झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाइबहिनीको प्रेम, सेलरोटी र मिठाई, फूलमाला, देउसीभैलो, नेपाल संवत्को प्रारम्भ तथा महाकवि जयन्ती जस्ता विशेषता बोकेको यमपञ्चक आजबाट शुरु हुँदैछ ।
आज यमपञ्चकको पहिलो दिन धन्वन्तरि जयन्ती र यमदीप दानबाट प्रारम्भ हुनेछ । आजबाट यमपञ्चक भरी साँझमा बत्ती बालिन्छ । आजको दिन सुन, चाँदी वा स्टिल, तामा, पित्तल, भाँडाकुँडा वा अन्य सगुनको सामानहरू घर भित्र्याउनु शुभ मानिन्छ ।
कात्तिक १७ गते बुधबार काग तिहार, कुकुर तिहार र नरक चतुर्दशी रहेको छ । यस दिन यमदूतका रूपमा काग र कुकुरलाई पूजा गरि खानेकुरा खान दिइने प्राचीन परम्परा छ । नरक चतुर्दशीका दिन बिहानै उठेर तिलको तेल लगाई नरके स्नान गरेमा वैज्ञानिक रुपमा शरीरभित्र पानी नपस्ने र धार्मिक दृष्टिले यस लोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ ।
कार्तिक १८ गते विहीबारको दिन रहेको लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रि लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली लग्न (वृष) साँझ ०५/५३ बाट ०७/४९ सम्मको समय र त्यसै बीच साँझ सूर्यास्तको समय ०६/१६ मा अर्थात् लक्ष्मीपूजाको लागि उत्तम रहेको छ । यसै दिन जगत् र प्राणीहरू सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा पनि छ ।
कार्तिक १९ गते शुक्रबार गोवर्धन पूजा, गाईपूजा, हलीतिहार र नेवार समुदायको म्ह:(आत्म)पूजा गरिन्छ । यसै दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदादेखि नेपाल संवत् ११४२ प्रारम्भ हुन्छ । यस दिन साँझदेखि देउसी खेल्ने गरिन्छ ।
कार्तिक २० गते शनिबार भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको छ । यद्यपि भाइ टीकाको दिन दिनभरि नै राम्रो साइत भएकाले आफ्नो अनुकुल समयमा टीका लगाउन सकिन्छ । यस दिन दाजुभाइहरू पूर्व या पश्चिम तर्फ बस्ने र दिदीबहिनीहरूले टीका लगार्इ दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका, गलामा दुबो र मखमलीको माला पहिराउने परम्परा रहेको छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार खुवाउने गरिन्छ । यस दिन भाइटीका लगाएपछि यमपञ्चक सहित नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिन्छ ।
शुभ दीपावली ॥
-ज्यो. प. नारायणप्रसाद दुलाल
Liked by: