अक्षय तृतीया व्रत । परशुराम जयन्ती । महिला ज्योतिष संघ स्थापना दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

अक्षय तृतीया व्रत । परशुराम जयन्ती । महिला ज्योतिष संघ स्थापना दिवस





अक्षय तृतीया
यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । यो पर्व वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ । यो पर्वलाई "अक्षय" भनिन्छ जसको अर्थ अमर हुनु हो। यस दिन जे पनि गरिन्छ अक्षय अर्थात् सदा कायम रहन्छ। हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन्। मानिसहरूले अक्षत (चामलको दाना) र भाँडाकुँडामा दान गर्छन्। यस दिन विवाह, गृहकार्य, नयाँ व्यापार सुरु गर्ने आदिका लागि शुभ मुहूर्तहरू छन्। यी मुहूर्तहरूमा मानिसहरूले शुभ कार्यहरू सुरु गर्छन्।



सातु खाने दिनका रूपमा अक्षय तृतीया

सुरु गरौँ सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि सरल व्याख्या सातु खाने दिनका रूपमा रहेको छ । सातु अर्थात् चना, जौ जस्ता गेंडागूडी अथवा अन्नलाई भुटेर तयार पारिएको पीठो । यो यात्रामा बोक्न सजिलो, सहजै पच्ने अनि अडिलो खानेकुरा हो । कृष्ण र सुदामाका प्रसङ्ग देखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु यात्राका क्रममा प्राय लिएर हिँड्ने चलन रहेको छ । आज सातु खाने दिन हो, चढ्दो ग्रीष्म कालमा शीतलता प्रदान गर्न जौ, मकै, गहुँ आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको आज विशेष महत्त्व रहेको छ । माटोको भाँडामा माथिबाट भिजेको कपडाले छोपिएको पानीको शीतल अवयवसँग सातुलाई घोलेर खानुको मिठास अनन्य छ । अझ यस्ता सातु घोल्ने पानीमा अलैँची, सुकमेल, घयू, मह, मरिच, पिपला, सख्खर आदीजस्ता मरमसला र सुगन्ध मिसाएर सातुको स्वाद लिन पाएमा त उत्साह र उमगंको मिठास एकै पटक समाहित भएर आएको भान हुन्छ । यसरी सातु बनाउन सक्ने अन्नहरू प्राय सबै अकुंरण गर्न सक्ने अन्नहरु हुन्छन् । आजको आधूनिक विज्ञानले पनि नतमस्तक भई स्वीकारेको अकुंरणयोग्य अन्नहरूको महिमालाई प्राचीन काल देखिनै हाम्रो संस्कारमा समाहित गर्न सक्षम हाम्रो वैदिक सनातन संस्कार कति वैज्ञानिक छ, मनन योग्य कुरा हो ।

आजको चिरञ्जीवी तिथि
आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ, आजकै तिथिबाटै औपचारिक रूपमा सत्य युगको सुरुवात भएको थियो भने महाभारतको युगको समाप्ति लगत्तै आजकै दिनबाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको हो । यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत, बगंलादेश, म्यानमार, पाकिस्तान लगायत विभिन्न एसियाली देशहरू अनि एसियाली डायस्पोरामा विश्वभरि अक्षय तृतीया मनाइन्छ ।

अक्षय तृतीयाको पौराणिक महत्त्व
पौराणिक रूपमा अत्यन्त सफल मानिएका केही क्रियाकलापहरू आजकै लगनमा भएका हुन् जस्तै आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएको थियो भने सनातन धर्मको आधारशिला महाभारत पनि आजकै दिनको लगनदेखि वेद ब्यासले लेख्न थाल्नुभएको मान्यता छ । जे होस्, आजको दिन केही नयाँ र सकारात्मक आँट्नुभएको छ भने तपाईँ सफल हुने पक्का छ है, इतिहास साक्षी छ ।

अक्षय भन्ने बित्तिकै क्षय गर्न नसकिने, विध्वशं गर्न नसकिने अर्थ लाग्दछ, आउनुहोस् यस अक्षय तृतीयामा गरिने एउटा नौलो परम्पराका बारेमा कुरा गरौँ । आज अक्षय पुण्य प्राप्त गर्नका लागि वृद्धवृद्धाहरुलाई लौरो, छाता, खानेकुरा लगायत विभिन्न उपयोगी कुराहरू दान गर्ने चलन छ । अक्षय तृतीया यस अर्थमा अन्तर पुस्ता मायाका लागि पनि अत्यन्त महत्त्वपूर्ण दिन हो । अघिल्लो पुस्तालाई माया गर्न आजको दिनले एउटा अब्बल अभिव्यक्ति दिएको छ । अक्षय तृतीयामा आफ्ना प्रयोगकर्तालाई हाम्रो पात्रोको अक्षय माया ।

परशुराम जयन्ती

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रूपमा मनाउने चलन छ ।
परशुराम जयन्ती हिन्दू धर्मका अनुयायीहरूको लागि एक महत्त्वपूर्ण पर्व हो जुन प्रत्येक वर्ष वैशाख महिनाको शुक्ल पक्षको तृतीयाका दिन मनाइन्छ। यस पर्वको मुख्य उद्देश्य परशुराम जीको जन्मोत्सवको सम्झना गर्नु हो।
परशुराम जी हिन्दू मिथक र पुराणहरूमा एक व्यक्तित्व हुनुहुन्छ र उहाँलाई भगवान विष्णुको छैटौं अवतार मानिन्छ।

परशुराम को हुन् ?
ब्राह्मणका रूपमा जन्मिएता पनि क्षेत्रीय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनी आएका अनि महाभारत युद्धका असाधारण योद्धाहरू भीष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरू हुन् भने परशुरामका साक्षात् गुरुका रूपमा भने देवाधिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बन्चरो जस्तो हतियार बुझिन्छ । भगवान् रामको त्यो रूपले बन्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैँले धारण गरेको अमोघ परशु ९बन्चरो० उनलाई दिएका थिए । त्यही अमोघ बन्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र सङ्कल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पूजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

परशुरामको पौराणिक उपस्थिति
पौराणिक कथनहरू अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरू लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरञ्जीवी अर्थात् अमर थिए । भगवान् राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रूपमा परशुरामको जन्म भएको थियो । त्यही भएर परशुराम जन्मिएको दिन वैशाख शुक्ल तृतीया तिथिलाई चिरञ्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृ वचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार संसारका सबै कुरा नाशवान् छन् तर परशुराम यस्ता महान् पात्र थिए जो कालबाट समेत अपराजित थिए ।परशुरामको कला

कलाकौशल अनि भौतिक पूर्वाधार निर्माणका रचयिता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारत वर्षका सम्पूर्ण प्राचीन गाउँ अनि नगरहरू यिनैको योजना र कला मुताबिक बनाइएका हुन् । उत्खनन क्रममा समुन्द्र बिचमा भेटिएको प्राचीन द्वारका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानिक संरचनाले पनि प्राचीन काल देखिनै भएको वैज्ञानिक विकासमा परशुरामको योगदानको व्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरू मध्य छैठौ अवतार हुन् । यिनै अमर परशुरामको कृपाले हामी सबैको जीवनमा सत्य अनि कला कौशलताको दृढ विकास होस्, सबैलाई शुभकामना ।

राष्ट्रिय महिला ज्योतिष सङ्घ स्थापना दिवस



पृष्ठभूमि

कीर्तिपुर सल्यान स्थानकी सुधा भटराई बासकोटा ज्योतिष पेसामा संलग्न हुनुहुन्छ । यस पेसामा लागेपछि समाजलाई थप नजिकबाट नियाल्न र जिवनजगतका कुराहरूलाई अनुसन्धान गर्दै आत्मसन्तुष्टि पनि बढेको वहाँको धारणा छ ।आफ्नो रुचि अनुसारको पेसा र सन्तोषजनक आम्दानी दुवै भएका कारणले बाँकी जीवन पनि यसै पेसामा अध्ययन गर्ने र सेवा गर्ने सुधाको धारणा छ । सुधाजस्ता नेपाल भरि धेरै महिला ज्योतिषहरू छन् र महिला ज्योतिषहरू को सङ्ख्या र सहभागिता दिनानुदिन बढ्दो छ ।

समय आधुनिक हुँदै गए पनि मानिसहरूको परम्परागत विज्ञानप्रतिको चासो र विश्वास कहिल्यै घटेको छैन । शुभकार्यहरु जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेश, नयाँ घरको जग हाल्दा वा ग्रह गोचरको लागि ज्योतिष परामर्श लिने नेपालीहरू पत्रपत्रिकाका राशिफल र रेडियो–टेलिभिजनमा आउने ज्योतिष कार्यक्रमहरूमा समेत निकै चासो राख्छन् । यसका साथै ज्योतिष विद्या पढेर मानिसहरूको यस्तो जिज्ञासा मेटाउने पेशेवर ज्योतिषहरू समग्र रूपमा रामै गरी स्थापित भइरहेका छन् । कतिपय ज्योतिषहरूको त आगामी ६ महिनासम्म भेट्न समय नपाउने अवस्था पनि छ । र यी कुराहरूसँगै ज्योतिषलाई पेसा बनाउने महिला पनि धेरै छन् ।

वास्तवमा ज्योतिष पेसामा परापूर्व काल देखि नै महिलाहरूको सहभागिता र नेतृत्व असाध्यै कम भएको पाइन्छ । तर पछिल्ला समयमा ज्येतिषबिधामा महिलाहरूको नेतृत्व बढ्दो छ ।नेपालका महिला ज्योतिषहरू मिलेर आफ्नो हक अधिकार र सङ्गठनात्मक विकासलाई पैरवी गर्नका लागि राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना गरेका छन् । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।

विसं २०७९ साल पौष ९ गते राष्ट्रिय महिला ज्योतिष सङ्घको १२ औँ साधारण सभा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अवसरमा देश विदेशबाट दिग्गज ज्योतिषहरू र ज्योतिष शास्त्रका विज्ञहरू आउनुभएको थियो ।
अहिले राष्ट्रिय महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ हुनुहुन्छ ।

ज्योतिष शास्त्रको पढाई कहाँ हुन्छ ?
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अङ्ग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ ।
पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको सङ्ख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् ।

ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको जनाएको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो । आशा छ नेपाल सरकारको यो निर्णयले समग्र ज्योतिषशास्त्रके नै सञ्चालन र बिस्तारमा थप सुशासन आउने छ ।

नेपालमा महिला ज्योतिषहरूलाई पेसागत सङ्गठनको स्थापनाका लागि अनेक शुभकामना ।
सबैको जय होस्

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.