मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
विक्रम संवत २०७७ साल अर्थात् श्रीशालिवाहनीय शाके १९४२ ईस्वीय सन् २०२०-२०२१ र नेपाल संवत ११४०-११४१, प्रमादी नामको संवत्सर रहेको यस वर्षमा राजा बुध र मन्त्री चन्द्रमा रहेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ज्योतिषशास्त्र र धर्मशास्त्रका विद्वान तथा अन्य विज्ञजनहरूलाई आमन्त्रण गरी उहाँहरूको सल्लाह तथा सुझावअनुरुप तयार गरिएको पञ्चाङ्ग निर्णयक समितिद्वारा निर्णय गरिएको मुख्य तिथिमितिहरू जस्तै औँशी, पूर्णिमा, एकादशी तथा अन्य चाडपर्व, मेला, उत्सव आदिको निर्णयलाई आधार मान्दै २०७७ सालभित्र जम्मा १३ वटा औंसी, १२ वटा पूर्णिमा, २५ वटा एकादशी र एउटा खण्डग्राससूर्यग्रहण रहेको छ । हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीकालागि प्रस्तुत छः मुख्य तिथि-मिति एवं चाडपर्वहरूको संक्षिप्त जानकारी ।
वैशाख (लोकतन्त्र दिवस | मातातिर्थ औँशी | अक्षय तृतीया | श्रमिक दिवस | बुद्ध जयन्ती)
२०७७ साल वैशाख १ गते सोमवारबाट नववर्ष प्रारम्भ हुन्छ, ६ गते शनिवार बैशाख कृष्ण पक्षको बरूथिनी एकादशी रहेको छ । ११ गते लोकतन्त्र दिवस हो भने त्यसैदिन मातातिर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन रहेको छ ।१४ गते सातु-सर्वत खाने दिन अर्थात् अक्षत तृतीया परेको छ । मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस १९ गते परेको छ । बैशाख शुल्लपक्षको मोहिनी एकादशी २१ गते रहेको छ । बैशाख चण्डिपूर्णिमा अर्थात् गौतमबुद्ध जयन्ती २५ गते हो ।
जेठ (मङ्गल चौथी | गणतन्त्र दिवस | शनि जयन्ती | निर्जला एकादशी)
जेठ संक्रान्ति बिहिवावारबाट प्रारम्भ हुँदै जेष्ठ कृष्णपक्षको अपरा एकादशी ५ गते रहेको छ । जेष्ठ कृष्णपक्षको औंशी तथा शनि जयन्ती ९ गते हो । १३ गते मङ्गल चौथी परेको छ । १५ गते गणतन्त्र दिवस हो । जेष्ठ शुक्लपक्षको निर्जला एकादशी अर्थात् तुलसीको दल राख्ने दिन २० गते रहेको छ । जेष्ठशुक्ल पूर्णिमा २३ गते रहेको छ र फेरी २७ गते मङ्गल चौथीव्रत परेको छ ।
असार (खण्डग्रास सूर्यग्रहण | दही चिउरा खाने/राष्ट्रिय धान दिवस | हरिशयनी एकादशी | भानु जयन्ती)
असार संक्रान्ति सोमवारबाट प्रारम्भ हुँदै योगिनी एकादशीव्रत ३ गते रहेको छ । ७ गते असारकृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण पर्न गएको छ । १५ गते दहीचिउरा खाने दिन र राष्ट्रिय धान दिवस हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी तथा तुलसी रोप्ने दिन असर १७ गते हो र यसै दिनबाट चतुर्मास व्रत प्रारम्भ हुन्छ । २१ गते गुरुपूर्णिमा रहेको छ । भानुजयन्ती २९ गते हो ।
श्रावण (लुतो फाल्ने दिन | खीर खाने दिन | नाग पञ्चमी | जनैपूर्णिमा | श्रीकृष्ण जन्माष्टमी)
श्रावण महिना भगवान शिवजीको उपासना तथा आराधनाकोलागि निकै महत्त्व छ । चारवटा सोमवार रहेको श्रावण महिना बिहिवारबाट प्रारम्भ हुनेछ र यसै श्रावण संक्रान्तिका दिन लुतो फाल्ने दिन का नामले प्रसिद्ध छ । श्रावण कृष्णपक्षको कामिका एकादशीपनि १ गते नै रहेको छ, यसै संक्रान्तिका दिनबाट दक्षिणायन प्रारम्भ हुन्छ । ५ गते श्रावण कृष्ण सोमवारे औँसी परेको छ । १० गते नागपञ्चमी हो । १५ गते खीर खानेदिन हो भने श्रावण शुक्लपक्षको पुत्रदाएकादशीपनि यसैदिन परेको छ । श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा, ऋषितर्पणी तथा रक्षाबन्धन १९ गते रहेकोछ । २० गते गाईजात्र हो । २७ गते श्रीकृष्ण जन्माष्टमी परेको छ । भाद्र कृष्णपक्षको अजा एकादशीव्रत ३१ गते हो ।
भाद्र (कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन | तीज | ऋषिपञ्चमी | सोह्र श्राद्ध प्रारम्भ)
भाद्र संक्रान्ति सोमवारबाट प्रारम्भ हुँदै ३ गते कुशेऔँसी तथा बुबाको मुख हेर्ने दिन रहेको छ । ५ गते महिलाहरूको महान चाड हरितालिका तीज, ६ गते गणेश चतुर्थी र ७ गते ऋषिपञ्चमी हो । १३ गते भाद्रशुक्ल हरिपरिवर्तनी एकादशी रहेको छ । १६ गते अनन्त चतुर्दशी र भाद्र शुक्ल पूर्णिमा व्रतको दिन हो । १७ गतेबाट सोह्र श्राद्ध प्रारम्भ हुनेछ । आश्विनशुद्ध कृष्ण पितृपक्षको इन्दिरा एकादशी २८ गते रहेको छ ।
आश्विन (विश्वकर्मा पूजा | अधिकमास | संविधान दिवस | मंगल चौथीव्रत )
आश्विन संक्रान्ति बिहीवारका दिन विश्वकर्मा पूजा तथा वास्तु दिवस हो । २ गतेबाट अधिकमास सुरू हुन्छ भने ३ गते ऐतिहासिक संविधान दिवस हो । ११ गते अधिक आश्विन शुक्ल पक्षको पद्मिनी एकादशी व्रत हो । १५ गते अधिक आश्विन शुक्ल पूर्णिमा रहेको छ । २० गते मंगल चौथीव्रत परेको छ । २७ गते अधिक आश्विन कृष्णपक्षको परमा एकादशीव्रत हो र ३० गते अधिकमास समाप्ति हुन्छ ।
कार्तिक (बडा दशैं प्रारम्भ | मंगल चौथीव्रत | विजयादशमी | तिहार/यमपञ्चक )
कार्तिक संक्रान्ति शनिवारबाट प्रारम्भ हुनेछ र यसै दिनबाट घटस्थापना तथा दुर्गापूजा विशेष नवरात्र आरम्भ हुनेछ । ४ गते मंगल चौथीव्रत परेको छ । ७ गते फूलपाती भित्र्याउने दिन हो भने ८ गते महाअष्टमी तथा कालरात्रि रहेको छ । ९ गते दशैंको महानवमी हो र १० गते विजयादशमी तथा नवरात्रको दुर्गापूजा विसर्जन गरी जमरा तथा टीकाप्रसाद ग्रहण गर्ने दिन हो । ११ गते शुद्ध आश्विन शुक्लको पापाङ्कुशा एकादशी रहेकोछ । आश्विन शुक्लपक्षको कोजाग्रतव्रत १४ गते परेको छ भने कार्तिक कृष्णपक्षको रमा एकादशीव्रत २६ गते रहेको छ । २८ गतेबाट कागतिह़ार तथा यमपञ्चक प्रारम्भ हुनेछ । २९ गते कुकुरतिहार तथा नरक चतुर्दशी रहेको छ, यसै दिन सुखरात्रि अर्थात् लक्ष्मीपूजा तथा दीपावली रहेको छ । ३० गते गाईगोरु पूजा र म्हपूजा औँसीकै दिन परेको छ ।
मंसिर (भाई टीका | नेपाल सम्वत् | छठपर्व | कुष्माण्ड नवमी | तुलसी विवाह | बालाचतुर्दशी)
मार्ग शीर्षसंक्रान्ति सोमवारका दिन गोबर्धनपूजा र भातृद्वितीय अर्थात् भाइटीका एकैदिन परेको छ यसै दिन नेपाल सम्वत् ११४१ प्रारम्भ हुनेछ । ५ गते डालापूजा तथा छठपर्व हो । ८ गते सत्य युग प्रारम्भ भएको दिन अर्थात् कुष्माण्ड नवमी हो । ११ गते कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी तथा तुलसी विवाह का साथै नयाँ अन्न खाने दिन रहेको छ । कार्तिकशुक्ल पूर्णिमा अर्थात् चतुर्मासा व्रत तथा कार्तिक स्नान समाप्ति १५ गते रहेको छ । मार्गशीर्ष कृष्णपक्षको उत्पत्तिका एकादशी २६ गते रहेको छ भने २८ गते शतबीज छर्ने दिन अर्थात् बालाचतुर्दशी हो । २९ गते सोमबारे औंशी परेको छ ।
पौष (विवाह पञ्चमी | धान्यपूर्णिमा/उधौली पर्व | इ.सं. २०२१ प्रारम्भ | पृथ्वी जयन्ति |)
पौषसंक्रान्ति बुधवारबाट प्रारम्भ हुनेछ र ४ गते सीताराम विवाहपञ्चमी परेको छ । मार्गशीर्ष शुक्ल पक्षको मोक्षदाएकादशी १० गते परेको छ । मार्गशीर्ष पूर्णिमा अर्थात् धान्यपूर्णिमा तथा उधौली पर्व १५ गते रहेकोछ । १७ गते इस्वी सन् २०२१ प्रारम्भ हुनेछ । २४ गते नेपाल ज्योतिष परिषद् स्थापना दिवस हो । पौष कृष्णपक्षको सफला एकादशी २५ गते हो । २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस र २९ गते पौषे औँसी हो ।
माघ (मकर संक्रान्ति/माघी | वसन्त पञ्चमी/सरस्वती पूजा | श्री स्वस्थानी व्रत प्रारम्भ)
मकरसङ्क्रान्ति अर्थात् माघ १ गते बिहीवार माघी पर्व तथा घिउ, चाकु, तिलौरा , तरुल आदि खाने दिन हो, यसै दिनबाट उत्तरायण प्रारम्भ हुन्छ । पौष शुल्क पक्षको पुत्रदा एकादशी ११ गते हो । १५ गते पौष शुक्ल पूर्णिमा अर्थात् श्री स्वस्थानीव्रत तथा माघ स्नान प्रारम्भ हुनेछ । २६ गते माघ कृष्ण पक्षको षट्तिला एकादशी हो । २९ गते माघ कृष्णपक्षको औँसी तिथि हो ।
फाल्गुन (प्रेम दिवस | श्री पञ्चमी | श्रीस्वस्थानी व्रत समापन | महाशिवरात्री)
फाल्गुनसंक्रान्ति शनिवारबाट प्रारम्भ भएको छ । २ गते प्रेमदिवस हो । ४ गते वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा रहेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस ७ गते हो । ११ गते माघशुक्ल भीमा एकादशी हो । १५ गते माघशुक्ल पूर्णिमाका दिन श्रीस्वस्थानी व्रत समापन हुनेछ । २५ गते फाल्गुन कृष्णपक्षको विजया एकादशी रहेको छ । २७ गते महाशिवरात्रि हो ।
चैत्र (ग्याल्पो ल्होसार | फागु पूर्णिमा/होली | घोडेजात्रा)
आईतवारबाट प्रारम्भ हुने चैत्र संक्रान्तिको दिन आदिवासी, शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले मनाउने ग्याल्पो ल्होसार पर्व रहेको छ । १२ गते फाल्गुन शुक्ल आमलकी एकादशी हो । फागु पूर्णिमा तथा होली पहाडी भेगमा १५ गते र तराईमा १६ गते मनाइनेछ । २२ गते रविसप्तमीव्रत पार्न गएको छ । २६ गते चैत्र कृष्ण पक्षको पापमोचनी एकादशी परेको छ । २९ गते घोडेजात्रा र ३० गते चैत्र कृष्णपक्षको सोमवारे औंशी हुँदै यसवर्षको मुख्य तिथि-मिति सकिन्छ । शुभं भवतु ।।
त्यसैगरी गृह मन्त्रालयले सार्वजनिक गरेको राजपत्र अनुसार २०७७ सालको सार्वजनिक बिदाहरु यसप्रकार रहेका छन् :
१) नयाँ वर्ष, बैसाख १ गते
२) महाशिवरात्री, फाल्गुन २७ गते
३) फागूपूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा चैत्र १५ गते र तराइमा चैत्र १६ गते
४) बुद्ध जयन्ती, उभौली पर्व, चण्डी पूर्णिमा बैसाख २५ गते
५) गौरा पर्व, भाद्र १० गते
६) इदुल फित्रका दिन
७) छठ पर्व, मंगसिर ५ गते
८) इदुल जोहाको दिन
९) क्रिसमस डे (डिसेम्बर २५ तारीख)
१०) तमू ल्होसार, उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस, धान्य पूर्णिमा पौष १५ गते
११) माघे संक्रान्ति (माघी पर्व) माघ १ गते
१२) सोनम ल्होसार, माघ ३० गते
१३) ग्याल्पो ल्होसार, चैत्र १ गते
१४) हरितालिका तीज (महिला बिदा) भाद्र ५ गते
१५) जितिया पर्व (जितिया पर्व मनाउने महिलाहरुलाई बिदा) भाद्र २५ गते
१६) बसन्त पञ्चमी (शिक्षण संस्थान बिदा) फाल्गुन ४ गते
१७) गाईजात्रा (उपत्यका बिदा) साउन २० गते
१८) इन्द्रजात्रा (उपत्यका बिदा) भाद्र १६ गते
१९) मत्स्येन्द्रनाथ भोटो देखाउने जात्रा (उपत्यका बिदा) सो जात्रा हुने दिन
२०) घोडेजात्रा,(उपत्यका बिदा) चैत्र २९ गते
२१) दशैं बिदा (कार्तिक ७ गते फूलपाती देखि कार्तिक ११ गते एकादशी सम्म)
२२) तिहार बिदा, लक्ष्मीपूजा कार्तिक २९ गते, म्ह पूजा कार्तिक ३० गते, गोवर्दन पूजा र भाइटिका मङ्सिर १ गते
२३) विश्व मजदूर दिवस, बैसाख १९ गते
२४) संविधान दिवस, असोज ३ गते
२५) अन्तरार्ष्ट्रिय महिला दिवस, फाल्गुन २४ गते
२६) अन्तरार्ष्ट्रिय अपाङ्गता दिवस (अपाङ्ग कर्मचारीहरुलाई बिदा) मङ्सिर १८ गते
२७) फाल्गुनानन्द जयन्ती (किरात धर्मावलम्बीहरुलाई) कार्तिक २५ गते
२८) गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई) मङ्सिर १५ गते
२०७७ साल शुभ रहोस् ।
प्रस्तुतिः –ज्योतिष पण्डित नारायणप्रसाद दुलाल
Liked by: