जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
'कलौ चण्डी विनायकौ' उक्ति अनुसार कलियुगमा चण्डी-दुर्गा र विनायक-गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अत: जगत् जननी माता दुर्गाभवानी धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्ने देवीको रूपमा विद्यमान हुनुहुन्छ । अखिल ब्रह्माण्डनायिका मातेश्वरी श्रीदुर्गा भवानी परमेश्वरको प्रधान शक्तिहरू मध्येको एक हो । जस्को समय समयमा आफ्नो आवस्यकता अनुसार प्रकटित गराएर परब्रह्म परमात्माले विश्वको कल्याण गरेका छन् ।
एकैव शक्ति परमेश्वरस्य, भिन्नाश्चतुर्धा व्यवहारकाले ।
पुरूषेषु विष्णुर्भोगे भवानी, समरे च दुर्गा प्रलये च काली ।।
माता भवानीको पूजा अर्चना एवं आराधना मनुष्यले श्रद्धा एवं भक्ति पूर्वक 'यं यं चिन्तयते कामं तं तं प्रप्नोति निश्चितम्' अनुसार जुन कामनाले जुन वस्तुको इच्छा राख्दछ त्यो वस्तु अल्प प्रयासबाट पनि मनुष्यको आवस्यता पूर्ण हुनेछ । आजको यस कलियुगमा श्रीदुर्गा भवानीको पाठ, पूजा, अनुष्ठान एवं आराधना द्वारा दुर्गाजीको कृपाले मनुष्यलाई सम्पूर्ण अणिमादि अष्टशिद्धि तथा मनोवाञ्छित फल प्रदान गर्ने शक्ति रहेको हुनाले विशेष समयमा श्रद्धा एवं भक्तिले पूजा एवं पाठ गर्नाले 'यं यं चिन्तयते कामं तं तं प्रप्नोति निश्चितम्' शिद्ध हुन आउँछ ।
यस्ती अखिल ब्रह्माण्डनायिका मातेश्वरी श्रीदुर्गा भवानीलाई प्रसन्न पार्न आश्विन शुल्क प्रतिपदादेखि प्रारम्भ हुने शारदीय नवरात्रको पहिलो दिन प्रात: स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, शौभाग्य, शृङ्गार, सिन्दुर, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, फूल, माला आदि सरजाम मिलाई पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दाहिनेतर्फ रहेको दिप प्रज्वलन गरी दियोको आवाहन सहित सबै उपचारले पूजागरि फल, प्रसाद, दक्षिणा चढाउनु पर्दछ, नौ दिन सम्म अखण्डदिप बाल्न पनि सकिन्छ तत्पश्चात् दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नम: भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने तत्पश्चात् इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न. पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ ।
घटस्थापनाकोलागि मध्यभागमा धानमाथी घडा स्थापनागरि घडामाथी थालीमा अष्टदल बनाएर राख्ने र घडामा गाईको गोवर टाँसी जौ राख्ने र पूर्वोक्त विधि अनुसार घडाको पूजागर्ने घडामाथी राखिएको अष्टदलमा दुर्गा भवानीको प्रतिमा वा मुर्ति राख्ने र नवदुर्गा पूजनकोलागि हातमा रातोफूल रातो अक्षतालिएर ध्यान गर्दै चढाउने यदि प्रतिमा, मुर्ति वा फोटोको प्राणप्रतिष्ठा नभएको भए प्राणप्रतिष्ठा गर्ने र फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ दुर्गा देव्यै नम: भन्दै पाध्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई दही, घ्यू र मह मिश्रित मधुपर्क तथा गंगाजलले स्नान गराई दुर्गाभवानी मातालाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दुर, टिका, अक्षता, वस्त्र, सौभाग्य चढाउनु पर्दछ तत्पश्चाट जौ, तिल, फूल, माला, बेलपत्र, सहित सम्पूर्ण उपचारले पूजा गर्दै दुर्गाभवानी माताको ॐ दुर्गा देव्यै नम: भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ ।
आफ्नो कूल तथा परम्परा अनुसार जमरा राख्ने भिन्न-भिन्न तरिका भएपनि बालुवामिश्रित माटोमा जऊको जमरा राखेर:
जयन्ती मंगला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
मंत्रद्वारा जयन्ती अर्थात् जमराको सबै उपचारले पूजा गर्नु पर्दछ । तत्पश्चात् कन्या पूजागरी सम्पूर्ण उपस्थित भक्तहरुले नवदुर्गा भवानीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुन: पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु पर्दछ र आफ्नो मनोकामना पूर्णहोस् भनि जगत् जननी दुर्गा देवीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिनु पर्दछ, एवं रितले पहिलोदिन शैलपुत्री, दोस्रोदिन ब्रह्मचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथोदिन कुष्माण्डा, पाँचौदिन स्कन्दमाता, छैटौंदिन कात्यायनी, सातौंदिन कालरात्री, आठौँदिन महागौरी र नवमीकोदिन सिद्धिदात्री देवीको नौ दिनसम्म भिन्न भिन्न स्वरूपको पूजा गर्दै सन्ध्या आरति सहित श्रद्धा पूर्वक पूजन एवं दुर्गा सप्तसतीको विधिपूर्वक पाठ गर्ने वा गराउने र विजयादशमीको दिन शुभ साईतमा विसर्जन गरी नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिका र जमरा आफ्नो मान्यजनको हातबाट ग्रहण गर्नुपर्दछ । यसरी गरिएको पूजाबाट दुर्गादेवी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ । अस्तु ।।
Liked by: