सिथि नख:। विश्व बालश्रम विरुद्ध दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष लेखहरू

सिथि नख:। विश्व बालश्रम विरुद्ध दिवस





सिथि नख:
सिथि नखः पर्व कहिले मनाइन्छ ?
ज्येष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र संस्कारअनुरूप हरेक वर्ष सिथि नखः पर्व मनाइन्छ । नेपाल संवत् ११४४ को यस चाडमा सबैलाई स्वागत छ ।आकाश बादलले ढाकिएका छन् । अनि वातावरण घनिभूत हुँदै छ वर्षा यामको । वर्षा यामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाइका कुरा आउँछ । वर्षयाममा प्रवेश अनि पानीको मुहान सरसफाइका लागि नेवा: सभ्यता र संस्कार अनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिनमा सिथि नखः चाड मनाइने चलन छ । काठमाडौँ जसरी मन्दिरको सहरका रूपमा प्रचलित छ । त्यसरी नै काठमाडौँ पाटी–पौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो ।

सिथि नखः को वैज्ञानीक र व्यवहारीक पक्ष
पानीको श्रोतका लागि अत्यन्त महत्त्वपूर्ण यी कुराहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाइने चलन भएको हो । आजको दिनमा काठमाडौँ अनि काठमाडौं बासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्त्वमाथि पनि प्रकाश पार्छ । आजको दिन इनार, कुवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नु पूर्व सरसफाइ गर्ने चलन छ । यसरी सबै जना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्यकारी हुने दूरगामी संस्कार प्रशंसनीय छ ।



यसरी सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । अनि पानीको सतह राख्नुपर्छ भन्ने मान्यता छ । पानी सफा गर्दा इनारभित्र पसेर, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ ।

उपत्यकामा पहिले जस्तो खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै छन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि उपत्यकावासीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको तथ्य पनि जायज छ ।सिथि नखः का दिन पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

सिथि नखः मा के के गरिन्छ ?
यसै दिन भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौँको जैसी देवलको शिव–पार्वतीका ज्येष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइने चलन छ । नेवा: समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

कुमार कार्तिकेय को प्रसङ्ग
कुमार कार्तिकेयबारे केही कुरा गर्न चाह्यौ, शिवजीका यी पुत्र अलौकिक सैनिक दस्ताका महासेनानीका रूपमा पुराणहरूमा व्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरूको वध गर्न सक्ने यी बलवान्लाई गङ्गाका पुत्रका रूपमा पनि व्याख्या गरिन्छ । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गङ्गाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।गङ्गा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन् । यसर्थमा गङ्गाका स्वरूप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग अन्तरसम्बन्ध पाइन्छ । वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ ।हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनामार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरू चलाइरहिएको छ । नियालेर हेर्ने हो भने हाम्रो पुराना संस्कारहरू नै आफैँमा वैज्ञानिक र परिवर्तनकारी छ ।

सिथि नखः को शुभकामना । अनि हाम्रा पानीका मुहान र चित्त दुवै सँधैभरि शुद्ध र सफा हुन् ।

विश्व बालश्रम विरुद्ध दिवस



के हो त बालश्रम?

शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पुर्‍याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्य कालागि आवश्यक शिक्षा तथा उसको प्राकृतिक विकासको अवसरबाट वञ्चित गराउँदछ ।

बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य
बाल श्रम विरुद्धको विश्व दिवसको उद्देश्य बाल श्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य र प्रयासहरूमा ध्यान केन्द्रित गर्नु हो। प्रत्येक वर्ष १२ जुनमा, विश्व बाल श्रम विरुद्धको दिवसले सरकार, रोजगारदाता र श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको दुर्दशा र उनीहरूलाई मद्दत गर्न के गर्न सकिन्छ भनेर प्रकाश पार्नको लागि यस दिवस मनाइन्छ ।

सन् २०२४ को नारा

Let's act on our commitment: End Child Labour!

अर्थात् आआफ्नो प्रतिवद्धतामा विचार गरौं र बालश्रम अन्त गरौं भन्ने अर्थ लाग्दछ ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.