धनतेरस
धन त्रयोदशी व्रत । धनतेरस । यमपञ्चक आरम्भ
बडा दसैँको लगत्तै आउने नेपालीहरूको अर्को महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक सुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईँले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पा सनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।
धन्तेरसमा भाँडाकुँडा खरिद
तपाईँ धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।
धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ। सम्पूर्ण नेपालीहरूलाई धन्तेरसको मङ्गलमय शुभकामना
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।शनिवारको दिन प्रदोष परेकाले यस दिनलाई शनि प्रदोष व्रत पनि भनिन्छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
शान्ति र विकाशका लागी विश्व विज्ञान दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ। समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र उभिरहेको वैज्ञानिक मुद्दाहरूको बहसहरूमा व्यापक जनता संलग्न गरी विज्ञानले हाम्रो दैनिक जीवनमा यसको महत्त्व र प्रासङ्गिकतालाई कसरी प्रभाव पार्दछ भनी बुझ्नको लागि संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउन सुरु गरेको हो।
अहिलेको समाजका नागरिकहरूलाई विज्ञानको उन्नति प्रगतिको बारेमा सूचित राख्न पनि संयुक्त राष्ट्र सङ्घ, समाजलाई विज्ञानको सँगसँगै या भनौँ धेरै भन्दा धेरै नजिक राखेर अघि बढ्न चाहन्छ। आजको दिवसले जना समुदायमा वैज्ञानिकहरूले हाम्रो समाजको हितको लागि गर्ने उल्लेखनीय योगदानहरूको पनि व्याख्या गर्दछ। त्यसबाहेक, देशहरू बिच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बढवा गर्नु, समाजको लाभको लागि विज्ञान उपयोगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको नवीकरण गर्नु, विज्ञानले सामना गरेको चुनौतीहरूमा ध्यान आकर्षित गर्नुको साथसाथै वैज्ञानिक प्रयासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउनु शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका उद्देश्यहरू हुन्।
सन् २००१ मा यूनेस्को द्वारा यस दिवसको सुरुवात भएपछि थुप्रै वैज्ञानिक परियोजना तथा कार्यक्रमहरू सफल भएका छन्, जसलाई विश्वका थुप्रै देशहरूले यूनेस्कोकै पहलमा वित्तीय सहयोग समेत गरेका हुन्। युद्ध ग्रसित क्षेत्रको चपेटामा परेका वैज्ञानिकहरूको विश्वका अरू वैज्ञानिक सङ्गठन सँग तालमेल मिलाउने कार्य पनि आजको दिवसको एउटा उद्देश्य रहेको छ।
यस वर्षको नारा "Building Trust in Science"
आधारभूत विज्ञानलाई दीर्घकालीन विकाससँग जोड्दै अनि विज्ञान प्रतिको विश्वास बढाउने पैरवीका साथ यस वर्ष शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइँदै छ । हामी जन्मिएको यस वैज्ञानिक युगमा, विज्ञानले शान्ति र विकाशको लागि पुर्याउने योगदान अतुलनीय रहनेछ। यस दिवसको सबैमा शुभकामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: