साल २०७८ को वरुथिनी एकादशीमा यहाँहरू सबैलाई स्वागत छ । कोभिड–१९ संक्रमण जोखिमले अधिकांश क्षेत्रहरू निषेधाज्ञा वा लकडाउन प्रकोपमा छ । अनि आफू पनि सुरक्षित रही सबैलाई सुरक्षित राख्नु हामी सबैको दायित्व भएको छ ।
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । शास्त्रअनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबैभन्दा उत्तम दान मानिन्छ । यी दानहरू भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानलाई महत्व दिइन्छ ।
सुन दान भन्दा अन्न दान र अन्नदान र कन्यादान भन्दा पनि अझ विशेष महत्व बोकेको यो बैशाख कृष्ण पक्षको एकादशी हो । वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन छ । वरुथिनी एकादशीको महिमा स्वयं भगवान श्री कृष्णले युधिष्ठिरको जिज्ञासा सुनेपछि बताउनु भएको हो ।
कुरुक्षेत्रमा सूर्य ग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता छ ।
यस एकादशीको ब्रत बस्न अघिल्लो दिन अर्थात् दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नुपर्छ भन्ने मान्यता छ । दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्छ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई व्रत बस्नुपर्छ ।
एउटा विदेशी स्वास्थ केन्द्रको अध्ययन अनुसार समय–समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धीसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितिहरू यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पुष्टि पनि गर्छ । एकादशी व्रतमा खानाको मात्र नियन्त्रण हैन । नकारात्मक सोच र तनावको पनि नियन्त्रण गर्दै परमात्मा हरिमा चित्त लगाउन जरुरी बताइन्छ ।
यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्युपछि सिँधै बैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: