धनु संक्रान्ति | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

धनु संक्रान्ति




धनु संक्रान्ति विशेष अडियो सामग्री

पुस फासफुस । हामीमध्ये धेरैले यो भनाइलाई पक्कै पनि जीवनमा कुनै न कुनै एक समयमा सुनेका छौँ । आजबाट पुस महिनाको सुरुवात भएकाले हामीले सुरुमै यो भनाइलाई उद्धृत गरेका हौँ ।

फेरि वैज्ञानिक रुपमा पनि के सत्य हो भने अब आजबाट दिनहरु विस्तारै छोटिँदै जानेछन्, रातहरु लामा हुनेछन् । सँगसँगै नेपालमा हुनुहुन्छ भने अब चिसो पनि निकै बढ्ने छ, यो वर्ष पुस र माघ महिनामा अरु वर्षहरुमा भन्दा अलिक बढी चिसो हुनसक्ने पूर्वानुमान गरिएको छ ।

आज पुस १ गते अर्थात् मकर संक्रान्ति पनि । वैदिक सनातन हिन्दू परम्पराअनुसार आजबाट सूर्य धनु राशीमा प्रवेश गर्दै छ । त्यसैले पनि आजको दिनलाई धनु संक्रान्तिको रुपमा पनि लिइन्छ । आजको संक्रान्तिमा नदी तथा छेउछाउका तालतलैयामा डुबुल्की मार्दा पापमोचन हुने र पुण्य प्राप्ति हुने विश्वास गरिन्छ ।

नेपालका विभिन्न ठाउँमा चिसो बढेसँगै अब न्याना कपडा, तातो खानेकुराहरु प्यारो लाग्न थालिसकेका छन् । हामीमध्ये कतिपय त केही समय पारिलो घाममा बस्दा पनि न्यानो महसुस गरिरहेका छौँ होला । अनि नुहाउनका लागि हामीलाई अब तातो पानी नभइ नहुने पनि भएको छ । तर, जाडो मौसममा तातो पानीले नुहाउँदा दुर्घटना भएका समाचार पनि बेलाबेलामा आइरहेका हुन्छन्, गिजर वा हिटर प्रयोग गर्दा ध्यान दिनुहोला है । बन्द कोठामा जाडोबाट बच्न प्रयोग हुने हिटर वा कोइलाको विषयमा पनि सावधानी अपनाउन हाम्रो पात्रो परिवार तपाईंहरुलाई हार्दिक अनुरोध गर्छ ।

स्वास्थ्यका हिसाबले चिसो मौसम लागेपछि हामी अलिक कम पानी पिउँछौँ । पानीको मात्रा शरीरमा कमी हुँदा हाम्रो छाला फुस्रो हुनेदेखि अरु समस्याहरु पनि हुनसक्छन् । यसबारे पनि ध्यान दिनुहोला । आजको संक्रान्तिसँगै हामीले विशेष ध्यान दिनु पर्ने विषयमा केही चर्चा गर्‍याैँ । अब यसको धार्मिक सन्दर्भबारे पनि चर्चा गरौँ ।

आजको दिन भगवान श्रीकृष्ण मथुरा गएको विश्वास गरिन्छ । श्रीकृष्ण भगवान मथुरा जानुको उद्देश्य चाहिँ हिंस्रक मामा कंसको संहार गर्नका लागि हो । आजको दिनबाट नै श्रीकृष्ण भगवानले यसलाई सुरुवात गर्नुभएको मानिन्छ ।
भागवत पुराणमा उल्लेख भएअनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा गरेका थिए । उनले यही यात्रामा कृष्ण र उहाँका दाइ बलरामको हत्या गर्ने योजना बनाएका थिए ।

आजकै दिन धार्मिक परम्पराअनुसार सूर्य देव र भगवान शिवको पनि पूजा गर्ने चलन रहेको छ । सूर्यलाई विभिन्न प्रकारका अर्घ्य दिने अनि प्रसादहरु चढाउने चलन पनि छ ।

पुस महिना तपाईंको लागि शुभ रहोस्, हाम्रो पात्रो परिवारको तर्फबाट धेरै धेरै शुभकामना !



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.