पापबाट मुक्ति निम्ति : पापमोचनी एकादशी
चन्द्रमासमा दुई पक्षहरु हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्लपक्षमा पर्ने एकादशीहरुमा सनातन भक्तजनले हरिको आरधना गर्छन् । श्रीहरिलाई जगतका पालनहार, श्रृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरुका रुपमा सर्वव्यापी शक्तिका रुपमा बुझ्न सकिन्छ । यी सर्वशक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर श्रृष्टिको साना–साना अवयवदेखि ठूला–ठूला खटनसम्मका तत्वका रुपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरुको अस्तित्व अनि आत्मा तत्वको परमात्मा तत्वद्वारा संरक्षण यिनै हरिरुपी शक्तिले गरिएको मानिन्छ ।
चैत्र कृष्णपक्षको एकादशीको महत्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रुपमा चिनिन्छ । यो एकादशीको महत्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ ।
हरेक वर्षका एकादशीका शृंखलाहरुलाई पापमोचनी एकादशीले पूर्ण पारिदिन्छ । वर्षको अन्तिम एकादशीका रुपमा यो एकादशीलाई लिइन्छ । यस एकादशीमा श्रीहरिको चर्तुभुज रुपको आव्हान गरिन्छ । चर्तुभुज स्वरुपको थोरै व्याख्या गर्न चाँहे, यो स्वरुपलाई श्रीहरिको विराट स्वरुपका रुपमा पनि लिन सकिन्छ । यस स्वरुपका श्रीहरि भित्र नै समग्र ब्रह्माण्ड समाहित भएको हुन्छ । महाभारतमा श्रीहरि स्वरुपका कृष्णले अर्जुनलाई यसै स्वरुपको दर्शन दिएका थिए ।
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरुपको व्याख्या गरिएको छ । दिव्यचक्षु अर्थात् दिव्य र ध्यानालीन नजरले यस स्वरुपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खालेर यसै स्वरुपको प्रतिविम्वका रुपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यसबखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरुपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ ।
चर्तुभुजमा शंख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शंखले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सार्मथ्य अनि कमलको पुष्पले श्रृष्टिको कारकलाई उदघोष गर्छ । पापमोचनी एकादशीमा यिनै चर्तुभुज स्वरुपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
पुराण लगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामथ्र्य राखेको हुन्छ । हिन्दू धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरुले कुनै न कुनै पाप जानजान वा अन्जानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ ।
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसंग उल्लेख गरिएको छ । कथा प्रसंग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरुबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्वबारे उल्लेख गर्नुभएको छ ।
कथा अनुसार चैत्ररथ वनमा च्यवन नाम गरेका ऋषिमुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरामोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरुलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै बिमुख भए । आफ्नो तपस्या भंग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरुप मेधावी ऋषि आफैंले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सबिस्तार बताईदिए ।
कामयोग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैं पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसंग अनुसार पापमोचिनी एकादशी व्रतको महत्व अझ पनि उत्तिकै छ ।
हार्दिक शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: