अन्तर्राष्ट्रिय नारी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय नारी दिवस




अन्तर्राष्ट्रिय नारी दिवस विशेष अडियो सामग्री

नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी

मार्च–८ को नारी दिवस मनाइरहँदा हामी नारी र पुरुष–दुबैलाई शुभकामना दिन चाहन्छौं । आजको दिनले लैगिंक समानताको व्यापक पैरवी गर्छ । आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँछ ।

नेपालमा यो वर्ष पनि निर्मलाले न्याय पाइनन् । बरु भागरथीको अर्को काण्ड घट्यो । सुनिएका र मौन अन्य अनेकन घटना दोहोरिने र तेहरिने क्रम जारी छ । कोभिड–१९ पछिको लकडाउनमा विकसित देशहरुदेखि विकासोन्मुख देशहरु दुबैमा नारीमाथि हिंसा र अपमान अत्यधिक बढेको पाइएको थियो । उता बढ्दो ‘डिजिटल’ थलोहरुमा पनि नारीविरुद्ध ‘साइबर क्राइम’को अर्को लर्को थपिएको छ ।

यसैकारणले पनि सन् २०२१ को नारी दिवसको नारा नै Choose to Challenge अर्थात् ‘चुनौती छान या चुनौती स्वीकार गर’ भन्ने लाग्छ ।

आउनुहोस् आज संसार अनि समाजको कुरा गरौं । अनि कुरा गरौं समाजको अनि संसारको पनि । साथै यो समाजका केही अपरिहार्य शक्तिको, नारी शक्तिको । आमाको काख, दिदी–बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारीपात्र अनि यिनको प्रगाढ मायाको पछ्यौरी भित्र नै एउटा पुरुषको जीवनका अवयव चलायमान हुन्छन् । आज तिनै नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

आजका दिन संसारभरि अनेक कार्यक्रम गरी सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयाममा नारीहरुको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ । अति विकसित भनिएका देशहरु पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपाल पनि यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चाल्ने क्रममा छ । मुलुकको सबभन्दा उच्च पद राष्ट्रपति पनि महिला नै आसिन भएको हामीले देख्न पाएका छौं । केही वर्ष अघि त झन् प्रधानन्यायाधीश र सभामुख पनि महिला नै थिए । संसद र शासकीय संरचनामा पनि महिला उपस्थिति बढ्दो छ । यद्यपि यो पर्याप्त भने होइन ।

आज संसारले यसअर्थमा नारी दिवसको यो दिन नेपालीले राष्ट्रको महत्वपूर्ण नेतृत्व तहमा मातृत्वलाई गरेको छनौटलाई बेवास्ता गर्न सक्दैन । तर पनि कमजोर कानुनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिकजसोका समाचारमा महिला हिंसाका कैंयन घटना सार्वजनिक हुन्छन् । कति कानुनी उपचारको बाटोमा लाग्छन् भने कति घटना समाजका अनेक मुखौटाबीच लुकाइन्छ, दबाइन्छ ।

व्याप्त अतिवादी सोच र संकीर्ण संस्कारजन्य चिन्तनबाट समाज यति ग्रस्त छ कि २१ औं शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ । जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छन्, जब एउटी निरिह महिला कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । पुरानो उखान छ, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’... अर्थात्, ‘जहाँ नारी पुजिन्छिन्, त्यहाँ देवता रम्दछन्’ । तर लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ... । ‘सतीले सरापेको देश’को दाग त्यतिकै भएको होइन, लाखौं सामाजिक संकीर्णताका शिकार महिलाहरूको आशु नै हो जो कुनै अर्को कारणले बगेकै, धेरै कारणले समस्या यथावतै छ ।

विश्व परिप्रेक्ष्यको कुरा गर्दा आमा दिवस या भ्यालेन्टाइन दिवसजस्ता विशेष दिवसहरुमा मानिसहरुले आफ्ना आमा या मायालुलाई स–सम्मान स्नेह व्यक्त गर्ने गर्छन् । तर आज भने त्यस्ता सम्पूर्ण नारीमय दिवसहरुको समायोजन हो । आउनुहोस् एकफेर संकल्प अनि संझना गरौं, ती नारी पात्रहरुलाई जसले हाम्रो जीवनमा स्नेह अनि ममताको वर्षा गरेका छन् । ती सबैप्रति एकफेर कृतज्ञ बनौं अनि सदासर्वदा उनीहरुलाई सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौं । संसारभरिका मान्छेले वैजनी रंगको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताका लागि ऐक्यबद्धता जनाउँछन् ।

यस पटकको नारी दिवसमा संघ–संस्थाहरु, सामाजिक अभियन्ताहरूले ‘परिवर्तनका लागि खरो भएर उत्रिऔं, अनि अझ समावेशी अनि लैङ्गिक समानतासहितको कार्य वातावरणका लागि’ भनेर पैरवी गरेका छन् । एकफेर सोचौं, हामीले हाम्रा दिदी–बहिनीहरुका लागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ ?...., चाहे हामी महिला हौं या पुरुष, नारी समानताका लागि हाम्रो भूमिका उत्तिकै महत्वपूर्ण छ ।

सडकदेखि सदनसम्म नारी मैत्री स्वरहरु गुञ्जियोस् । फेरि नारी समानता भनेको नारी र पुरुषहरु बीचको टक्कर वा द्वन्द्व ठान्नु हुन्न । हाम्रा सामाजिक संरचनाले तोकिदिएको महिला–पुरूषबीचको विरोधाभासपूर्ण परिधि, सीमा अनि समानतामा विद्यमान दूरीलाई चिर्न नयाँ पुस्ताले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

एक–अर्काका विविधतासहितका गुणहरूको सम्मानसाथ आत्मसात् गरौं । समानतालाई सहकार्यमा रुपान्तरण गरौं । देवी, कुमारी, पञ्चकन्या स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै हो । यो क्रम केवल चाडबाडमा मात्र सीमित सीमित राखिनुहुन्न । हाम्रो सम्पूर्ण व्यवहारमै समानता परिणत गर्नुपर्छ । नारीहरु आमा रूपका जीवित देवी हुन् । यो प्रकृतिको अनि समाज–चक्रको एउटा महत्वपूर्ण कारण हो । सुन्दरता अनि समानता दुबैको समानान्तर लहरहरु बढ्दै जाऊन्, तमाम आमा, हजूरआमा, दिदी–बहिनी समग्रमा नारी–स्वरूपलाई शुभकामना ।
‘नारी पुरुष सरोबरी, सँधैभरि बरोबरी’
––––
हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार आलेख ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.