Hamro Guru Nanak | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

गुरु नानक जयन्ती | चर्तुमास र कार्तिक स्नान समापन




गुरु नानक जयन्ती विशेष अडियो सामाग्री

आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ मनाउने गर्दछन् ।

संसारमा धेरै धर्म अनि धार्मिक मार्गहरु छन्, सम्पूर्ण धर्म अनि मार्ग लगायत धर्मका प्रवक्ताले सिकाउने ज्ञान र दिने दिब्योपदेश एउटै छ, माया, सद्भाव, सत्यता अनि अहिंसाको मार्ग ।

कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई 'असा दि भार' भनिन्छ । यस्ता भेलाहरुलाई 'अमृत भेला' भनिन्छ र 'अमृत भेला' पछी 'लगांरु' अर्थात नि:शुल्क सामूदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलाई त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ 'गुरु ग्रन्थ साहिब'को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई 'अखण्डपथु' भनिन्छ ।

यसैक्रममा गुरुपर्वको एकदिनअघि नगर किर्तन गर्ने चलन छ जसमा विभिन्न सांस्कृतीक झाँकीहरु निकालिने गरिन्छ । जसमा गुरुग्रन्थ साहिबको झुलुवा (पालकी) बोकेर भजन किर्तन गर्दै नगर परिक्रमा गरिन्छ । यस्तो झाँकीहरुमा सिख समूदायको परम्परागत हतियारहरु जस्तैः भाला, तरवारहरु, पञ्जाबि फलामे चक्कु आदिको प्रदर्शन र त्यससंग सम्बन्धित आत्मरक्षामा आधारीत पारम्परीक खेल देखाइने गरिन्छ ।

रात्रिकालिन भजनकिर्तनलाई 'रहरास साहिब पाठ' भनिन्छ । भारतको पञ्जाव, हरियाणा, चन्दिगढ लगायतका ठाँउमा अत्यन्तै उत्साह र उत्सर्गकासाथ यो विशेष दिन मनाइन्छ भने संसारका हरेक कुना कन्दरामा रहेका शिख समूदायहरुले आजको दिनलाई हर्षका साथ मनाउने गरेकाछन् ।

नेपालमा पनि धेरै ठाँउमा गुरुद्वारा रहेकाछन्, ति सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ । काठमाण्डौको कुपण्डोलमा पनि गुरुद्वारा रहेको छ, आजको दिन त्यहाँ भेलाभएका शिख लगायत अन्य धर्म र सम्प्रदायका मान्छेहरुको पनि उत्साहजनक संलग्नता सहभागीता देख्न पाइन्छ ।

यस संसारलाई अझै धेरै गुरु नानकहरु जस्ता महान गुरुहरु र महान वचनको खाँचो छ, सत्यमार्ग अवलम्वनगर्ने धैर्यता अनि भक्तिमार्गप्रतिको अटल आशा सदासर्वदा कायम होस् । सम्पूर्ण शिख समूदायमा यस विशेष दिनको शुभकामना । सबैको जय होस् ।

चर्तुमास र कार्तिक स्नान समापन


कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चर्तुमास समापन गरिने चलन छ । चतर्समासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास भएकाले चर्तुमासभरि शुभकार्यहरु गरिँदैन, यस अवधिमा भगवान विष्णु क्षीर सागरमा सुत्नुहुने भएकाले ४ महिना अवधिमा शुभ मंगल कार्यहरु रोकिएका थिए । आजवाट शुभकार्यका लर्कोहरु शुरु गर्न सकिनेछ ।

यो पूर्णिमा पछि तिथिगत रुपमा मसिंर लाग्यो, अब बिवाह व्रतबन्धका साइतहरु धमाधम जुराइन्छ । कार्तिक महिनालाई भगवान विष्णुको प्यारो महिना मानिन्छ, अन्य वर्षहरु झैं हुनेभए यस दिन काठमाण्डौ वरिपरिका चारै नारायणहरुमा र नेपाल भरिका सबै नारायण मन्दिरमा ठूलो मेला लाग्नेथियो तर यस वर्ष कोरोना संक्रमणले चाडपर्वहरुलाई संकुचित बनाइदिएको छ ।

चर्तुमासका कारणले रोकिएका बिवाह, व्रतबन्धहरु अनि ठूला पूजाआजाहरु सुचारु हुन्, मंगल छाओस्, भित्राइएका धानहरुमा किरा नलागोस् अनि भकारीमा मुसा नछिरोस् ।

चर्तुमास संगसंगै आजवाट कार्तिक स्नान पनि समापन भएको छ । वडादशैंको समापनसंगै शुरु भएको कार्तिक स्नान आजवाट समापन भएको हो । आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरेर राती जाग्राम बसेसँगै औपचारीक रुपमा बडा दशैंको समापन भएको थियो र आज वाट कार्तिक स्नान पनि सकिएको हो ।

हिँउद शुरु भयो, तापक्रमहरुले साथ दिन छाडेको छ, शीतहरुले बिहान धर्तिलाई छपक्कै भिजाउन थालेका छन् । कोरोना संक्रमणको त्रास चिसो संगै झनै सक्रिय हुनसक्ने भएकाले हामी सबै सजग बसौं, सुरक्षित रहौं । चाडपर्व र रिितथितीका लागि हाम्रो पात्रो हेर्दै गर्नुहोला है ।
-----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.