Janmadin Kasari Manaune | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

जन्मदिन कसरी मनाउने ?




   ज्यो पं घनश्याम पोख्रेल - Mar 20 2020

बिहान ब्रह्ममुहूर्तमा उठेर आफ्नो कुलपरम्परा, जातीय संकृतिअनुसार जन्मदिन मनाउदा उत्तम मानिन्छ । जन्मदिन धार्मिकविधि अनुसार नै मनाउदा हाम्रो संस्कार अनि समाजको हित हुन्छ । जन्मतिथिको दिनमा आफ्नो शरीरको उर्जा र तिथिको उर्जा सर्वाधिक मिल्ने भएको कारणले शरीरमा सकारात्मक उर्जाहरूको विकास जन्म तिथिमा बढी हुन्छ ।

शास्त्रीयपरम्परा अनुसार जन्मदिन अंग्रेजी तारिख अथवा विक्रमसंवतको गते अनुसार मनाउने चलन छैन । तिथि अनुसार नै जन्मदिन मनाउनु पर्छ भन्ने मान्यता छ । सम्पूर्ण धार्मिक कर्म तिथि अनुसार नै गर्ने गरिन्छ । जन्मदिन व्यक्तिले केक काटेर, मैनबत्ती निभाएर र गिफ्ट ग्रहण गरेर जन्मदिन मनाउने चलन पछिल्लो क्रम तीव्ररूपमा विकास भएको छ ।

वैदिकपरम्पराअनुसार अष्ट चिरंजीवी सहित अन्य भगवानको आरधना गरी, मिष्ठान्नप्रसाद बनाएर, बत्ती बालेर, उपहार लिनुभन्दा दान दिनु उत्तम हो भन्ने मान्यतालाई शिरोधार्य गर्दै दान, पुण्य, धार्मिक कर्ममा सरिक हुँदा राम्रो हुन्छ । शास्त्र अनुसार दियोलाई बालेको राम्रो मानिन्छ । बत्तीलाई निभाउनु भनेको आकस्मिक मृत्यु अथवा संकट आउनु हो जन्मदिनको दिनमा बत्ती बालेर जन्मदिन मनाउने गरौं किनभने बत्ती नारायण भगवानको स्वरूप मानिन्छ । हाम्रो कुनैपनि शास्त्रमा बत्ती निबाउने परम्परा छैन ।

लिनुभन्दा दिनु राम्रो हो र दानको महिमा बारेमा नया सानाबालबालिकालाई सानैबाट नैतिक शिक्षा दिन सके भविष्यको पुस्तालाई सत्मार्गमा हिड्न अभिप्रेरित गर्न सकिन्छ । सगुनहरु, राम्रा कपडाहरु दिनु राम्रो त राम्रो मान्नु पर्दछ तर लिने मात्र संस्कार सिकाउने र दिने संस्कार नासिकाउनु गलत हो । बच्चाहरुलाई जन्मदिनकोदिनमा कसरी गरिब दुःखीहरूलाई सेवा गर्न सकिन्छ, दान गरेर भविष्यमा कसरी देशको समाजको लागि केही गर्न सकिन्छ भन्ने भावना जागृत गर्नु आवश्यक छ ।

बिहानको समयमा स्नान गरेर, नयाँ कपडा लगाएर धार्मिक अथवा वैदिक परम्पराअनुसार दियो, गणेश कलश थापेर अष्टचिरञ्जीवीको प्रतिमा बनाएर र बिचमा षष्ठीकादेवीकोपूजा गरेर धार्मिक विधिले मार्कण्डेय आदि अष्टचिरञ्जीवीको पूजा गर्ने चलन रही आएको छ । आठ जना चिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य परशुराम आदिको प्रतिमा बनाउने र पूजा गर्ने गरिन्छ ।

अश्वत्थामाबलिर्व्यासोहनुमाँश्चविभीषणः।
कृपःपरशुरामश्चमार्कण्डेयस्तथाष्टमः ।।

आफु जन्मेको जन्मबार, जन्मतिथि, जन्मनक्षत्र, जन्मराशी, जन्ममहिना, जन्मसंवत्सर, जन्मदिने मातापिता प्रति कृतज्ञता प्रकट गर्दै सम्पूर्ण दिनचर्या मानवीय नैतिक मूल्यमान्यता राखेर गरिब, असाय दिन दुखिलाई दान-पुण्य गर्दा बर्ष सुखमय र सफल हुन्छ । जन्मदिनभन्दा एक हप्ता अगाडि आफ्नो जन्मकुण्डलीमा भएका नराम्रा ग्रहलाई ध्यान दिदै वर्षकुण्डलीबनाएर नराम्रोलाई राम्रो बनाउने र राम्रोलाई अझै राम्रो बनाउने प्रयास गरिन्छ । रुद्रीपाठ, चण्डीपाठ, सत्यनारायण पुजा ग्रहशान्ति गर्ने गरिन्छ । नराम्रा योगिनी ग्रह, महादशा, अन्तरदशाको जप, पाठ, हवन गराउने चलन छ । विशेषगरी जन्मदिनमा व्यक्तिको आरती गर्ने र जन्मदिनवाला व्यक्तिले भगवानको र माता-पिता को आरती गर्दा उत्तम हुन्छ । आफूभन्दा ठूलो आमा, बुवा,गुरू आदिबाट आशिर्वाद लिने गरिन्छ । सानाले ठुलालाई मान्ने परम्परा बसी आएको छ । ठुलाले सानालाई माया गर्ने परम्परा रही आएको छ । बत्ती बालेमा, भगवानको पूजा गरेमा त्यो क्षेत्रको वातावारण शुद्ध हुन्छ । जन्मदिनमा मासु, मदिरासेवन गर्नु हुँदैन । जन्मदिनको दिनमा धेरै टाढा भ्रमण गर्ने, कपाल काट्ने, नङ काट्ने, हिंसा गर्ने, कटुवचन बोल्ने गर्नु हुदैन, अत: मांस र मदिरासेवन गर्दै झैँझगडा गर्ने कर्म धर्मविपरित हुन्छ ।

भड्किलो तरिकाले जन्मदिन मनाउनु भन्दा समाजलाई सहीदिशा दिदै सामाजिक, धार्मिक, पुण्यकर्ममा आफ्नो इच्छानुसार दान गर्दा नै समाज राम्रो दिशातिर अभिमुखी हुन्छ । वैदिक जन्मदिन मनाउनु हाम्रो संस्कार हो र यसलाई निरन्तरता दिनु पर्दछ । समाजमा भएको विकृतिलाई हामीले कम गर्नु पर्दछ ।
-ज्यो.पं. घनश्याम पोख्रेल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.