स्वामी महाराज हाम्री परमप्रिय माता हेमानन्द गिरीसँग आज हामी नइको टेलिफोन वार्ता भयो । हामीलाई उहाँको वाणीले मोहित बनायो, खुसी बनायो र गौरवी पनि बनायो । किनभने रूद्राभिषेक गरिसकेपछि उहाँ ज्योतिर्मठ या उत्तराखण्ड (हिमालय)को शङ्कराचार्य बन्नु हुनेछ । अनि रूद्राभिषेक पनि पशुपतिनाथ परिसरमा नै हुन सकोस् भनेर हामीले कामना गरेका छौं ।
आज हामी नइ दम्पतीले स्वामी हेमानन्द गिरीको आशिर्वाद पनि पायौं । त्यस बेहोराले पनि हामी आल्हादित बन्यौ । एउटी जगत् गुरू र जगत् माताबाट यसरी आशिर्वाद पाउनु हाम्रा लागि म गौरवको कुरा मान्छु ।
सबैभन्दा खुसीको कुरा स्वामी हेमानन्द गिरीले नेपालका विभूति योगी नरहरिनाथलाई नेपालका शिखर विभूति र आफ्नो परमपूज्य गुरू मान्नु भयो । योगी नरहरिनाथका गुरू योगी छिप्रानाथ बाबाको म पनि चेला भएको बेहोराले महाराज हेमानन्द गिरीले मलाई काका भन्नु भयो । साथै मैले उहाँलाई छोरी भनेर सम्वोधन पनि गरे ।
स्वामी हेमानन्द गिरी महाराज नौ करोड भक्तजनको भिडलाई चिरेर महामण्डलेश्वर भैसक्नु भयो । यो सर्वोच्च पदमा पुग्ने उहाँ विश्वकै प्रथम नारी र नेपालकी सुपुत्री हुनुहुन्छ । अब केही समय प्रतीक्षा गरौ- उहाँ शङ्कराचार्य हुनुहुँदै छ । त्यसपछि हाम्रो नेपाल राष्ट्रको थप अर्को अति विशिष्ट पहिचान पनि कायम हुनेछ । यस युगान्तकारी घटना भूगोलका हिन्दूहरूका लागि गौरवको कुरा हुनेछ । साथै विश्व नारी जागरणका लागि समेत यो थप उपलब्धी मानिने छ ।
आध्यात्मिक चिन्तक, समाजसेवी तथा हिन्दू धर्मसंस्कृतिकी परम पूज्य स्वामी हेमानन्द गिरी महाराजको शङ्कराचार्य सिंहासनमा छिटै आरोहण होस् भनेर श्री पशुपतिनाथ समक्ष मैले प्रार्थना गरेको छु । शङ्कराचार्यको पदमा दिग्विजय भएपछि उहाँका गलामा फूलको माला पहिराउन म र मेरी पुरोधिका इन्दिरा आतुर भएका छौं ।
स्वामी हेमानन्द महाराजजी हाम्री माता पनि र मेरी छोरी पनि भएका कारण म अझै गौरवीमा छु । हाम्रो संस्कृतिमा माता र छोरीको गोडा ढोग्ने परम्परा भएको हुँदा उहाँको चरणमा म मेरो शिर राख्तछु । जय स्वामी महाराज हेमानन्द गिरी माता !
नरेन्द्रराज प्रसाई
Liked by: