कुष्माण्ड नवमी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

कुष्माण्ड नवमी व्रत





आज का​र्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । आजको दिन अमलाको अतिरिक्त भगवान विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।

हेटौँडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा कुष्माण्ड नवमीको भव्य मेला लाग्ने गर्दछ । यहाँको मेलामा १०८ धारामा स्नान, कुभिन्डो दान, हवन, भजन कीर्तन लगायतका कार्यक्रमहरू हुने गर्दछ । त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, एकसय आठ गौमुखी धारा, कुष्माण्ड भगवतीबीच सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा आदि रहेको छ । काठमाडौंको नारनथान, भक्तपुरको चाँगुनारायण लगायत सबै विष्णु / नारायण मन्दिरमा समेत भक्तहरू तथा दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।

आज कै दिन विष्णु भगवानले कुष्माण्डक नामक दैत्यलाई वध गरेको र त्यसको रौंबाट कुष्माण्ड अर्थात् कुविण्डोको लहरा निस्केको र त्यसै कारणले आजको दिन कुष्माण्ड अर्थात् कुविण्डो दान गर्नाले उत्तम फल मिल्ने विश्वास गरिन्छ । आजकै दिनलाई युग परिवर्तन भएको दिनपनि मानिन्छ । आजकै दिन बिशेष गरेर व्रत तथा उपासना बसि ब्राह्मणलाई दक्षिणासहित कुविण्डो दान गर्ने प्रचलन रहेको छ । आजको दिन कुविण्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरेको पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ । आजकै दिन अमलाको फेदमा बसेर बनभोज या प्रसाद बनाएर खाने प्रथापनि चली आएको छ । आजकाल खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुग्ने गर्छन् । आजको दिनमा अमला सेवन गर्नु अमृतसमान हुने विश्वास गरिन्छ ।

अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेलो धागोले अमलाको रूखको परिक्रमा गरिन्छ । १०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ । अमला तथा विष्णु भगवानको पूजा-अर्चना गरिसकेपछि खीर, पुरी, तरकारी र मिठाई आदिको भोग लगाईन्छ । कसै कसैले अमलाको पूजन पश्चात अमलाको छाहरिमा ब्राह्मण भोजपनि गराउने गर्दछन् । अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नम:’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण समेत दिन सकिन्छ ।

अत: वैज्ञानिक तथा आयुर्वेदिक दृष्टीलेपनि निकै महत्त्व बोकेको अमला तथा कुविण्डोको संबर्धन र प्रयोग गरेर सबैजना लाभान्वित हुन सकौं, समय र परिस्थितिलाई मध्यानजर गर्दै चाडपर्व मनाऔं । अस्तु ।।
-नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.