अन्तर्राष्ट्रिय सहनशीलता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय सहनशीलता दिवस




अन्तर्राष्ट्रिय सहनशीलता दिवस विशेष अडियो सामग्री

'Tolerance is respect, acceptance, and appreciation of the rich diversity of our world's cultures, our forms of expression and ways of being human' भन्ने नाराका साथ आज विश्व समुदायले अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाउँदै छ । अर्थात्, सहनशीलता भनेको विश्वको सम्पन्न सँस्कृति, हाम्रो अभिव्यक्तिको तौर र तरिका र मानव हुनुको तवरलाई स्वीकार्नु र सम्मान गर्नु हो भन्ने धारणालाई यो वर्षको सहनशीलता दिवसको मूल नारा बनाइएको छ । आजको दिनले विश्वभर फैलिएर रहेका सबै समुदायलाई एकअर्काप्रति सहनशील हुन र एकअर्काका स्वरुप र शैलीलाई स्वीकार्न आह्वान गर्छ ।

यो दिन अर्थात् अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोले घोषणा गरेको दिवस हो । सन् १९९६ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने मान्यता दिइएको थियो ।

सन् १९९५ मा नै विश्वमा फैलिइरहेको नकारात्मक भावना र सोच, एकअर्काप्रतिको वितृष्णालाई कम गर्न र समुदायबीच सहनशीलता बढाउनका लागि युनेस्कोले यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन प्रस्ताव गरेको थियो ।

विश्वभर असहमति, असमझदारी र सहनशीलता गुमेपछि आइपर्न सक्ने खतराहरुबारे जागरुक बनाउन यो दिवस मनाइन्छ । युनेस्कोले यही दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ ।

आधुनिक जीवनशैली र बदलिँदो परिवेशले विश्वभर विकास मात्र भइरहेको छैन, हाम्रा समाजमा गहिरो परिवर्तन पनि ल्याइरहेको छ । आधुनिकीकरणले विश्वमा संचार र सन्देश आदानप्रदानका लागि विशाल अवसर पनि सिर्जना गरिरहेको छ । सँगसँगै असमानता र एकअर्काप्रति उत्पन्न हुने वितृष्णाका भावहरु पनि बढिरहेको कुरालाई नकार्न सकिँदैन ।

राजनीतिक परिवर्तन र यस्ता परिवर्तनले निम्त्याउन सक्ने गैर राजनीतिक अवस्था, कहिलेकाहीँ हुनसक्ने गलत राजनीतिक प्रवृत्तिको उदय र विभाजनको बहस हामीले बारम्बार देखिरहेका छौँ । यसले हाम्रो विविधतालाई कमजोरीका रुपमा विकास गर्ने भाष्य पनि विकास गरिरहेको छ । यही विकसित गलत भाष्यका कारण विश्वमा सहिष्णुता, सद्भाव र सहनशीलताको कमी पनि देखिन थालेको छ । कतिसम्म भने विश्वका विभिन्न ठाउँमा अहिले पनि आतंककारी हमला भएका छन्, मानव समुदायलाई एकताको सुत्रमा बाँध्न खोजिएका प्रयासहरु विफल भएका छन् । यसको कारकका रुपमा आधुनिकीकरणलाई मान्नेहरु पनि छन् । जे होस्, बढ्दै गएको असहिष्णु व्यवहार र गहिरो बन्दै गएका सामुदायिक खाडलका मुद्दाहरुलाई आजको दिनले कम गर्न सन्देश दिन्छ । यस्ता मानवीय त्रुटी, अमानवीय जटिलताबाट मुक्ति मिलोस् भन्ने चाहना राख्ने हो भने सहनशीलताको मुख्य भूमिका हुन्छ ।

विश्वमा निकै धेरै सँस्कृतिहरु छन्, बहुलता छ, विविधता छ । हाम्रो रुप, रंग र आकार फरक होला । तर, हामी सबैलाई जोड्ने एउटा सुत्र हो, हामी सबै मानव हौँ, मानिस हौँ । र, मानवताको समुदाय भनेको एउटै हो । अनि यो विविधताबीच एकताका लागि सबैभन्दा महत्त्वपूर्ण सुत्र हो– सहनशीलता ।

आजको दिवसले मानवअधिकारलाई रक्षा गर्दै विविधता र बाहुल्यताको सम्मान गर्दै एकअर्कालाई बुझ्न सहयोग गर्छ, हामीलाई सहनशील बनेर विभेद र घृणालाई अस्वीकार गर्न प्रेरित गर्छ ।

विश्वले पाँच तरिकाबाट वितृष्णा र घृणालाई टक्कर दिन सकिने कुरामा विश्वास गर्छ । पहिलो हो, कानुन । राज्यले सहनशील समाज, समुदायको विकासका लागि कानुन निर्माणमा ख्याल गर्नु पर्छ भन्ने मानिन्छ । त्यस्तै, कानुन निर्माण भइसकेपछि यसलाई बुझाउन शिक्षाको ठूलो महत्त्व हुने मानिन्छ । असहिष्णु समाज वा समुदायलाई शिक्षाको माध्यमबाट परिवर्तन गर्न सकिने विश्वास गरिन्छ । त्यस्तै, सूचनासँगको पहुँचलाई पनि सहनशील समाज निर्माणका लागि आवश्यक भएको युनेस्कोले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छ । व्यक्तिगत सचेतना र स्थानीय स्तरमा हुनसक्ने समाधान अरु दुई मुख्य कुरा हुन् जसले विश्वमा सहनशील समाज निर्माण गर्न र वितृष्णालाई हटाउन सहयोग गर्छन् ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवसको हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना । सहनशील बनौँ, सभ्य र सहिष्णु समाज निर्माणमा योगदान गरौँ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.