हामीले लामो समयदेखि सुन्दै आएका छौँ– सेवा नै धर्म हो ।
यसबारे आज चर्चा गर्नु सान्दर्भिक हुन्छ । किनकि विश्वले ५ डिसेम्बर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने गर्छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा यो दिनलाई लिइए पनि यसको पूर्ण नाम चाहिँ आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस हो ।
पहिले, यसको सुरुवातबारे केही चर्चा गरौँ । सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाले यसलाई अन्तर्राष्ट्रिय रुपमा मनाउने भन्दै पारित गरेको हो । त्यही वर्षदेखि ५ डिसेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउन थालिएको हो । विशेषगरि गैरसरकारी संस्थाहरु, प्राइभेट संस्थाहरुले आजको दिनलाई समाजको विकासका दुई विशिष्ट आयाम आर्थिक तथा सामाजिक रुपान्तरणको नारा लिएर यो दिवस मनाउने गर्छन् ।
अहिले विश्वभर कम्तिमा पनि १ करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान गरिएको छ । र, यसमा कम्तिमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको पनि विभिन्न तथ्यांकहरुले देखाएका छन् ।
त, लागौँ नेपालको सन्दर्भमा ।
२०७२ सालको विनाशकारी भूकम्पबारे अझै पनि हामीले पक्कै बिर्सिएका छैनौँ । गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दू बनाएर गएको यो भूकम्पका कारण नेपालमा सयौँले ज्यान गुमाउनु परेको थियो । अनि हजारौँ घरबारविहिन बन्नु परेको थियो । यस्तै, वर्षैपिच्छे नेपालमा हुने प्राकृतिक प्रकोपका कारण पनि मानिसहरुले ज्यान गुमाउनु परेको छ, घरबार गुमाउनु परेको छ ।
यस्ता प्राकृतिक प्रकोपले क्षति गर्दा तत्काल रेस्पोन्सका लागि सरकार वा सरकारी निकायहरु उपलब्ध नहुन सक्छन् । त्यस्तो, समयमा हामीले देखेका छौँ, स्थानीय स्तरमा नै केही युवाहरु वा मानिसहरु वा कुनै समूह मिलेर तत्कालीन राहत उपलब्ध गराउँछन्, सहयोग गर्छन् । अनि यस्तो सहयोगको कुनै स्वार्थ हुँदैन । होस् पनि किन हामीले माथि भनेजस्तै पहिले देखि नै सुन्दै आएका छौँ– सेवा नै धर्म हो ।
हामीले हाम्रो वरपर अन्तर्राष्ट्रिय रेडक्रस, स्काउट वा अन्य स्थानीय संघसंस्थाहरु पनि देख्दै आएका छौँ । नेपालमा केही पहिलेदेखि युवा क्लब तथा बाल क्लबहरु पनि खुल्ने गरेका छन् । त्यसैले त कोरोनाभाइरस महामारी फैलिँदा गाउँगाउँमा विभिन्न सेवा पुर्याउनु परेको खण्डमा होस् या प्राकृतिक प्रकोपले हामीलाई रुवाएको समयमा न्यानो आडको भरोसा किन नचाहियोस्, यस्ता संघसंस्थाको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।
स्वयंसेवा खासमा हामी सबैले सोच्नु पर्ने काम हो र यो हामीले चाहेको खण्डमा मनबाट गर्न सकिने सेवा पनि हो । जीवनको कुनै न कुनै कालखण्डमा हामीले पनि आवश्यक परेकाहरुलाई सेवा गर्नु पर्ने धारणा बनाउनु पर्छ । विश्वमा स्वयंसेवा गर्न थालेरै नाम कमाएका फ्लोरेन्स नाइटिङ्गलहरुबाट हामीले शिक्षा लिनु पर्छ ।
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिन हाम्रो पात्रो परिवार तपाईंहरु सबैलाई सेवा गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछ, शुभकामना ।
विश्व माटो दिवस
५ डिसेम्बरलाई विश्वभर विश्व माटो दिवसका रुपमा पनि मनाइन्छ । विश्व माटो दिवसको अवधारणा माटो विज्ञानसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाले अगाडि सारेको थियो । सबैभन्दा पहिले थाइल्यान्डको नेतृत्वमा यसलाई अगाडि सारिएको थियो, अब त संयुक्त राष्ट्रसंघले पनि ५ डिसेम्बरलाई विश्व माटो दिवसका रुपमा मनाउन आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिइसकेको छ ।
सन् २०१३ को राष्ट्रसंघको महासभाले ५ डिसेम्बरलाई विश्व माटो दिवसका रुपमा मनाउने प्रस्तावलाई पारित गरेसँगै सन् २०१४ देखि विश्वभर यो दिन विश्व माटो दिवसका रुपमा मनाइन्छ ।
हामीलाई थाहा नै छ, धरती वा माटोको हाम्रो जीवनसँग कस्तो सम्बन्ध छ भन्नेबारे । माटोमा नै उब्जाउ हुने खानेकुराहरुका कारण हामीले जीवन अगाडि बढाइरहेका हुन्छौँ । तर, सहरीकरणका कारण र खेतीपातीमा हामीले प्रयोग गर्ने अनेक किटनाशक विशादीका कारण हाम्रो माटो थप कमजोर भइरहेको छ ।
आजको दिन विश्व माटो दिवस मनाउनुको उद्देश्य पनि यसरी थप प्रदुषित हुँदै गएको हाम्रो माटोको उब्जाउ क्षमतालाई फेरि सुदृढ बनाउनु पर्छ भन्ने चेतना फैलाउनु हो ।
माटो हामीलाई हाम्रो खानेकुरा उब्जाउनका लागि मात्र पनि आवश्यक छैन । यो त संसारभरको इकोसिस्टमलाई चुस्तदुरुस्त राख्न र जोगाउन पनि यसको ठूलो भूमिका हुन्छ । हाम्रो पर्यावरणको यो शुद्धताका लागि पनि हामीले माटो बचाउन विशेष पहल गर्नैपर्छ । अझ, माटोमा नै आश्रित विभिन्न किराफट्याङ्ग्राको पनि त हाम्रो पर्यावरणमा ठूलो भूमिका छ ।
त्यसैले यो वर्ष अर्थात् सन् २०२१ का लागि विश्व माटो दिवसको नारा रहेको छ– माटोको प्रदुषण रोकौँ, उत्पादकत्व बढाऔँ । हामीले पनि आआफ्नो क्षेत्रबाट सम्भव भएसम्म हाम्रो जीवन र पर्यावरणमा ठूलो भूमिका खेल्ने माटोको संरक्षणका लागि ध्यान दिऔँ ।
Liked by: