अन्तर्राष्ट्रिय आप्रवासी दिवस | दत्तात्रेय जयन्ती | पूर्णिमा व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय आप्रवासी दिवस | दत्तात्रेय जयन्ती | पूर्णिमा व्रत




अन्तर्राष्ट्रिय आप्रवासी दिवस विशेष अडियो सामग्री

आप्रवासनलाई सुमधुर रुपमा व्यबस्थापन गर्न सक्दा यस ग्रहको सुन्दरतामा थप रंग थपिन्छ । तर आप्रवासनलाई राम्ररी व्यवस्थापन गर्न नसक्दा समुन्द्र तटमा तैरिरहेका सिरियन शरणार्थीका शव भएको बिभत्स दृश्यहरु, रोहिंगिायाहरुको सघंर्षका दर्दनाक कुराहरु सबै सामु आएको हुन्छ ।

यसै कुराहरुलाई मनन गर्दै विश्व समुदायले आज वि टुगेदर अर्थात् हामी सबै संगै भन्ने नाराका साथ विश्व आप्रवासन दिवस मनाँउदैछ ।

डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चतता सम्बन्धि कानुनको चर्चा र सरकार तथा राजनीति दलहरुलाई यी बिषयमा ध्यानाकर्षण गराउँदै आएकाछन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदा औपचारिक रुपमा गर्ने गरिन्छ भने विभिन्न प्रचारात्मक कार्यक्रमहरु गरिन्छ ।

रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ ।आप्रवासीको हित मानव विकासको फराकिलो दायराभित्रको महत्वपूर्ण अंश हो । नेपाली आप्रवासीहरुले आफु र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । यस्तो अवस्थामा आप्रवासी नेपाली कामदारहरुले दैनिक रुपमा अनेकौं समस्याको सामना गर्दै आएकाछन् । आप्रवासी कामदारले भित्र्याएको विप्रेषणले उनीहरुको मात्रै होइन पुरै देशकै आयश्रोतमा बढोत्तरी भएको छ ।

संयूक्त राष्ट्रसंघको ६८ औँ सधारणसभाले विकासका लागि आप्रवासको महत्व र सम्पूर्ण आप्रवासीको अधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय आप्रवास र विकासमा उच्चस्तरीय संवादको घोषणा पारित गरिसकेको छ । यसले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न आप्रवासको योगदानलाई पूर्ण रुपमा स्वीकार गरेको छ भने मानव गतिशिलतालाई दिगो विकासको महत्वपूर्ण हिस्साको रुपमा अङ्गीकार गरिएको छ । नेपालमा वर्षेनी आप्रवासी दिवस मनाइए पनि कामदारका समस्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएका छन् ।

विश्व समुदायले आप्रवासनका क्षेत्रमा अनि आप्रवासीका लागि धेरै कुराहरु गर्न बाँकी छ, पोष्ट कोभिड विश्वमा आप्रवासीहरुको समस्याहरु थप बढेर गएको छ । आगामी वर्षहरुमा आप्रवासन र आप्रवासीहरुको मुद्धाहरुमा सूनुवाई र सुधार होस्, पृथ्वी सबैको साझा हो ।

दत्तात्रेय जयन्ती


भगवान विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरु भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रुपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रुपको पूजा अर्चना गरिन्छ। भगवान् दत्तात्रेयबाट वेद र तन्त्रमार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदान प्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरणशक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता रहिआएको छ।

पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा जहिले गरे पनि हुने कार्य हो यद्धपि पूर्णिमाको दिनमा गरिने यस पुजाको फल निकै धेरै पाइन्छ ।

वैज्ञानीक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्मशुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्याष्ट्रिक समस्याहरु हल भएर जाने र शरीरमा सकारात्मक उर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयवाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसंगै व्रत समापन हुन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.