Bhanu Jayantiii | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

भानु जयन्ती/सूर्य पूजा





विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा माभानुभक्त आचार्यको जन्म विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । अहिलेको नेपाली भाषालाई उति बेला "खस्" भाषा भनिन्थ्यो र यो भाषा लिपिबद्ध भन्दा पनि सामान्य अभिव्यक्तिहरूमा मात्र सीमित थियो । 

नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन् जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिव्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उति बेला कविताहरू र औपचारिक साहित्यहरू संस्कृत भाषामा हुने गर्दथे, यसर्थमा संस्कृत भाषा बुझ्न र बुझाउन सक्ने ब्राह्मणहरूको आवश्यकता र महत्त्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आफै साहित्य र कलात्मक अभिव्यक्ति बुझ्न गाह्रो थियो ।

भानुभक्तले उति बेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध गरिदिए, अचम्मको कुरा त के छ भने अनुवाद गरिए तापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकिलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्ययन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरूको सरल पहुँचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशबाटै भानुभक्तले सिकेका हुन् तसर्थ यिनको रचनामा समाज र व्यबहारीक्ताको सङ्गम पाइन्छ ।

भानुभक्त मा घाँसीको प्रेरणा
भानुभक्तको जीवनमा एक जना घाँसीले उनलाई प्रेरणा दिएको हो, घाँसी दरिद्र भए तापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुवा खन्दछ । भानुभक्तलाई आफू घाँसीभन्दा धनी भए तापनि समाजकालागि केही गरौँ भन्ने भाव नभएको महसुस भएर आफूप्रति ग्लानि लाग्दछ । तर सबैको देन आ आफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिव्यक्तिले कथेका काव्यहरू अझै पनि नेपाली दलिनहरू भित्र सुरक्षित रूपमा राखिएका छन् । रामायणभित्र रहेका बाल काण्ड, अरन्यकाण्ड, सुन्दर काण्ड, युद्ध काण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले "रामायण"का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् । गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसास्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुचि भएका पाठकहरूले रामायणका श्लोकहरू याद गर्नु अहिले पनि नेपाली समाजमा छ भने रोचक प्रसङ्ग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरू पाएपछि बिहे, व्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि सुरु भएको हो । यसर्थमा आजको दोहोरी र लोकगीतहरूको उद्गम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै

भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति


भानुभक्तको लय बिलकुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजिब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरूले आजसम्म पनि आफ्ना कविताहरू वाचन गर्न यही लयको प्रयोग गरेका छन् ।भानु बाजे अर्थात् भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरू अनि नेपाली समाज भएका विश्वभरिकै देशहरूमा भानु जयन्ती मनाइन्छ । भानुभक्त कवि मात्र नभएर नेपाली भाषाका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरूमा भानुभक्तको लय अझै जीवित छ । भानुभक्तका विरोध र समालोचनामा समेत धेरै कुराहरू लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नाङ्गातर्कहरु पनि आए तर ती कुराहरू उनीप्रतिको अन्याय हो ।

अनुवाद गर्दै छन्द अनि भावलाई कायम र अझ भनौँ बढोत्तरी गर्न सक्नु, शताब्दीसम्म जनमानसले प्रयोग गर्न सक्ने र यथार्थपरक उखान, भनाई र छन्दात्मक अभिव्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्न सक्नु भानुभक्तको आदिकवि हुनको पूर्ण व्याख्या र पहिचान हो । छतौरा प्रेमकथा र सतही कुण्ठाहरूको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषित गर्ने आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी छ ।
एउटा कुरा स्पष्ट छ, हामीले सायद महान् भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्ययन र अन्वेषण गर्न जरुरी छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरू हुन् । युगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरू प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरू मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् ।

भारतमा अध्ययन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरूप्रतिको समर्पणले, नेपाली भाषाको फराकिलो दायरा र नेपालीपन उद्घोष गर्दछ । भानु जयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले विसं १९४१ मा लामो समय भानुभक्तका बारेमा अन्वेषण र सोध गरी छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरू अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।

भानुभक्तका केही रोचक प्रसङ्गका कुरा गर्दा छिमेकी भाट थरका व्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उनले आफ्नो घरको भित्ताहरूबाटै बाँसका भाटाहरू निकालेर फालेका तथ्य पनि अझै तनहुँ अनि त्यही छेउछाउका ठाँउहरुमा प्रचलित छ ।भानुभक्तबाट अहिलेका पुस्ताले भाषा मोह सिक्न जरुरी छ । छरिएका भाषाहरूलाई एकसुत्रमा बाँध्ने महान् व्यक्ति, नेपाली जनका आदिकविको सम्झनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्न कालागि मात्रै पनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त विकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने बुझ्न जरुरी छ है ।

नेपाली भाषाको अध्ययन, अनुसन्धान अनि विकास नै भानुप्रतिको सच्चा श्रद्धा सुमन हुनेछ । सेक्सपियरका कविता, अङ्ग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरूले भानुभक्तलाई चिन्ने वातावरण हुनपर्दछ किनभने नेपालीले पहिले "गाई" बुझ्दछ अनि मात्र "काउ"को अर्थलाई गाईसँग जोड्दछ । पहिले "आमा" बुझ जरुरी छ अनि मात्र "मम" या "मदर" ।

अमर रहुन् भानुभक्त र उनका रचनाहरू । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्त्व नेपाल जनमा रहिरहोस् |

सूर्य पूजा

सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्र:
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।

सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवहरूमा अनेक रूपमा विद्यमान छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्साउने गर्छन् ।

सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई आध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।सूर्य भगवानलाई प्रातः कालमा सात्त्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।

उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।

बाह्र कलाले युक्त यस्तो विशेषता भएको सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णु आदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभ फल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्र वटा आइतबार व्रत बस्नु पर्छ । व्रतको दिन प्रातः सूर्य नारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।

यस्तो व्रत आदि उपासना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रअनुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ–आशीर्वाद प्राप्त हुनेछ ।

-हाम्रो पात्रोकाे लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.