Hamro Patro Bhukampa Suraksha Diwas | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

राष्ट्रिय भूकम्प सुरक्षा दिवस





वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरु लिपिवद्ध छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजूरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेको छ यहि क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो ।

१९९० को भूकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभएपनि साराशंका रुपमा प्रस्तुत गर्न चाहन्छौ । यो कथा चाँही मेरी स्वर्गिय हजुरआमा गोमा देवी आाचार्यले मलाई सुनाउनु भएको हो ।

उक्त दिन अर्थात आजको मिती माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासी जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठूला-ठूला ढुङ्गाहरु झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरु त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यू भयो र भूकम्पले घाईते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनिहरुले माटो खाँदै गए ।

माटो खानु अर्थात मृत्यू हुनु, उतिबेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यू भयो ! धेरै त्यस्ता नदिनाला अनि खहरे खोलाहरुले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर आए । राणा शासनकालमा भएको त्यो प्राकृतीक अत्याचारको अनि क्षतीको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाईन्छ ।

भूकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलाई रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प आएपछि हामीहरुले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारीक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन् । वास्तवमा समय र परिस्थितीपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी छ ।

२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भूकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन आवश्यक छ ।

भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धासुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरुले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकून जसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य आवश्यक छ । भूँईचालोले हल्लाएका सांस्कृतीक सम्पदाको जग अनि गार्ह्राहरु पुनः ठडिन जरुरी छ । ९० सालको भूँईचालोले टुक्राएको धरहरालाई ७२ सालको भूँईचालोले क्षणभरमै धूलो बनाइदियो, यी इतिहासहरु नमरुन् ।

भुकम्पका हिसाबले नेपाल जोखिममा छ, पर्वत श्रृखलाहरु बनिनुको मुख्य कारण नै टेक्टोनिक प्लेट्सहरुको चलायमानता हो । नेपाली पर्वतश्रृखलाहरुमा भेटिएका शालिग्राम र अन्य समुन्द्री जीवहरुको अवशेषले त्यस ठाँउमा हजारौं वर्षअघि समुन्द्र रहेको प्रमाणित गरेको छ । उक्त ठाँउमा तेथिस सागर रहेको र हजारौं वर्षमा टेक्टोनिक प्लेटहरुको चलायमानताले गर्दा पर्वतश्रृखला बनेंको पुष्टि भएको हो । यस भौगोलीक अवस्थाका कारणले गर्दा नेपाल सदैव भुकम्पकीय जोखिममा रहेको छ ।

भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरु आउने पुस्तालाई उपहार दिन पाईयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर भई रहून् ।
----
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.