मंदारमाला कुलितालकायै कपालमालांकृत शेखराय।
दिव्याम्बरायै च दिगम्बराय, नमः शिवायै च नमः शिवाय।।
भगवान शिवजीको प्रिय महिना साउन र त्यसमा पनि सोमबार झनै विशेष दिन हो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिनाको निक्कै विशेष रहेको साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना हो ।
श्रावण महिनामा पनि सोमबार भगवान् शिवको प्रिय दिन भएकाले यो दिन व्रत बस्दा लौकिक र पारलौकिक फल प्राप्त हुन्छ भने ज्ञान, विचार, बुद्धि, विवेक, श्रद्धा, शक्ति, भक्ति तथा पवित्रताको अभिवृद्धि एवं अन्तरात्मा शुद्ध हुन्छ । व्रतबाट आफ्नो संस्कारको परिचय मिल्नुका साथै शरीर स्वस्थ एवं मन शान्त रहन्छ भन्ने धारणा रहेको छ ।
आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउन भरी भगवान् शिवजीको पूजा आरधना गरि व्रत बस्ने गर्छन् भने विवाहितहरूले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोलेबाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमीजोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण महिनामा या सोमबारको दिन शिवजीको व्रत, जप, तप, रुद्री, पाठ, अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।
वायुपुराणका अनुसार
मम भावं सामुत्सृज्य यस्तु रुद्राञ्जपेत् सदा ।
स तेनैव च देहेन रुद्रस् सञ्जायते ध्रुवम् ।।
जसले अहंकार र मकार (म र मेरो भाव)लाई छाडेर रुद्रको जप, पूजा एवं आराधना गर्दछ भने त्यस कर्मका प्रभावले त्यो व्यक्ति निश्चितरूपले रुद्र समान हुन्छ ।
परापूर्वकालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने चलन थियो तर अहिले आएर आधुनिकता र समयको मागसँगै साउन महिना भरि हरियो, पहेँलो र रातो रङ्गको सारी, चोलो, कुर्ता, चुरा, पोते, नङ पालिस, मेहन्दी शास्त्रीय आधार नभेटिए पनि यसको प्रचलन बढेको छ । अहिले व्रत बस्ने, पूजाआज गर्ने शिव मन्दिरमा जाने, रुद्राभिषेक गर्ने प्रचलन बढेको छ र यस कार्यमा महिला मात्रै नभएर पुरुषहरू पनि संलग्न भएको देख्न पाइन्छ ।
साउन महिनामा लगाइने हरियो चुरा र हरियो पहिरनको कुरालाई प्रमाणित गर्न नसकिएपनि साउन महिनामा चारैतिरको प्राकृतिक वातावरण एवं बोटविरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोलेबाबा खुसी हुने अधिकांश विद्वान एवं हिन्दु महिलाहरूको धारण छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको र पहेँलो पवित्रताको प्रतीक हो ।
८० वर्ष पार गरेकी हजुरआमा देखी भर्खरै जन्मेका डेढ दुई वर्षका नातिनी सम्मका हातमा हरिया चुराले सजाएर साउनको स्वागत गरिरहेका हुन्छन् । अहिले साउन भन्नासाथ हरियो रङ्ग को पर्यायवाची जस्तै लाग्न थालेको छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा र पोते लगाउनुपर्छ भन्ने मानसिकता बढेको देख्न पाइन्छ ।
त्यसैले यो आस्थामय साउन महिनामा हरियो, पहेँलो र रातो सम्मिश्रण गरी शृङ्गार तथा कपडा विशेष रूपले लगाइन्छ । साउन महिना भरि हरियो चुरा, हरियो वस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरूलाई देख्दा हिन्दु सांस्कृतिक, संस्कार र विश्वास अझ गाढा हुँदै गएको महसुस गर्न सकिन्छ । अझ हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग बस्यो उति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास छ ।
भगवान् शिवजीलाई सयौँ पुष्प चढाएको फल एउटा आँकको फूल चढाउनाले मिल्छ, सयौँ पुष्प चढाएको फल एउटा आँकको फूल चढाउनाले मिल्छ, सयौँ आँकको फूल चढाएको फल एउटा बेलपत्र चढाउनाले मिल्छ, हजार बेलपत्र चढाएको फल एउटा द्रोण पुष्प चढाउनाले मिल्छ, हजार द्रोण पुष्प चढाएको फल एउटा अपामार्गको फूल चढाउनाले मिल्छ, हजार अपामार्गको फूल चढाएको फल एउटा कुशको फूल चढाउनाले मिल्छ, हजार कुशको फूल चढाएको फल एउटा शमीको पत्ता चढाउनाले मिल्छ, हजार शमीको पत्ता चढाएको फल एउटा नीलकमल चढाउनाले मिल्छ, हजार नीलकमल चढाएको फल एउटा धतुरो चढाउनाले मिल्दछ । यसका अतिरिक्त दुबो, बेली, मालती, करवीर, पारिजात, काँस, शमी, चम्पा, गोदावरी, सयपत्री, जयन्ती, रातरानी, चमेली सहित जल तथा थलमा पाइने चम्पा र केतकीको फूल बाहेक अन्य सबै प्रकारको सुगन्धित पुष्प र यी बाहेक जल, दूध, चामल, चन्दन, भस्म, रुद्राक्ष, कपुर आदि भगवान् शिवजीलाई प्रिय छ ।
धर्म र संस्कृतिले जहिले पनि मानिसलाई पवित्र बन्नका लागि प्रेरणा दिइरहेको हुन्छ । यही कारणले श्रावण महीनामा शिवजीलाई रुद्राभिषेक, पत्र, पुष्प, तन, मन र वचनले यथा शक्ति एवं भक्तिले आराधना गरी मनोवाञ्छित फल प्राप्त हुने भएकाले सत्मार्गमा अग्रसर हुन र कर्म निष्ठ हुन हामीहरूलाई यो श्रावण महिनाले अभिप्रेरित गरेको छ । सम्पूर्ण प्राणीहरूको हित र प्रेम भावको लागि यस्तो श्रावण महिना जहिले आइरहोस् । जय शम्भो ।।
-पं. नारायणप्रसाद दुलाल
Liked by: