चन्द्र ग्रहण सम्बन्धि पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा आएका खबरले सर्व साधारण जनतामा ग्रहणको विषयलाई लिएर आम चासो र दोधार र वास्तविकता वारे खुल्दुली बढेको पाईएको छ । ज्येष्ठ शुक्ल पूर्णिमा तिथि २३ गते मध्य रात्रिमा लाग्ने भनिएको उपछाँया चन्द्रग्रहण हो, वास्तविक चन्द्रग्रहण होईन ।
२३ गते मध्य रात्रिमा लाग्ने उपछाँया चन्द्रग्रहण ३ घण्टा १८ मिनटको हुनेछ । यो उपछाँया चन्द्रग्रहण २३ गते रातिको ११/३० बाट सुरू भएर २४ गते विहान २/४९ मा समाप्ति हुनेछ । यस घटनालाई सम्पूर्ण एशिया लगायत अस्ट्रेलिया, अफ्रीका, यूरोपका साथै विश्वका अधिकांश ठाउँबाट देखिन सकिन्छ ।
पूर्ण, आंशिक र उपछाँया यी ३ प्रकारका ग्रहणका अवस्था हुन्छ जसमध्ये उपछाँया चन्द्रग्रहण लाग्दा चन्द्रमाको छवि मलिन भने अवस्य हुन्छ यानिकी चन्द्रमा अलि धमीलो देखिने हुन्छ यसै कारणले यसलाई वास्तविक चन्द्रग्रहण नभएर उपछाँया चन्द्रग्रहण मात्र रहन गएको हो । यस्तो उपछाँया चन्द्रग्रहण गत पुष २५ गतेपनि लागेको थियो ।
उपछाँया चन्द्रग्रहण सामान्य चन्द्रमा र उपछाँया चन्द्रग्रहण बीचको फरक छुट्याउन मुस्किलै पर्नेछ । यो उपछाँया चन्द्रग्रहण अन्तर्गत चन्द्रमा कुनैपनि भागबाट कटिने वा स्पर्श हुने हुन्न अत: चन्द्रमाको आकारमा कुनै परिवर्तन आउँदैन ।
उपछाँया ग्रहण वास्तवमा ग्रहण होईन र धर्मशास्त्रहरूले पनि खुल्ला आँखले नदेखिने भएकाले उपछाँया ग्रहणलाई महत्त्व दिइएको छैन अत: सुतक काल हुँदैन । हाम्रो नेपाली समाजमा “सुनी सुतक देखि ग्रहण” भन्ने उक्तिपनि प्रसिद्ध छ । चन्द्रमाको बिम्ब कालो नभएर धमिलो मात्र देखिने हुँदा यसलाई ग्रहणको कोटिमा राखिएको छैन र यस्तो उपछाँया ग्रहणको कुनैपनि दोष नलाग्ने शास्त्रोक्त कथन रहेको छ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
Liked by: