ज्येष्ठ औँशीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्वपतिकी छोरी सावित्रीले जंगलमा बस्ने दृष्टिविहिन पिता दुमतसेनका पुत्र सत्यवान्लाई आफ्नो वर रोजेकी थिइन् ।
सत्यवान्सँग निस्वार्थ प्रेममा रहेकी सावित्रीले आफ्नो महलका सबै सुख त्याग गरी जंगलमा बस्न थालिन् । सत्यवान् दाउरा काट्ने क्रममा रुखमाथि घाइते भएपछि मृत्युका देवता यमराज सत्यवान्को प्राण हर्न आएका थिए । आफ्नो निस्वार्थ प्रेमको प्रभावमा सावित्रीले यमराजलाई पनि फिर्ता पठाउन सफल हुन्छिन् । सत्यवान्को जीवन रक्षार्थ सावित्रीले देखाएकी आशक्ति र आलाप दुवै आजसम्म पनि उदाहरणका रूपमा लिइन्छ ।
आशा छ, एकदिन यमराज र सावित्रीबीच भएको संवादलाई कुनै लेखकले शब्दमा उतार्नेछन् । कालिदासको मेघदूत झैँ यो कृति पनि युगान्तरसम्म रुचाइनेछ ।
यिनै सावित्रीको निस्वार्थ प्रेमको देष्टान्तलाई बटसावित्री व्रतका रूपमा हरेक वर्ष ज्येष्ठ औँशीमा सम्झना गरिन्छ । विवाहिता महिलाहरूले आजका दिन व्रत लिने चलन छ । पुरुषहरूले पनि आजका दिन आफ्नी पत्नीलाई उनीहरूको स्नेहका लागि धन्यवाद जनाउने चलन छ ।
यस वर्षको बटसावित्री व्रतको सबैलाई शुभकामना ।
कोभिड–१९ महामारीमा सुरक्षित रहनुहोला । सकुशल रहनुहोला ।
शनि जयन्ती
जय शनिदेव
ॐ शं शनैश्चराय नमः, ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः, ॐ भानुपुत्राय नमः, ॐ क्रूराय नमः, ॐ धनदाय नमः
ज्येष्ठ कृष्ण औँशीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । मानिन्छ कि यस दिन शनिदेवको पूजा एवं आराधना गर्नाले सम्पूर्ण शनिको ग्रहजन्य दुश्प्रभाव र अशुभफल नाश भई मनोवाञ्छित शुभफल मिल्ने शास्त्रीय कथन छ ।
जो जातक शनिको दुष्प्रभावले अनेकौं समस्या झेलिरहेका छन्, उनीहरूका लागि शनि जयन्ती कल्याणकारी अनि रामवाण सिद्ध हुन सक्छ । जसको जन्म कुन्डली, वर्ष कुन्डली, गोचरदशा, महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, सुक्ष्मप्रत्यान्तरदशा, अढैया, साढ़ेसाती आदिमा शनिको कुदृष्टि भई अप्रिय फल एवम् आफ्नो भाग्यमा रोकावटका साथै अनेकन समस्याहरूबाट पीडित हुनेहरूलाई शनि जयन्तीका दिन शनिदेवलाई प्रशन्न पार्न सके मनोवाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
को हुन् शनिदेव ?
शनिदेव भगवान् सूर्य र छाँयाको पुत्र हुन् । शनिलाई सौर्यमण्डलको सबैभन्दा टाढाको ग्रह र बृहस्पतिपछिको सबैभन्दा ठूलो ग्रह मानिन्छ । शनि तुला राशिमा उच्च र मेष राशिमा नीच हुन्छ । कुण्डलीमा तेस्रो, सातौँ र दशौँ स्थानमा शनिको पूर्णदृष्टि रहन्छ । बुध र शुक्र शनिका मित्रग्रह हुन् । बृहस्पति सम हो भने सूर्य, चन्द्र र मंगलग्रह शत्रु हुन् । शनि ग्रह वायु तत्व र पश्चिम दिशाका स्वामी हुन् ।
शनिको अधिदेवता प्रजापति र प्रत्यधिदेवता यम हो । शनिको वर्ण कृष्ण छ । शनिको शीरमा स्वर्ण–मुकुट र निलो वस्त्र धारण गर्नुभएको उहाँ गिद्दमा सवारी गर्नुहुन्छ ।
फलित ज्योतिषका अनुसार, शनिलाई अशुभ मानिन्छ । शनि नवग्रहमध्ये शनिको स्थान सातौँ हो । शनि एउटा राशिमा तीस महिनासम्म रहन्छ । शनिलाई मकर र कुम्भ राशिको स्वामी मानिन्छ । शनिको महादशा १९ वर्षसम्म रहन्छ । शनिको गुरूत्वाकर्षण शक्ति पृथ्वीभन्दा ९५ गुणा बढी हुन्छ । मानिन्छ कि गुरुत्व बलको कारण हाम्रो राम्रो र नराम्रो विचार चुम्बकीय शक्तिद्वारा शनिसम्म पुग्छ । जसको कृत्य कार्य अनुसार परिणाम पनि चाँडै मिल्छ । शनिलाई क्रूर ग्रहको संज्ञा दिइन्छ । जुन शनिलाई आफ्नो पत्नीको श्रापका कारण क्रूर बनेका हुन् । ।
आखिरमा शनिको दृष्टि किन यति क्रूर भयो त ? शनिको पत्नीको श्रापको प्रसंग ब्रह्म पुराण’का अनुसार, शनि सानैदेखि विष्णु भगवानका परमभक्त थिए । पछि उनको चित्ररथ नामक गन्धर्वकी छोरीसँग विवाह हुन पुग्यो । शनिकी पत्नी अत्यन्तै धार्मिक एवं पतिव्रता थिइन् ।
कुनै दिन रात्रिकालमा शनि पत्नीले आफ्नो पतिसँग ऋतुदानको इच्छा गरिन् । तर शनिदेव त्यतिबेला भगवान् विष्णुको ध्यानमा मग्न थिए । कामातुर पत्नीले धेरैबेर प्रतिक्षा गर्नुपर्यो । अनि आवेगमा रहेकी शनिकी श्रीमतीले आफ्ना पतिलाई श्राप दिइन् । पछि पश्चाताप पनि भयो । पत्नीको श्रापलाई प्रतिकार गर्ने सामथ्र्य शनिमा थिएन, उनकी पत्नी तपस्वी एवं पतिव्रता थिइन् । त्यसपछि शनिले यथासम्भव कसैलाई पनि दृष्टि नपरोस् भनेर टाउको निहुँर्याएर हिँड्न थालेको कथा वर्णित छ ।
शनिदेवलाई न्यायप्रिय राजा मानिन्छ । स्कन्दपुराणको काशीखण्डमा वर्णित कथाअनुसार, एक दिन सूर्य तथा छाँया पुत्र शनिले आफ्नो पिता सूर्यसँग प्रार्थना गरेर भने कि म यस्तो पद प्राप्त गर्न चाहन्छु सम्पूर्ण चराचरजगत् तथा नवग्रहहरूमध्ये सबैभन्दा शक्तिशाली एवं उच्च पद प्राप्त गर्न सकौँ । जुन पद कसैले पनि प्राप्त गर्न सकेका छैनन् । ‘हजुरको मण्डल भन्दा मेरो मण्डल सात गुणा ठूलो होस् । देवता, दानव, असुरादि कसैले पनि मेरो वेगको सामना गर्न नसकून् । मेरो शुभ दृष्टि जसलाई पर्छ, उसको कल्याण होस् र जसलाई क्रूर दृष्टि पर्छ उसको सर्वनाश होस् ।’
शनिले यस्तो भनेपछि छोराको यस्तो उद्देश्य सुनेर सूर्यदेवले काशीमा गएर भगवान महादेवको भक्ति एवं आराधना गर्न सल्लाह दिनुभयो । आफ्नो पिताको आज्ञा अनुसार शनिले काशीमा गई शिवजीको घोर तपस्या गरी शिवजीलाई प्रसन्न गरी नव ग्रहहरूमध्येको एउटा उच्च पद प्राप्त गर्नुभयो ।
त्यसै समयदेखि शनिलाई भगवान् शिवले नवग्रहको न्यायाधीशको काम पुम्पिनु भएको थियो । त्यसैकारण सम्पूर्ण जगत् शनिदेवसँग भयभित रहन्छन् । शनिदेवकी आफ्नै पत्नीकै श्रापको कारण जो कोहीमाथि शनिको दृष्टि अढैया, साढ़ेसाती, शनिको कुदृष्टि आदिको कारणले अप्रिय फल दिन वाध्य हुनुहुन्छ ।
शनिग्रहको कुदृष्टिले एउटा राजालाई रातारात रैती बनाउँछ भने शुभ दृष्टिले एउटा भिखारीलाई रातारात सम्पन्न र समृद्धिशाली बनाउने सामथ्र्य शनिमा हुन्छ । शनिकै दृष्टिदोषका कारण भगवान शिवजी, गणेश, राम, रावण, तथा पाण्डवहरू आदिले अनेकौं दुख, कष्ट झेल्नु परेको थियो भन्ने पौराणिक कथा छ ।
शनिजन्म जयन्तीको संदर्भ
शनिजन्म जयन्तीको सन्दर्भमा स्कन्दपुराणमा एउटा पौराणिक कथा छ, जसअनुसार शनि, सूर्यदेव र उनकी पत्नी छाँयाको पुत्र हुनुहुन्छ । सूर्यदेवको विवाह संज्ञासँग भयो । तर केही समयपश्चात् संज्ञाबाट तीन सन्तानको रूपमा मनु, यम र यमुनाको जन्म भयो । केही समय त संज्ञाले सूर्यको साथ जीवन निर्वाह गरिन् । तर केही समयपछि संज्ञाले सूर्यको तेज धेरै समयसम्म सहन गर्न सकिनन् । त्यसैकारण संज्ञाले आफ्नो बहिनी छायालाई पति सूर्यको सेवामा छोडेर त्यहाँबाट हिँडिन् ।
केही समयपछि छायाको गर्भबाट शनि देवको जन्म भयो । एक दिन जब सूर्यले शनिलाई कालो वर्णको देखेर आफ्नो पत्नी छाँयालाई आरोप लगाए कि ‘शनि मेरो छोरो हैन ।’ जब शनिलाई आफ्नो मातामाथि यस्तो आरोप लागेको थाहा पाए । आफ्ना पिता सूर्यसँग क्रोधित भए । यसैकारणले शनि र सूर्यमा वैरभावना रहन विश्वास गरिन्छ ।
आजको दिन हनुमनजीको आराधनाको पनि महत्व छ । रावणको योग बलबाट बन्दी शनिदेवलाई लंका दहनको समयमा हनुमानजीले बन्धन मुक्त गरिदिनु भएको थियो । त्यसै बन्धन मुक्त गरेको कारणले शनिदेवले हनुमानजीसँग वर मग्नु भन्दा हनुमानजीले भन्नुभयो, कलियुगमा जो कसैले पनि मेरो आराधना गर्छ भने उसलाई कहिले अशुभ फल नदिनु, कुदृष्टि नराख्नु भन्दा शनिदेवले यस्तै हुनेछ भन्नुभएको थियो । त्यसै समयदेखि जो व्यक्ति हनुमानजीको पूजा गर्छ । शनिदेव वचनबद्ध भएका कारण आफ्नो प्रकोप गरी शुभ–फल प्रदान गर्नुहुन्छ भन्ने कुरा लोकमा व्याप्त छ ।
आजको यस शनि जयन्तीको दिन आजको दिन फलाम, निलम, तेल, सिसा, तिल, मास एवम् कालो वस्तुहरूको अधिपति शनिदेव रहेकै कारण उपरोक्त वस्तुहरू असहायहरूलाई दान गर्नाले शनिदेव प्रसन्न हुने विश्वास गरिन्छ । यसका साथै यथा शक्ति एवम् भक्तिले शनिदेवको पुजा गरी, तिलको तेलमा बत्ती बाल्ने, निमुखा प्राणीलाई उद्धार गर्ने र आहार दिने साथै अशक्त एवम् असहायलाई भोजन र दान–दक्षिणा गर्नाले शनिजन्य ग्रह–पीडा कम भई शुभफल मिल्ने कुरा शास्त्रमा वर्णित छ ।
हार्दिक शुभकामना
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: