने उसलाई शिव भगवानको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेकाले धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना रहेको छ ।
आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउनभरी भगवान् शिवजीको पूजा आरधना गरि व्रत बस्ने गर्छन् भने विवाहितहरुले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोलेबाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमीजोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण मासमा शिवजीको व्रत,जप,तप,रुद्री,पाठ,अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।
यसै समयमा बढी वर्षा हुने, झरी पर्ने, जीवाणु तथा किटाणुको संक्रमण बढी हुने हुँदा यस कर्कटे संक्रान्तिमा लुतो फाल्ने चलन पनि छ । यसै समयमा हाम्रो पाचनप्रणाली समेत कमजोर रहने हुनाले दुधजन्य परिकारहरू, साग साथै माछा, मासु, प्याज, लसुन एवं उत्तेजित हुने खानेकुरा, तामसिक भोजन एवं मदिरापान जस्ता खानेकुरा खानु हुदैन, यसको वैज्ञानिक कारण यस समयमा मासुजन्य परिकारमा जीवाणु तथा किटाणुहरूको संक्रमण बढी हुने भएकाले तामसिक खाना नखाएकै राम्रो मानिन्छ ।
परापूर्वकालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने चलन थियो तर अहिले आएर आधुनिकता र समयको मागसंगै साउन महिना भरि हरियो, पहेलो र रातो रंगको सारी,चोलो, कुर्ता, चुरा, पोते, नङ पालिस, मेहेन्दी आदि लगाउने पूजाआज गर्ने शिव मन्दिरमा जाने, रुद्राभिषेक गर्ने प्रचलन बढेको छ यस कार्यमा महिला मात्रै नभएर पुरुषहरू पनि संलग्न भएको देख्न पाइन्छ । बिवाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्त्व बढी नै छ । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई सुन्दर बनाइदिन्छ । पहिरनको रङ्गसंग मिल्ने काँचका हातभरी चुरा लगाउदा हातको सौन्दर्यमा बढी आर्कषणपनि थपिएको देख्न पाइन्छ ।
हरियो चुरा, हरियो पहिरन लगाउने कुरालाई प्रमाणित गर्न नसकिएपनि साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवं बोटविरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोलेबाबा खुसी हुने अधिकांश विद्वान एवं हिन्दु महिलाहररूको धारण छ । प्राकृतिक रुपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय एवं हरियाली दृश्य देख्न पाइन्छ । हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिन सकिने भएकाले त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मान संग जोडेर हेर्न सकिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको र पहेंलो पवित्रताको प्रतीक हो । ८० वर्ष पार गरेकी हजुरआमा देखी भर्खरै जन्मेका डेढ दुइवर्षका नातीनीसम्मका हातमा हरिया चुराले सजाएर साउनको स्वागत गरिरहेका हुन्छन् । अहिले साउन भन्नासाथ हरियो रङ्ग को पर्यावाची जस्तै लाग्न थालेको छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा र पोते लगाउनुपर्छ भन्ने मानसिकता बढेको देख्न पाइन्छ । त्यसैले यो आस्थामय साउन महिनामा हरियो, पहेलो र रातो सम्मिश्रण गरी श्रृङ्गार तथा कपडा विशेष रुपले लगाइन्छ । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु सांस्कृतिक, संस्कार र विश्वास अझ गाढा हुदै गएको महशुस गर्न सकिन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग बस्यो उति नै श्रीमानको मायाँ पाइन्छ भन्ने जनविश्वास छ ।
शिवजीको महिनाभरि पूजा हुने भनेको साउन मात्र हो अतस् यस पावन एवं पवित्र श्रावण मासमा शंकर भगवानको विशेष कृपा प्राप्त गर्न सकिनेछ । जसले यस पवित्र साउन महीनामा श्रद्धा एवं भक्तिले शिवजीको पूजा आराधना तथा अभिषेक गर्दछ या गराउँद छ भने उसले भगवान् शिवबाट मनोवाञ्छित फल प्राप्त गर्दछ । साउन महिनाको प्रत्येक दिन महत्त्वपूर्ण छ त्यसमा पनि प्रदोष तथा सोमवार शिवजीको दर्शन, पूजा, आराधना तथा अभिषेक गर्न अरुदिन भन्दा बढी महत्त्व छ, त्यसैले देवादिदेव महादेवलाई साउन महिना अति प्रिय छ । यसै मान्यता अनुसार श्रध्दालु भक्तजनहरु यस महिना व्रत(उपवास, पूजा, पाठ, स्तोत्र, न्यास, ध्यान, आरधना एवं रुद्राभिषेक, कवच, दान एवं सहयोग आदि गरि शंकर भगवानको विशेष कृपा प्राप्त गर्दछन् । त्यसैले सनातन धर्ममा यो साउन महीना अति पवित्र मानिने भएकाले यस महिनामा सत्त्विक एवं चोखो भोजन गर्ने गरिन्छ । भगवान् शिव आफैले सनत कुमारलाई साउन महीनाको महीमाका बारेमा बताउनु भए अनुसार शिवको त्रिनेत्रमा सूर्य दाहिने, चन्द्र बायाँ र मध्य नेत्र अग्नि हो । जब सूर्य कर्कट राशिमा गोचर गर्दछ तब साउनको महीना प्रारम्भ हुन्छ । सूर्यमा तेज हुन्छ जस्ले बाफ दिन्छ भने चन्द्रमा शितल हुन्छ जस्ले शितलता प्रदान गर्छ त्यसैले सूर्य कर्कट राशिमा आउनाले वर्षा हुन्छ । जसले गर्दा लोक कल्याणका लागि कालकुट बीष धारण गर्नुहुने भगवान शंकरलाई शितलता मिल्छ । त्यसैले पनि भोलेबाबा र साउन महीनको गहीरो सम्बन्ध रहेको हो ।
संजीवनं समस्तस्य जगतः सलिलात्मकम् ।
भव इत्युच्यते रूपं भवस्य परमात्मनः ॥
अर्थात् जो जल तथा समस्त जगत्को प्राणीहरूमा जीवनको संचार गर्नेवाला परमात्मा स्वयं शिवकै रूप हो । त्यसैले जलतत्त्वको बढी महत्त्वरहेको छ ।
शिवपुराणमा उल्लेखित कथा अनुसार यसै साउन महीनामा नै पौराणिक कालमा देवता र दानवमिलेर समुन्द्र मंथन गरेका थिय, समुन्द्र मंथनबाट जुन कालकुट महाबिष निस्केर संसारलाई नै भष्म पार्न सक्ने त्यस्तो विष देखेर देव तथा दानव सवै त्राही त्राही भएको देखेर तत्कालै त्यस प्रलयकारी कालकुट बिषलाई आशुतोष भगवान् शिवजीले ग्रहण गरि आफ्नो कण्ठमा समाहीत गरि समस्त सृष्टिको रक्षा गर्नुभएको थयो र त्यसै विषपाना बाट शंकर भगवान नीलवर्ण हुन गई उनको नाम नै नीलकण्ठ रहन गयो । कालकुट विषको प्रभावका कारण नीलकण्ठलाई डाहा भएकाले डाहा शान्त गर्न देवगणहरूले शिवजीलाई जल अर्पण गरेपछि मात्रै डाहा शान्त भएको कारणले गर्दा आजका दिनसम्म पनि शिवलिङ्गमा जल अभिषेक गर्नुको ठुलो महत्त्व रहेको छ ।
शिव भगवान् आराधना बाट प्रसन्न हुनु हुन्छन तर पनि साउनमहीनामा निलकण्ठ भगवानलाई जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्त्व रहेको पाइन्छ । वेद मन्त्र उच्चारणको साथमा शंकर भगवानलाई जल अर्पण गर्नु साधकलाई अध्यात्मिक जीवनको लागि महाऔषधिको रुपमा काम गर्दछ । भगवान् रुद्रलाई प्रसन्न पार्नको लागि निष्काम भावले रुद्रीपाठ गरेको अनन्त गुणा बढी फल मिल्ने छ ।
वायुपुराणका अनुसार
मम भावं सामुत्सृज्य यस्तु रुद्राञ्जपेत् सदा ।
स तेनैव च देहेन रुद्रस् सञ्जायते ध्रुवम् ।।
जसले अहंकार र ममकार (म र मेरो भाव)लाई छाडेर रुद्रको जप, पूजा एवं आराधना गर्दछ भने त्यस कर्मका प्रभावले त्यो व्यक्ति निश्चितरूपले रूद्र समान हुन्छ ।
पन्च तत्वहरू मध्ये जल तत्व अति महत्त्वपूर्ण रहेकाछन् । पुराणमा शिवको अभिषेकको ठूलो अति पवित्र र महत्त्व रहेको बताएको पाईन्छन । जुन भक्तले आशुतोष निलकण्ठ भगवानलाई जल चढाउछ उसको रोग, शोक, दुस्ख, कष्ट, दरिद्रता सवैप्रकारका ताप नष्ट हुने धार्मिक विश्वास रहेको छ । आशुतोष भगवान् शंकलाई रुद्राभिषेक गर्ने विभिन्न तरिका छ जसमध्ये शास्त्रमा पाँच प्रकारको रुद्रभिषेक पाठ प्रशिद्ध छ ।
रुद्रास् पञ्चविधास् प्रोक्ता देशिकैरुत्तरोत्तरम् ।
साङ्गस्त्वाद्यो रूपकाख्यस् सशिर्षो रुद्र उच्यते ।।
एकदशगुणैस्तद्वद् रुद्री संज्ञो द्वित्तियकस् ।
एकादशभिताभिस्तृतीयो लघुरुद्रकस् ।।
लघ्वेकादशभिस् प्रोक्तो महारुद्रश्चतुर्थकस् ।
पञ्चमस् स्यान्महारुद्रैरेकादशभिरन्तिमस् ।।
अतिरुद्रस् समाख्याता सर्वेभ्यो ह्युत्तमोत्तमस् ।। (रुद्रल्कल्पद्रुम)
पहिलो षडाङ्गपाठ या रुपक १ पाठ, दोस्रो रुद्री ११ पाठ, तेस्रो लघुरुद्री १२१ पाठ, चौथो महारुद्री १३३१ पाठ र अतिरुद्री १४६४१ पाठ तथा अभिषेक निष्काम तथा सकाम श्रेष्ठ द्रव्य द्वारा गर्न सकिन्छ । यस्तो अनुष्ठान पाठात्मक, अभिषेकात्मक तथा हवानात्मक तिनै प्रकारले गर्न तथा गराउन सकिन्छ ।
जलेन वृष्टिमाप्नोति व्याधिशान्त्यै कुशोदकैस् ।
दध्ना च पशुकामाय श्रिया इक्षुरसेन च ।
मध्वाज्येन धनार्थी स्यान्मुमुक्षुस्तीर्थवारिणा ।
पुत्रार्थी पुत्रमाप्नोति पयसा चाभिषेचनात् ।
वन्ध्या वा काकवन्ध्या वा मृतवत्सा च याङ्गना ।
सद्यस् पुत्रमवाप्नोति पयसा चाभिषेचनात् ।
भगवान् शंकरलाई शुद्ध जलले अभिषेक गर्दा वर्षा हुने, कुशको जलले अभिषेक गर्दा रोगनाश हुने, दहिले अभिषेक गर्दा पशुबाट लाभ हुने, उखुको रसले अभिषेक गर्दा लक्ष्मी प्राप्त हुने, मह तथा घ्यूले अभिषेक गर्दा धन प्राप्त हुने, तिर्थको जलले अभिषेक गर्दा मोक्ष प्राप्ति हुने, दुधले अभिषेक गर्दा पुत्र प्राप्ति हुने, वन्ध्यास्त्री या मृतवत्सा स्त्रीले गाईको दुधले अभिषेक गरे सन्तति प्राप्त हुने कुरा शास्त्रोक्त वचन छ, यसका साथै ज्वरोको प्रकोप शान्त गर्न जलले अभिषेक, एकहजार मन्त्र सहित घ्यूको धाराले अभिषेक गर्दा वंशको वृद्धि हुने, दुधले अभिषेक गर्दा दीर्घायु र मनोरथ पूर्ण हुने, दूध मिश्रीत सखरले अभिषेक गर्दा सत् बुद्धि प्राप्त हुने, तोरीको तेलले अभिषेक गर्दा शत्रु नाश हुनेकुरा पनि शास्त्रोक्त मान्यता रहेको छ ।
यसका साथै भोलेनाथलाई प्रसन्न पार्न पत्र एवं पुष्पको पनि अधिक महत्त्व छ ।
भगवान् शिवजीलाई सयौं पुष्प चढाएको फल एउटा आँकको फूल चढाउनाले मिल्छ, सयौं पुष्प चढाएको फल एउटा आँकको फूल चढाउनाले मिल्छ, सयौं आँकको फूल चढाएको फल एउटा बेलपत्र चढाउनाले मिल्छ, हजार बेलपत्र चढाएको फल एउटा द्रोण पुष्प चढाउनाले मिल्छ, हजार द्रोण पुष्प चढाएको फल एउटा अपामार्गको फूल चढाउनाले मिल्छ, हजार अपामार्गको फूल चढाएको फल एउटा कुशको फूल चढाउनाले मिल्छ, हजार कुशको फूल चढाएको फल एउटा शमीको पत्ता चढाउनाले मिल्छ, हजार शमीको पत्ता चढाएको फल एउटा नीलकमल चढाउनाले मिल्छ, हजार नीलकमल चढाएको फल एउटा धतुरो चढाउनाले मिल्दछ । यसका अतिरिक्त दुबो, बेली, मालती, करवीर, पारिजात, काँस, शमी, चम्पा, गोदावरी, सयपत्री, जयन्ति, रातरानी, चमेली सहित जल तथा थलमा पाईने चंपा र केतकीको फूल बाहेक अन्य सबै प्रकारको सुगन्धित पुष्प भगवान् शिवजीलाई प्रिय छ ।
आशुतोष शंकर भोलेबाबालाई पूजा अर्चना तथा आराधना गर्दा शिवलिङ्गको जलधारा तर्फ बस्न नहुने र परीक्रमा गर्दा शिवलिङ्गको आधामात्र परीक्रमा गर्नु पर्छ भन्ने शास्त्रोक्त मान्यता रहेको छ ।
धर्म र संस्कृतिले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरणा दिइरहेको हुन्छ । यही कारणले श्रावण महीनामा शिवजीलाई रुद्राभिषेक, पत्र, पुष्प, तन, मन र वचनले यथा शक्ति एवं भक्तिले आराधना गरी मनोवाञ्छित फल प्राप्त हुने भएकाले सत्मार्गमा अग्रसर हुन र कर्म निष्ठ हुन हामीहरूलाई यो श्रावण महिनाले अभिप्रेरित गरेको छ । सम्पूर्ण प्राणीहरूको हित र प्रेम भावको लागि यस्तो श्रावण महिना जहिले आईरहोस् ।
जय शम्भो ।।
Liked by: