ब्लग - साहित्यचाडपर्व तथा दिन विशेष लेखहरू


अन्तर्राष्ट्रिय युवा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अन्तर्राष्ट्रिय युवा दिवस
अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
सन् २०२४ को युवा दिवसको नारा भने यसप्रकार छ । 'From Clicks to Progress; Youth Digital Pathways For Sustainable Development'.क्लीकअर्थात् प्रविधीको प्रयोगलाई दिर्घकालिन बिकाससंग जोड्दै यो वर्षको नारा तयार गरिएको छ ।
युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।
नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।
दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’
मानवता जताततै युवाहरूको असीम ऊर्जा, विचार र योगदानमा निर्भर छ। आज र हरेक दिन, मानिसहरू र ग्रहको लागि, एक न्यायपूर्ण र दिगो संसारको आकार दिन युवा मानिसहरूको साथ र समर्थन गरौं।
एन्टेनो गुटेरस
संयुक्त राष्ट्र संघ महासचिव
यसअर्थमा नेपालमा पनि कार्यक्रमहरू गरिँदै अनि ज्ञापनपत्र र घोषणापत्रहरू मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरूले आफ्ना माग र आवश्यक्तालाई सरकार र सरोकारवालाहरूसमक्ष लैजान जागरुक र तदारुकता हुन जरुरी छ । स्वरोजगार ऋण र सीपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरूको जोडदार आवाज उठ्न जरुरी छ । जहाँ आवाज कमजोर भयो बुझे हुन्छ विकास ठप्प भयो । परिवर्तन ठप्प भयो ।
यसकारण पनि परिवर्तनका संवाहक युवाहरूको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरूको कुशल काँधमा छ । जय होस् ।
गोरखकाली पूजा
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
