नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । दुर्गादेवी, आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्ध चन्द्र र नाना प्रकारको आभूषण धारण गर्नुहुन्छ । आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुहुन्छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।
हिमालय कन्याको रूपमा उत्पन्न भएर, ब्रह्मचारिणीले भगवान् शिवलाई पतिको रूपमा पाउने दृढ़ तथा घोर निश्चय गर्नुभएको थियो । आफ्नो दृढ़ निश्चयअनुसार देवी ब्रह्मचारिणीले सर्वप्रथम प्रतिदिन भगवान् शिवजीको सेवा गर्न थाल्नुभयो तर त्यो सेवाले भगवान् शिवलाई केही असर परेन, शिवजी ध्यान मग्न नै हुनुभयो, देवताहरूले कामदेवलाई शिवजीको साधना भंग गर्न समेत पठाए, तर काम वाणको प्रयोग गर्दा भगवान् शिवले कामदेवलाई नै भस्म गरिदिनुभयो । त्यस्तो देखेर देवी डराउनुभयो, भगवान् शिवजीको सेवा त्याग गरेर देवी घोर विलाप गर्न लाग्नुभयो । उता भगवान् शिवजी पनि अन्तर्ध्यान हुनुभयो, अन्ततस् नारदजीको उपदेशअनुसार देवीजीले भगवान् शिवजीलाई पतिको रूपमा प्राप्त गर्नका लागि कठोर तप प्रारम्भ गर्नुभयो र आफ्नो घोर र दुष्कर तपस्याको कारणले नै देवीको ब्रह्मचारिणी नाम रहन गयो । तीन हजार वर्षसम्मको घोर निराहार र निर्जला रहेर तपस्या गर्नुभयो । पहिलो वर्ष देवीले फलाहार मात्र गर्नुभयो, त्यसपछि दोस्रो वर्ष पातको मात्र आहार गर्नुभयो, तेस्रो वर्षबाट पातको पनि भक्षण त्याग गरिदिनुभयो, पात या पर्ण भक्षण गर्न छोडेको हुनाले यी देवीको नाम अपर्णा पनि हो । माताको कठिन तपस्याको कारण तीनै लोकमा हाहाकार मच्चियो, यहाँसम्म कि स्वयं ब्रह्माजीले देवीको अभिवादन गरेर आकाशवाणी गर्नुभएको थियो, आजसम्म यस्तो कठोर तप कसैले गरेका थिएनन् , तपाइँको मनोकामना पूर्ण हुनेछ ।
सतीको देह त्याग पश्चात् भगवान् शिवजी पूर्णतः वैराग भएर हिमालय पर्वतमा गएर योग ध्यानमा मग्न हुन थाल्नुभयो र आफ्नो कार्य तथा संसारबाट विरक्त हुनुभयो । उता तारकासुरलाई सबै थाहा थियो कि शिवजी त वैरागी भएकाले विवाहको त कुनै प्रश्न नै छैन अतस् सन्तान हुनेछैन , आफ्नो कठोर तपस्याबाट यिनै ब्रह्मचारिणी देवीले भगवान् शिवजीको ध्यान भङ्ग गरेर, शिवजीलाई अंततः विवाहको लागि तैयार गराइन् ।
माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल दिनेवाला छ, तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । नवरात्रको दोस्रोदिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । नवरात्रको दोस्रोदिन अर्थात् आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ । ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । ब्रह्मचारिणीलाई वैज्ञानिक दृष्टिले Magneticअर्थात् आकर्षण तथा चुम्बकीय शक्तिको स्वरूप मानिन्छ । अस्तु । ।
ज्यो प नारायणप्रसाद दुलाल
Liked by: