दशमी पछिको टिका लगाउने चलन
मुख्यतया दशमीका दिनको टिकालाई विशेष मानिन्छ । तर परपर भएका माइती मावलीहरूमा दशमीका दिन नै टिका भ्याउन नसक्ने परिवेशलाई ध्यानमा राखेर पूर्णिमाका दिनसम्म टिका र जमरा लगाइदिने चलन स्थापना भएको हो ।
दशमीका दिन देखि पूर्णिमा सम्म टिका लगाउनेको लर्को चलिनै रहन्छ । यद्यपि दसै को बिदा भने सामान्यतया द्वादशीसम्म दिने चलन छ ।
आशा छ यसपालाको दसै बडो रमाइलो भयो होला ।
प्रदोष व्रत
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: