प्रत्यक्षं ज्योतिषं शास्त्रं, चन्द्रार्कौ यत्र साक्षिणौ
आज मिति २०७५ आषाढ शुक्ल पूर्णिमाका दिन अर्थात् साउन ११ गते शुक्रबारका दिन तदनुसार २७ र २८ जुलाई २०१८ खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
२१औं शताब्दीको सबैभन्दा लामो यो खग्रास चन्द्रगहण नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । यो चन्द्रग्रहणलाई ब्लडमून पनि भनिएकोछ, केहि समय तामा जस्तै रातो र केहि समय पुरै रातो देखिने भएकाले यस खग्रास चन्द्रग्रहणलाई ब्लडमून भनिएको हो, यस्तो संयोग १०० वर्षभन्दा पछि आएको हो ।
हाम्रो देश नेपालमा नेपाली समय अनुसार आज रातीको १२ बजेर ९ मिनेटमा स्पर्श हुनेछ र रातीको १ बजेर १५ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ रातीको २ बजेर ८ मिनेटमा मध्य हुने र रातीको २ बजेर ५९ मिनेटमा उन्मिलन अर्थात् खग्रासको अन्त्य हुँदै रातीकै ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ५७ मिनेटको हुनेछ भने ग्रस्तोदित खग्रास १ घण्टा ४४ मिनेटको हुनेछ ।
सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्ण सूतक प्रारम्भ हुन्छ । त्यसैले आज दिउँसो ३ बजेर ९ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलार्इ भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभएसंगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलार्इ दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ ।
यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मूल मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभर्इ नवग्रहको समिक कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिर्इ सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलार्इ प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलार्इ सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।
ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालार्इ खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गार्इको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ, अतः गार्इको गोबर राख्नु राम्रो मानिन्छ ।
यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा र श्रवण अर्थात् मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छः
मेष: सुख मिल्ने
वृष: मानहानी हुने
मिथुन: कष्ट हुने
कर्कट: स्त्री पीडा हुने
सिंह: सुखदायी हुने
कन्या: चिन्ता बढ्ने
तुला: व्यथा बढ्ने
बृश्चिक: श्री प्राप्ति हुने
धनु: क्षति हुने
मकर: घात हुने
कुम्भ: खर्च बढ्ने
मीन: लाभ हुने
---
-ज्यो. प. नारायणप्रसाद दुलाल
Liked by: