अचला सप्तमी | सुरक्षित इन्टरनेट दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अचला सप्तमी | सुरक्षित इन्टरनेट दिवस





हिउँद ओरालो लाग्दैछ, सूर्य नारायण उत्तरायण गतिमा गइसकेका छन् । उत्तरायण सुरु भइसकेपछि सूर्यको ऊर्जा र तेज ग्रहण गर्नका लागि धेरै विधान गरिन्छ । यिनै विधिहरू गरिने तिथिहरू मध्य अचला सप्तमी अर्थात् रथ सप्तमी र आरोग्य सप्तमीको विशेष महत्त्व रहन्छ ।

माघ शुक्ल पक्षको सप्तमी तिथिमा पर्ने यस दिनलाई भगवान् सूर्यको पनि जन्म तिथिका रूपमा विश्वास गरिन्छ । यस दिन व्रत बस्ने र पूजा अर्चना गरेमा आरोग्य प्राप्त हुने, सन्तान सुख प्राप्त हुने र सकारात्मक ऊर्जा मिल्ने बताइन्छ ।

भगवान् सूर्यको सातै वटा घोडाहरू यस दिन वाट वहाँलाई विराजमान गराएर वर्ष दिन भरि चल्न सुरु गर्ने विश्वास गरिन्छ, यस कारणले पनि आजको तिथिलाई रथ सप्तमी भनिएको हुन सक्दछ ।

आजको विशेष तिथिको सबैमा हार्दिक शुभकामना ।

सुरक्षित इन्टरनेट दिवस


सन् २०२२ को सुरक्षित इन्टरनेट दिवसमा स्वागत छ । यस वर्षको सुरक्षित इन्टरनेट दिवसको परिवृत्त अत्यन्त फराकिलो मात्र नभई यस दिवसको महत्त्व पनि झनै बढेर गएको छ ।

कोरोना त्रासपछि विश्व मानचित्रमा मानवीय आवागमन र भौतिक भेटघाट क्रमशः सामान्य हुँदै गर्दा फेरि ओमीक्रोन त्रासले अस्तव्यस्त बनाएको छ । यस क्रममा झनै प्रविधि र विशेषतः इन्टरनेटको प्रयोग बढेर गएको छ । इन्टरनेटको जालोमा बसेर विश्व समुदायले पूर्णकालीन रूपमा नै सामान र सेवा क्रय विक्रय गरिरहँदा, अध्ययन अध्यापन इन्टरनेट मार्फत भइरहँदा, चिया पसलका गफहरू फेसबुक ग्रुप र जुममा सरिरहँदा आजको विश्वलाई सुरक्षित इन्टरनेटको जोडदार आवश्यकता छ ।

सन् २०२२ को ८ फेब्रुअरीमा सुरक्षित इन्टरनेट दिवसको १९ औँ संस्करण मनाइँदै छ । यस वर्षको थिम चाहिँ 'All fun and games? Exploring respect and relationships online' रहेको छ । खाली रमाइलो र खेलका लागि मात्र नभई आदर र समबन्धहरु को मूल्य र मान्यतालाई पनि इन्टरनेटमा कायम राख्न का लागि यस वर्ष आव्हान गरिएको छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइन्छ ।

युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् २०१९ देखि चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको आयोजना र प्रवर्धन गर्ने जिम्मेवारी पाएको छ।

थप जानकारीका लागि
https://www.childsafenet.org/sid-2020

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि हामीले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ । राम्रो इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ ।

बालबालिका तथा युवा वर्गका लागि अनलाइन सुरक्षा किन आवश्यक छ ?
आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । तीव्र प्रगति सँगसँगै यस क्रान्तिले आफ्नो साथमा असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । भारी मात्रामा प्रविधिको प्रयोग गर्न वर्गका रूपमा बालबालिका तथा युवा वर्ग ज्ञ पनि रहेका छन्। डिजिटल प्रविधिको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुर्व्यवहार एवं शोषण, साइबर बुलिङ्ग, फिसिङ्ग तथा सेक्स्टोर्सन जस्ता गम्भीर जोखिमहरूप्रति संवेदनशील बनाउँछ । यस्ता जोखिमहरूले बालबालिकाको मानसिक एवं बौद्धिक विकासलाई प्रभावित बनाउनुका साथै उनीहरूलाई हतोत्साहित बनाउने एवं उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न आवश्यक छ ।

साइबर सुरक्षा इन्टरनेटका सम्पूर्ण प्रयोगकर्ताहरूका लागि सान्दर्भिक विषयवस्तु भएकोले हाम्रा बालबालिका तथा युवा वर्गका लागि इन्टरनेटलाई सुरक्षित बनाउने सन्दर्भमा हामी सबै उत्तरदायी छौँ । त्यसैले राम्रो इन्टरनेटका लागि सामूहिक रूपमा सक्रिय बनौँ ।

सुरक्षित इन्टरनेट दिवसका उद्देश्यहरू
१। इन्टरनेटको सकारात्मक प्रयोग तथा सुरक्षित इन्टरनेट प्रवर्धन गर्ने
२। बालबालिका तथा युवा वर्गका लागि अनलाइन जोखिमहरू तथा त्यसबाट उनीहरूको सुरक्षाको लागि चेतना अभिवृद्धि गर्ने
३। बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबिच सामूहिक शक्ति विकास गर्ने
४। बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने

सुरक्षित इन्टरनेट दिवस मुख्यतया: अनलाइन, इलेकट्रोनिक तथा छापा सञ्चार माध्यममार्फत बालबालिका, युवा वर्ग, अभिभावकहरू तथा अन्य सरोकारवालाहरू एवं जिम्मेवारी व्यक्तिहरूको सहभागितामा राष्ट्रिय स्तरमा मनाइँदै छ । यसका अतिरिक्त विद्यालयहरू, कलेजहरू, स्थानीय सरकारहरू तथा सामाजिक कार्यकर्ताहरूको सहभागितामा काठमाडौँ उपत्यका तथा देशका अन्य भागहरूमा विभिन्न कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिनेछ ।

इन्टरनेटका सबै प्रयोगकर्ताहरूलाई यस दिवसको अर्थपूर्ण शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.