Khandragras Suryagrahan | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

आसार ७ गते खण्डग्रास सूर्यग्रहण लाग्दै




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Jun 12 2020

निद्रायां जायाते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर: ॥
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे बधे च नरकं व्रजेत् ॥


यहि आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार तदनुसार २१ जुनका दिन 'खण्डग्रास सूर्यग्रहण' लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।
उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।

सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले असार ६ गते राती १०/५० देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हुन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा के गर्ने ?    
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।

कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।

ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।

ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्न सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।

यसपटकको खण्डग्रास सूर्यग्रहण मृगशिरा र आर्द्रा नक्षत्र (मिथुन राशि)मा परेको हुनाले “ग्रहणनक्षत्रं षण्मासं पूर्णग्रासे वर्ज्यम् । पादादिग्रासे सार्धमासादितारतम्येन योज्यम्” (धर्मसिन्धु:) अनुसार ग्रहणको अवस्थाका आधारमा आउने ५ महिनासम्म मृगशिरा र आर्द्रा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मृगशिरा र आर्द्रा नक्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी मृगशिरा र आर्द्रा नक्षत्रमा जन्म भएका, मिथुन राशि र मिथुन लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।

यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ:
मेष :        श्री: प्राप्तिहुने
वृष :         क्षतिहुने
मिथुन :         घातहुने     
कर्कट :        खर्च बढ्ने
सिंह :        लाभहुने
कन्या :        सुखदायीहुने
तुला :         मानहानीहुने
बृश्चिक :         कष्टहुने
धनु :         स्त्रीपीडाहुने
मकर :        सुखमिल्ने
कुम्भ :         चिन्ताबढ्ने
मीन :         व्यथाबढ्ने ।


- ज्यो.प. नारायणप्रसाद दुलाल
[email protected]



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.