जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोsस्तु ते ॥
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा आदि नाम गरेकी जो सदा विजयी हुनुहुन्छ, शुभको दाता हुनुहुन्छ, काल वा समयको पारी हुनुहुन्छ, जीवन र मृत्यु को नियन्त्रक हुनुहुन्छ, काल वा समय भन्दा पारी, कङ्कालको शिरहरूको माला लगाउनुहुन्छ, दुर्गति नाशिनी हुनुहुन्छ, धैर्यवान स्वनियन्त्रणको स्वरूप हुनुहुन्छ, सदा शुभ हुनुहुन्छ र शिवजीको अर्धांगिनीका रुपमा हुनुहुन्छ, सबै प्राणीहरूका समर्थक हुनुहुन्छ र सबै देवी देवता सहित पितृहरुलाई चढाईएका सम्पूर्ण वासतुहरूको प्रापक हुनुहुन्छ यस्ती भगवतीलाई कोटी कोटी नमस्कार छ ।
माता दुर्गा भवानिको आराधना र वहाँको कृपा प्राप्त गर्नको लागि दुर्गा सप्तशतीको पाठ सर्वोत्तम उपाय हो । दुर्गाशक्तिको प्रादुर्भाव र वहाँको चरित्रहरूको वर्णन मार्कण्डेय पुराणा अन्तर्गत देवी माहात्म्यमा गरिएको पाईन्छ । भुवनेश्वरी संहितामा भनिएको छ की- जसरी ''वेद'' अनादि छ, त्यसैगरी ''सप्तशती'' पनि अनादि छ ।
दुर्गा सप्तशतीको ७०० श्लोकमा देवीकै चरित्रहरूको वर्णन रहेको छ । दुर्गा सप्तशतीमा कुल १३ अध्याय रहेको छ, र यो मुख्य रूपले तीन चरित्र प्रथम चरित्र (प्रथम अध्याय), मध्यम चरित्र (दोश्रो, तेस्रो, चौथो अध्याय) र उत्तम चरित्र (पाँचौंबाट तेह्र अध्याय)मा वर्णित छ । प्रथम चरित्रकी देवी महाकाली, मध्यम चरित्रकी देवी महालक्ष्मी र उत्तम चरित्रकी देवी महासरस्वती मानिएको छ । दुर्गा सप्तशतीमा माता महाकाली, महालक्ष्मी र महासरस्वतीको स्तुति प्रत्येक अध्यामा वर्णित छ ।
यस दुर्गा सप्तशतीमा मारणको ९०, मोहनको ९०, उच्चाटनको २००, स्तंभनको २००, वशीकरणको ६० र विद्वेषणकोपनि ६० प्रयोग गरिएको छ । यसरी जम्मा ७०० श्लोकमा ७०० प्रयोग समान रुपले गरिएकोछ ।यसरी मार्कण्डेय पुराणमा ब्रह्माजीले प्राणीहरूको रक्षाको लागि परम गोपनीय साधन, कवच एवं परम पवित्र र सजिलो उपाय सम्पूर्ण प्राणिहरूकोलागि बताउनु भएको छ । श्री दुर्गा सप्तशतीको पाठ सम्पूर्ण मनोकामना सिद्धिकोलागि गर्ने गरिन्छ । श्री दुर्गा सप्तशतीको महात्म्य धर्म, अर्थ, काम एवं मोक्ष चारै पुरुषार्थ प्रदान गर्ने वाला रहेको छ । दुर्गा सप्तशतीको सबै तेह्र अध्यायमा भिन्न भिन्न मनोकामना पूर्ति गर्ने रहस्य लुकेको छ ।
प्रथम अध्याय: - यसको पाठ गर्नाले सबै प्रकारको चिन्ता हट्ने र शक्तिशाली शत्रुकोपनि भय हेटर शत्रुहरूको नाश गर्नसक्ने फल मिल्दछ ।
द्वितीय अध्याय:- यसको पाठ गर्नाले शत्रु द्वारा घर एवं भूमिको विवाद र अधिकारमा सफल र सबै प्रकारको वाद विवाद आदिमा विजय प्राप्त हुन्छ ।
तृतीय अध्याय: - तृतीय अध्याको पाठ गर्नाले युद्ध एवं मुद्दाममिलामा विजय मिल्ने र शत्रुबाट छुटकारा मिल्दछ ।
चतुर्थ अध्याय: - यसको पाठले धन, समृद्धि, सुखी र सुन्दर जीवन साथी सहित माता दुर्गाजीको भक्ति प्राप्ति हुन्छ ।
पञ्चम अध्याय: - यसको पाठले भक्ति बढ्ने, भय, नराम्रो सपना र भूत प्रेत बाधाहरूको निराकरण हुने हुन्छ ।
छैटौ अध्याय: - यस अध्यायको पाठ गर्नाले सबै प्रकारका बाधाहरू हट्ने र सम्पूर्ण मनोकामना प्राप्ति हुनेहुन्छ ।
सप्तम अध्याय: - यस अध्यायको पाठको प्रभावले ह्रदयको सम्पूर्ण कामना या कुनै विशेष गुप्त कामनाकोपनि पूर्ति हुनेहुन्छ ।
अष्टम अध्याय: - यसको पाठको प्रभावले भौतिक सुख र धन लाभको साथै वशीकरण क्षमता र आफ्नो प्रभूत्त्व बढ्ने हुन्छ ।
नवम अध्याय:- यस अध्यायको पाठगर्दा सबै प्रकारको हराएको वस्तु मिल्ने, संपत्ति र धनकोपनि लाभ मिल्ने हुन्छ ।
दशौ अध्याय:- यस अध्यायको पाठको प्रभावले गर्दा हराएको सुख मिल्ने, शक्ति र सन्ततिको सुखपनि प्राप्त हुन्छ ।
एगाह्रौ अध्याय:- यस अध्यायको पाठले सबै प्रकारको चिन्ता मेटिने, व्यापारमा सफलता र सुख-संपत्तिको प्राप्ति हुन्छ ।
बाह्रौ अध्याय:- यस अध्यायको पाठ गर्नाले रोगबाट छुटकारा, निर्भय प्राप्ति र सर्वत्र मान-सम्मान मिल्ने हुन्छ ।
तेह्रौ अध्याय:- यस अध्यायको पाठ गर्नाले भक्ति बढ्ने र सबै मानोवाञ्छित फल प्राप्ति हुने हुन्छ ।
अत: मनुष्य जबसम्म जीवित रहन्छ तब तक जीवनमा सुख दुख, हर्ष विस्मात, उतार चडावआदि भईनै रहन्छन् । यस पृथ्वीलोकमा मनुष्यहरूको इच्छा बढ्दै गयो र त्यसै इच्छाको पूर्तिको रहस्य दुर्गा सप्तशतीको पाठमा लुकेको हुनाले यो पाठ अत्यन्तै शक्तिशाली रहन गएको हो । त्यसैले नवरात्रमा या अन्य विशेष दिनमा विशेष रूपले दुर्गा सप्तशतीको तेह्र अध्यायको सम्पूर्ण विधि र निष्ठा पूर्वक पाठ गर्ने विधान रहेको छ । अस्तु ॥|
-ज्यो. प. नारायणप्रसाद दुलाल
[email protected]
Liked by: