धनवन्तरी जयन्ती /धनतेरस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

धनवन्तरी जयन्ती /धनतेरस





वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ।

देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान धनवन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान धनवन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद "आयु र वेद"गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले 'आयुको ज्ञान' भनेर बुझिन्छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्वका साथ मनाउने गर्दछन्।

धन त्रयोदशी व्रत / धनतेरस
बडा दशैँको लगत्तै आउँने नेपालीहरूको अर्को महत्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आजबाट यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।

धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन छ । धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ । गच्छ अनुसार तपाईंले माटोको मूर्ति वा तस्बिर पनि लिन सक्नुहुनेछ । मूर्ति लिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पासनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन । यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।

तपाईं धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्वउत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ । यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिदैन । अतः आफ्नु लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धन त्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमलगट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिलै नहुने र मानसिक शान्ति मिल्नेछ ।

आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ। सम्पूर्ण नेपालीहरूलाई धन्तेरसको मङ्गलमय शुभकामना।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.