अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस




अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस विशेष अडियो सामग्री

भ्रष्टाचार समाजको कलंक हो, विकासको सबैभन्दा ठूलो बाधक हो । चाहे नेपालमा होस् या कुनै विकसित देशमा किन नहोस्, भ्रष्टाचारका कारण विकासका क्रम रोकिन्छन्, कुनै एक समुदाय वा पूरै देशको यात्रामा निकै अप्ठ्याराहरु व्यहोर्नु पर्छ । फेरि यसको प्रत्यक्ष असर आम नागरिकलाई पर्छ किनकि भ्रष्टाचार हुँदा नागरिकका अधिकार हनन हुन्छन्, उनीहरुले तिरेको राजश्व वा करमाथि खेलवाड गरिएको हुन्छ ।

विश्वमा आम सर्वसाधरणमा पनि भ्रष्टाचारविरुद्ध चेतना फैलिओस् भन्ने उद्देश्यका साथ आजको दिन अर्थात् ९ डिसेम्बरलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघको महासभाले ३१ अक्टोबर २००३ मा भ्रष्टाचारविरुद्ध दिवस मनाउने प्रस्तावलाई पारित गरेको हो ।

सन् २०२१ मा यो दिवसको मूख्य नारा सरकारी, गैरसरकारी, निजी, सामाजिकलगायतका सबै क्षेत्रको सहभागितामा भ्रष्टाचार उन्मूलन गर्ने एक्यबद्धता रहेको छ ।
हुन पनि कुनै पनि देशबाट भ्रष्टाचार उन्मूलन गर्नका लागि सरोकारवाला सबै निकायको उत्तिकै जिम्मेवारी हुन्छ । सबैभन्दा पहिले त कुनै पनि देशको नियम तथा कानुन भ्रष्टाचारमा शून्य सहनशीलता हुनु अत्यन्त आवश्यक छ । त्यसपछि सरकारी कर्मचारी तथा सेवाग्राही दुवैमा भ्रष्टाचार गर्नु हुँदैन भन्ने भावना, चाहना र इच्छाशक्तिको आवश्यकता देखिन्छ ।

नेपालजस्तो विकासोन्मुख देशमा भ्रष्टाचारका घटनाहरु झन् धेरै भइरहेका हुन्छन् । हामीले हाम्रो देशमा बारम्बार निकै महत्त्वपूर्ण कुराहरुमा पनि बिचौलियाको प्रवेश भएको, संकटमा पनि सत्तामा रहेका व्यक्तिहरुले वा उनीहरु निकटले फाइदा लिने हेतुले काम गरिरहेको समाचारमा पढिरहेका हुन्छौँ । यस्तो सोच र व्यवहार, परिपाटी र सत्ता सन्चालनको तौरतरिकाका कारण भ्रष्टाचार मौलाउँदै गएको मात्र होइन, यसले आवश्यक विकासलाई र समाजको प्रगतिलाई पनि रोकिरहेको हुन्छ ।

हो, भ्रष्टाचार रोकथामका लागि नेपालमा पनि अख्तियार अनुसन्धान दुरुपयोग आयोग बनेको छ । यो आयोगले निष्पक्ष भएर पूर्ण क्षमताका साथ काम गर्न पाएको खण्डमा र भ्रष्टाचारमा संलग्नहरुमाथि कारवाही हुन सकेमा देशमा व्यप्त भ्रष्टाचार कम हुँदै जानेमा विश्वास गर्न सकिन्छ ।

बिर्सनु हुँदैन भ्रष्टाचार भनेको पैसामा मात्र हुँदैन, कुनै पनि सार्वजनिक पदमा रहेको व्यक्तिले कानुनविपरित वा आफू अनुकूल पदीय दुरुपयोग गर्नु वा धारण गरेको पदलाई माध्यम बनाएर गलत काम गर्नु पनि भ्रष्टाचार गर्नु हो । मानिसहरुले सुखसयलमा बाँच्ने लालसामा भ्रष्टाचार गरिरहेको पाइन्छ, तर जीवनमा सबैभन्दा महत्त्वपूर्ण आर्थिक सफलता होइन, सामाजिक सम्मान हो भन्ने बिर्सनु हुँदैन ।

भ्रष्टाचार गर्ने व्यक्ति मात्र होइन, भ्रष्टाचार गर्न प्रोत्साहन गर्ने व्यक्ति पनि उत्तिकै कारवाहीको भागिदार हुनु जरुरी छ । जसले भ्रष्टाचार गर्न उत्प्रेरित गर्छ, उसले भ्रष्टाचार हुने क्रमलाई थप बढाइरहेको हुन्छ । त्यसैले हाम्रो देशको कानुनमा भएअनुसार भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कारवाही गर्नुपर्छ ।

पछिल्ला अध्ययनहरुले के देखाएका छन् भने सुविधाभोगी जीवनशैली, सुखसयल र भौतिक सम्पत्तिको आकर्षणका कारण भ्रष्टाचार मौलाउँदै गएको छ । तर, भ्रष्टाचार गरेर कमाएको सम्पत्ति टिकाउ हुँदैन भन्ने दृष्टान्त पनि हाम्रै अगाडि छन् ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा हाम्रो पात्रो परिवार हामी सबैले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने संकल्प बोकौँ भन्ने अनुरोध गर्दै, भ्रष्टाचारको अन्त्य छिटो होस् भन्ने कामना गर्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.