विश्व नेवा: दिवस | Hamro Patro

ब्लग - साहित्य / चाडपर्व तथा दिन विशेष सामग्रीहरू

विश्व नेवा: दिवस





मार्च महिनाको अन्तिम शनिवार
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।

सातौं नेवा: दिवस
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवा: दिवस’ का रूपमा मनाउन थालिएको हो । विश्वमा छरिएर रहेको नेवार समुदायको छाता संगठन हलिं नेवाः दबू (वर्ल्ड नेवा: अर्गनाइजेसन)ले विश्व नेवा: दिवस मनाउने भएको छ । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले ऐतिहासिक पाटन संग्रहालय, केशव नारायण चोक बिहानको ८:३० बजे विशेष कार्यक्रम गर्दछ भने विश्वभरि छरिएका नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्दछन् ।

वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टर
यो वर्षको नेवा: दिवस मनाउने सन्दर्भमा विश्व भरि छरिएर रहेको नेवाः सरोकारका सम्बन्धमा निरन्तर क्रियाशील हलिं नेवाः दबू अन्तर्गत अन्तर्गत नेपाल च्याप्टरले शनिवार ऐतिहासिक पाटन संग्रहालय, केशव नारायण चोकमा यो दिवस मनाउन लागेको हो । वर्ल्ड नेवा: अर्गनिजेशनका नेपाल च्याप्टरले औपचारिक कार्यक्रम गर्ने जनाएको छ ।

विश्व नेवा संगठनको आधिकारिक बेवसाइट
https://www.worldnewah.org/

यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।

यी चाडपर्वहरूमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा तथा संस्कृतिबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ । त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, संचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।

क्यालिजात्रा फाउण्डेसनले विश्व नेवा दिवसको दिन जनबहाल, काठमाडौं, नेपालमा रञ्जना लिपि कार्यशाला कार्यक्रमको आयोजना गर्ने भएको छ । 

पहिलो विश्व नेपालभाषा काव्य सम्मेलन
विश्व नेवा सङ्गठनले यस वर्ष ३० मार्च २०२४ देखि चार शनिबारसम्म "पहिलो विश्व नेपालभाषा काव्य सम्मेलन" गरी यो दिवस मनाउँदै छ जसमा दुर्गालाल श्रेष्ठ, नर्मदेश्वर प्रधान,  प्रतिसारा सायमी, भूषण श्रेष्ठ र स्नेहा सायमी लगायत विश्वभरका ५७ ख्यातिप्राप्त तथा उदयमान कविहरूले आफ्ना रचनाहरू अनलाइन वाचन गर्नेछन् । 

विश्व नेवा गान
यस वर्ष पनि विश्वभरका ५० कलाकार र सामाजिक अभियन्ताहरू मिलेर विश्व नेवा गान सुरु गरेका छन् । लोककवि राजभाई जकामीको लेखन तथा जुगल डंगोलको संगीत रहेको, डब्लुएनओ अध्यक्ष संयुक्त श्रेष्ठको परिकल्पनामा तयार पारिएको प्रेरणादायी गीतलाई नेवार समुदायका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, आशिष्मा नकर्मी, भिन्टुना जोशी, यमन श्रेष्ठ, गणेश लगायतले गाउने छन् । राम लच्छी, दयारत्न शाक्य, बालगोपाल श्रेष्ठ, ऋतु श्रेष्ठ, रुक्मणी मानन्धर, केशरमान ताम्राकार, समिर महर्जन, मनोहर श्रेष्ठ, महिन्द्रा प्रधान लगायतको सहभागिता रहेको थियो ।

नेपाल बाहिर नेवा: दिवस
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथिनखः, सापारु, पाहांचःह्रे, यःमरि पुन्हि, म्ह: पूजा आदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।

सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसै गरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानडा, बेलायत, हङकङ, अस्ट्रेलिया, यूएइ, पोर्टुगललगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदै छ ।

नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.