केनेडीले गरेका उपभोक्ताका चार अधिकारका घोषणा
आजभन्दा लगभग ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए। यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ। केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो। संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन पनि जारी गरेका छन् । राष्ट्रहरूले कानुन जारी गरे पनि उपभोक्ता अधिकारका अन्तर्निहित आधारभूत चार सिद्धान्तमा हामी प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो।
वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ किनभने समस्त माग र पूर्तिको श्रृखला अनि बजार संयन्त्र नै उपभोक्ताको रुचि र क्रय शक्तिमा नै निर्भर रहन्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ भन्ने आजको दिनले पैरवी गर्दछ ।
सन् २०२४ को नारा
'Fair and responsible AI for consumers' विश्व उपभोक्ता अधिकार दिवस २०२४ को विषयवस्तु अनुरुपको नाराका रूपमा उपभोक्ताहरूका लागि निष्पक्ष र जिम्मेवार एआईु भन्ने नारा चयन गरिएको हो । डिजीटल बजारमा उपभोक्ताको अधिकार संरक्षणार्थ यस वर्ष बिशेष पैरवी गरिएको पाइएको छ ।
उपभोक्ता जागरूकता र अधिकार सँगै जोडेर यस वर्ष वा विश्व समुदायले स्वच्छ ऊर्जाको पनि पैरवी गर्न थालेको छ । दीर्घकालीन विकास योजना सँग रणनीतिक रूपमा जोडेर उपभोक्ता अधिकार र स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै लैजाने कदमप्रति समर्थन अनि शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: