हिन्दूहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दू धर्मावलम्बीहरू माँझ भावनात्मक आस्था रहने गरेको छ ।
गङ्गा सप्तमीलाई धेरै स्थानहरूमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ । यस सप्तमीलाई जन्हु सप्तमी भनेर पनि सम्बोधन गरिन्छ ।
गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरू भेटिन्छन् ।
आजको दिन अर्थात् वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथि मानिन्छ । आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरूको सबै पाप हट्ने र ती मनुष्यहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ ।
आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गा जललाई आफूले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता छ । आज विशेषतः गङ्गा मन्दिरहरूमा श्रद्धापूर्वक पुजा आराधना गरिन्छ ।
हिमालयलाई मुहान बनाउँदै दक्षिण–पूर्वी कोण हुँदै गङ्गा नदी बहन्छ । गङ्गा नदी बङ्गोपसागरमा मिल्न पुग्छ । जुन नदीले उत्तरी भारतलाई हराभरा बनाएको छ र ठूलो जनसंख्यालाई जीवन दिएको छ ।
गङ्गाको पानी हिन्दूका निम्ति पवित्र जल मानिन्छ । अनि गङ्गा नदीमा अस्तु बगाउँदा पितृ तर्ने विश्वास राख्छन्, हिन्दू धर्मावलम्बीहरू । हिन्दूहरूले स्वच्छता र पवित्र जलमा रुपमा लिँदै देव–पितृ कार्यमा प्रयोग गर्छन् ।
यस वर्ष त भारतीय उपमहाद्धीपका गङ्गा बग्ने हरेक किनाराहरूमा कोरोना त्रासको भय छ । गङ्गा नदीका कतिपय किनाराहरूमा त मानिसहरूको मृत शरीरहरू तैरिरहेको खबर पनि देख्न÷सुन्नमा आएको छ ।
गङ्गाले जीवन र मृत्यु दुवैलाई बगाएकी छिन् । भूमि सिञ्चित गरेकी छिन् । गङ्गामा जीवन छ, अनि जीवनमा गङ्गा छ । आजको दिनको अर्थपूर्ण शुभकामना छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: