मीन संक्रान्ति | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

मीन संक्रान्ति




मीन संक्रान्ति विशेष अडियो सामग्री

११ महिना बाँचेर आई सकियो
चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन संक्रान्ति को सँघारमा आई पुग्यौ है ।

संक्रान्ति

महिनाको प्रथम दिनलाई संक्रान्तिका रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने संक्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो संक्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक संक्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?

मीन संक्रान्ति

आजको दिन सूर्य कुम्भ या त मेष राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् ।

वर्षको अन्तिम संक्रान्ति अनेक शुभकामना ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.