बाला चतुर्दशी | शतबीज छर्ने दिन
पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।
शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।
शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।
शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।
अन्तर्राष्ट्रिय पर्वत दिवस
नेपालका पर्वतहरूको अन्तर्राष्ट्रिय चर्चा
विश्वको ध्यान आफूतिर ताने, निर्मल पुर्जाले । निम्स दाइ भनेर पनि चिनिने निर्मलले पाएको सफलताबारे बनेको फिल्म फोर्टिन पिक्स अहिले विश्वमा सबैभन्दा धेरै हेरिएका डकुमेन्ट्रीमध्ये एक बनेको छ । अर्को फेरि नेपालको भूकम्पसँग जोडेर बनाइएको पर्वतहरूको व्यथा समावेश भएको फोर्टिन पिक्स पनि सर्वाधिक हेरिएको वृत्तचित्र बनेको छ ।
तपाईँले पनि फिल्म हेर्नु भएको छ भने त्यहाँ निर्मलले भनेका केही कुराहरू पक्कै याद छन् होला । उनले हिमाल र मानिसको सम्बन्धबारे फिल्ममा निकै मीठो भाषामा त्यसलाई परिभाषित गरेका छन् । विश्वका ८ हजारभन्दा अग्ला सबै १४ हिमाल ७ महिनाभन्दा कम अवधिमा चढेर विश्वमा नयाँ रेकर्ड बनाएका छन् ।
उनले यो आँट र साहसलाई नाम दिएका छन्– प्रोजेक्ट पोसिबल । मानिसले चाहेको खण्डमा जे पनि गर्न सक्छ, उसमा मिहिनेत र आँट, विश्वास र दृढता चाहिन्छ भनेर प्रमाणित गरेका छन्, निर्मलले । उनको यो रेकर्ड नेपाल र नेपालीको विश्वासलाई विश्वमा चिनाउन सफल भएको छ ।
तपाईँलाई अचम्म लाग्दो हो, आज हाम्रो पात्रोमा हिमाल र अहिले चर्चाको केन्द्रमा रहेका निर्मलको विषयमा हामी कुराकानी गरिरहेका छौँ । र, यसको विशेष अर्थ छ । आज हो, विश्व पर्वत दिवस ।
विश्व पर्वत दिवस को पृष्ठभूमि
हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदै छ ।
यस वर्षको विश्व पर्वत दिवसको नारा "Restoring mountain ecosystems" अर्थात् पर्वतको पर्यावरणलाई पूर्नस्थापित गर्दै भन्ने आशयसंग जोडेर यस वर्ष विश्व पर्वत दिवसको खाका कोरिएको छ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: