भाइटीका | किजा पूजा | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

भाइटीका | किजा पूजा




भाइटीका विशेष अडियो सामग्री

भाइटीकाको उत्तम साइत ११ बजेर ०२ मिनेटमा रहेको छ ।

विहान सबेरैदेखि घर-घरमा चहलपहल शुरु भइसक्यो होला, दिदीबहिनीहरु दाजूभाइलाई टिका लगाउन माईती पुगिसक्नुभयो होला भने कतिजना दाजुभाई आउने प्रतिक्षा र हर्षमा टिका लगाउने चाँजोपाँजो पो मिलाउँदै हुनुन्छ कि ?
हिजोसम्म त बजारहरु नै फुल र मालाले पहेंलपुर थिए, किनमेल भयो त ?

सप्तरङ्गी टिकाहरु, कहिल्यै नओईलाउने मखमली अथवा सुपारी फूलको माला, सेलरोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरीवल, छोहडा, मिठार्इ, मरमसाला लगायतका खानेकुराहरुसहित आज दिदीवहिनीले दाजूभाइको पूजागर्ने चलन छ ।

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । ति चेलीले यमदूतलाई टिकाटालो नसकुन्जेलसम्म पर्खिन भन्छिन र टिकाटालोका क्रममा यमदुतलाई पनि सँगै राखेर टिकाटालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदुतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजूलाई नलग्नु भनेर वरदान माँगेर बचाएको अर्थात् चेलीको मायाले दाजभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।

यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।

दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरु दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँर्इमा चकटि अोछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलार्इ भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ ।

शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टि लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरु सप्तरङ्गी हुन्छन्, दिदीवहिनी नभएकाहरुले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।

आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आज भेटघाट हुँदैछ । आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ । भातृत्व अनि आत्मियताको आजको दिन साँच्चैनै अत्यन्त महत्वपूर्ण र रमाईलो हुन्छ । यस महान पर्व तिहारको अाज पाँचौ दिन यमपञ्चकको औपचारीक अन्त्य हुँदैछ । दशैंलाई विस्तारै विदा गरेर तिहारको रमाईलोमा लुटपुटिदै गर्दा तिहारको झटपट विदार्इले साह्रै नरमाईलो पनि हुन्छ । पर्वीय विदाहरू सक्किएर अब विद्यालयहरू सूचारु हुन्छ, कार्यलयमा पनि नियमित दैनिकीका कामकाजले अाफ्नो गति लिनथाल्दछ । हिउँदका छोटा दिनहरु हुर्किंदै गएर न्यानो कपडा अनि तातो खानपान समेत प्राथमिकतामा पर्न थाल्दछ

काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम अनि सहभाव गहिरिँदै जाओस् ।

किजा पूजा


विभिन्न माैलिक चाडवाड, सभ्यता तथा संस्कारका धनी नेवाः समूदायले पनि काग तिहार र कुकुर तिहार मनाएतापनि मूल रुपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रुपमा मनाउँदै आएको कारणले नै स्वन्ति नखः भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखः भनेको चाँड पर्व हो ।

कृषी प्रधान नेवा समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब-किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरिरलाई पुजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडी बढ्नकालागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरि मण्डप लेख्ने गरिन्छ । विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा 'जाकि सिन्ह' भनिन्छि । नेवार समूदायमा म्ह पुजाकै दिनमा जस्तै पुजा आजादेखि साैगन दिने चलन रहेको छ ।

पञ्चतत्वको सौगन दिनेदेखि पुजा गर्ने र आफ्नो भाईको दीर्घायूको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदिबहिनीबिचको आत्मियताकालागि नेवा समूदायमा तिहार प्रसिद्ध छ । यस वर्षको तिहार र किजा पूजाको रौनकमा केहि कमी नहोला तर कोरोना स्वास्थ जोखिमका कारणले धेरै यात्रा अनि भेटघाटहरु आगामी वर्षका लागि थाती राखिने भनें पक्का छ । माया बढोस्, संक्रमण घटोस् अनि मुस्कान कायम होस् ।

सबैको मङ्गल होस्, शुभकामना !

हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार गर्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.