ऋषि पञ्चमीको इतिहास
ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छ: प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।
शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगको ध्यानाकर्षण गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्ग बाट निष्कासित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाइलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ । नारीहरू भनेको माया र शक्तिका प्रतिमूर्तिहरू हुन र देवीहरू हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छ:
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
शक्तिका रूपमा सर्वव्यापी अनि जगमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन ।
आजका दिन के के गरिन्छ ?
आजको दिन नारीहरूले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी गुण युक्त वनस्पतिको प्रयोग गरेर बिहान आफ्नो नित्यकर्म सकाएपछि दाँत माँज्ने र चपाउने गर्दछन्, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन् । स्नान गरिसकेपछि पञ्च भाग्य अर्थात् दूध, दही, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाँडोमा राखिएको कुराको एक वा दुई थोपा सेवन गर्ने सनातन चलन पनि चली आएको छ ।
पञ्च भाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, आरती, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ । त्यसपश्चात् ब्राह्मणले रीतिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।
आजका दिन काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरूमा विशेष घूँइचो लाग्ने गर्दछ । यस दिन नारीहरूले आफ्नो सौभाग्यका सूचक सिन्दूर पोते अनि चुरा धागोहरू चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका कुराहरू जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।
महिलाहरूको रजस्वला र ऋषि पञ्चमी
आजको दिन रजस्वला हुन शुरु भइसकेका महिलाहरूले रजस्वला हुँदा आफूबाट केही गल्ती या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरूको शुद्धाशुद्धि कालागि पूजा अर्चना गर्ने दिन हो । मानव सृष्टि नारीहरूविना सम्भव छैन र हामीले रजस्वलालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोचले हेरे पनि सृष्टिको प्रथम र पुण्य गुणनै नारीहरूको रजस्वला हो । रजस्वला नारीहरूको गर्भाधान गर्न सक्ने क्षमताको प्रतीक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास । नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छ: प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।
शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगको ध्यानाकर्षण गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्ग बाट निष्कासित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाइलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ ।
वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानिक चाडहरूमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्युवरण गरेका नमिठा खबरहरू सुन्न नपरोस्, यस जगले रजस्वलाको महत्त्व चाल पाओस् ।
सप्तऋषिहरुको कृपा सदैव रहोस्, सबै जना सुखी होउन्, सबैको जय होस्
मङ्गल चौथी व्रत
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
मङ्गल चौथी पूजा विधि
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु, दुबो, आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजनका लागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: