अन्तर्राष्ट्रिय बाल दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय बाल दिवस




अन्तर्राष्ट्रिय बाल दिवस विशेष अडियो सामग्री

हामीले सानैदेखि सुन्दै आएका छौँ, बालबालिका भविष्यका कर्णाधार हुन् । निर्दोष आँखा, मनमोहक अनुहार र वाचाल ओठहरु बालबालिकाको भौतिक आवरणलाई परिभाषित गर्न पनि हामीले बारम्बार प्रयोग गरिरहेका हुनसक्छौँ ।

तर, यो सबै हाम्रो वरपरको मात्र तस्वीर हो । के सिरियाका बालबालिका पनि विद्यालय जान पाएका होलान्  । के इथियोपियाका बालबालिकाको पेट पनि सधैं भरिएकै होला  । के अफगानिस्तानमा पनि बालबालिकाले ती सबै अधिकार पाएका होलान् जो हामीले कल्पना गरिरहेका हुन्छौँ  ।

हामीले सानो हुँदा वा अहिले पनि सोचिरहेका हुन्छौँ, केही सुविधाहरुबारे, केही अधिकारहरुबारे र केही चाहनाहरुबारे । के विश्वभर बालबालिकाको पहुँचमा हाम्रा कल्पनाका यी विषयहरु होलान् । यस्ता दर्जनौँ प्रश्नहरु हुनसक्छन् । कामना गरौँ, कुनै दिन विश्वभर यस्ता क्रुर लाग्ने प्रश्नहरु जन्मन नपर्ने दिन आओस् ।

त, आज कुरा गरौँ, अन्तर्राष्ट्रिय बाल दिवसबारे ।

सबैभन्दा पहिले यो किन र कहिलेदेखि मनाउन थालियो भन्ने प्रसंगमा जाऔँ ।

अन्तर्राष्ट्रिय बाल दिवस सन् १९५४ मा स्थापना भएको थियो । त्यति बेला यसलाई विश्व बाल दिवस भन्ने गरिन्थ्यो । त्यति बेला देखि नै अन्तर्राष्ट्रिय बाल दिवस २० नोभेम्बरमा मनाउन थालिएको हो । विश्वभरका बालबालिकाको उत्थान, कल्याण र जीवनशैलीमा सुधारका लागि यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् १९५९ को नोभेम्बर २० मा पहिलो पटक बालअधिकारको घोषणा गरेकाले यो दिनलाई अझ विशेष र महत्त्वपूर्ण मानिन्छ । आजको दिनलाई विशेष बनाउन र महत्त्वपूर्ण सावित गर्न विश्वभर अभिभावक, शिक्षक, पत्रकार, समुदायका व्यक्तिहरु, समुदायका नेताहरु तथा हामी सबैको भूमिका उत्तिकै हुन्छ ।

बालबालिकाको अधिकार, उनीहरुको जीवनशैलीमा सुधार तथा उत्थानका लागि आजको दिन अझ बढी विशेष हुनसक्छ । त्यसैले पनि आज विश्वभर यो दिवस मनाउन विभिन्न सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिएको हुन्छ ।

हामीले पनि हाम्रा बालबालिका वा हाम्रो छिमेकका वा समुदायका बालबालिकालाई सही सूचना दिन सक्छौँ, उचित बाटो देखाउन सक्छौँ । कोही बालबालिका समस्यामा परेका छन् भने उनीहरुका गुनासा, सुझाव वा विषय सुनेर त्यसको समाधानका लागि प्रयास गर्न सक्छौँ ।

भनिन्छ नि, बालबालिका भनेका काँचो माटो हुन्, उनीहरुलाई हामीले जस्तो स्वरुपमा ढाल्न सक्छौँ, त्यस्तै बन्छन् । त्यसैले हाम्रा बालबालिकालाई हामीले जस्तो चाहेका छौँ, त्यस्तै बनाउन सक्छौँ । बालबालिकालाई हामीले असल र विशाल बनाउनेबारे सोचौँ । हाम्रा बालबालिका असल होउन्, उनीहरुले असल सोचुन्, असल बोलुन् र असल देखुन् ।

असल बन्ने प्रेरणा हामीले बालबालिकामा जगाउन सकौँ, उनीहरुलाई सत्मार्गमा लैजाऔँ । अन्तर्राष्ट्रिय बाल दिवसमा हामीले बालबालिकालाई असल हुने बाटोमा डोर्याऔँ भन्ने अनुरोधसहित हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.