गुरु नानक जयन्ती | चतुर्मास र कार्तिक स्नान समापन | निम्बार्काचार्य जयन्ती | विश्व शौचालय दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

गुरु नानक जयन्ती | चतुर्मास र कार्तिक स्नान समापन | निम्बार्काचार्य जयन्ती | विश्व शौचालय दिवस




गुरु नानक जयन्ती विशेष अडियो सामग्री

सिख धर्मावलम्बीहरुका पहिलो गुरु नानकको आज जन्मदिन हो । गुरु नानकको जन्मदिन भएकाले आजको दिनलाई गुरु नानक प्रकाशोत्सव वा गुरु पर्व पनि भनिन्छ । संसारभरका सिख धर्मालम्बीहरुले आजको दिन गुरु नानकको सम्झनामा श्रद्धाका साथ मनाउने गर्छन् ।

धार्मिक बाहुल्यता र विविधता भएको यो संसारमा सबै धर्महरुको सार चाहिँ लगभग एउटै हुन्छ– अहिंसा र शान्तिको कामना । धर्मका संस्थापक हुन् या प्रवर्तक, वा प्रवक्ता नै किन नहुन्, अधिकांशले सिकाउने भनेको माया, सद्भाव, सत्य तथा अहिंसाको मार्ग नै हो । सिख धर्मावलम्बीहरुले पनि एकअर्कामा सहयोगी भावना हुनु पर्नेमा नै विश्वास गरेका हुन्छन् ।

भारतको पन्जाब प्रान्तमा सबैभन्दा पहिले सिखको सुरुवात भएको मानिन्छ । सिख अहिले विश्वका विभिन्न धर्ममा सबैभन्दा धेरै अनुयायी भएका धर्ममा पाँचौ नम्बरमा पर्छ । पछिल्लो तथ्यांकअनुसार सिख धर्मका अनुयायी विश्वभर ३ करोडभन्दा बढी रहेका छन् ।

सन् १४६९ मा जन्मिएका गुरु नानकको शिक्षाकै आधारमा सिख धर्मको सुरुवात भएको हो । उनीपछि अन्य ९ जना गुरुहरुले यो धर्मको विस्तार तथा प्रवद्र्धनमा सहयोग गरेका थिए । सिख धर्मका दशौं गुरु गोविन्द सिंहले सिख धर्मावलम्बीहरुको धर्मग्रन्थलाई गुरु ग्रन्थ साहिब नाम दिएका हुन् । गुरु ग्रन्थ साहिबको सुरुवात मुल मन्तरबाट हुन्छ । सिख धर्मावलम्बीहरुले विश्वास विश्वमा एक मात्र भगवान छन् भन्ने गर्छन् । अनि अरु सबै मानवजाति बराबर हुन् र निस्वार्थ भावनाले सबैको सम्मान र समृद्धिको कामना गर्नुपर्छ भन्ने उनीहरुले मान्छन् ।

आजको विशेष दिनलाई सिख धर्मावलम्बीहरुले मनाउन चाहिँ दुई दिन अघिबाट नै सुरु गर्छन् । ४८ घन्टासम्म गुरु ग्रन्थ साहिबको अध्ययन गर्न सुरु गरेर आजको दिन यसको समापन गरिन्छ । यसबाहेक आजको दिन सिख धर्मावलम्बीहरु गुरुद्वारमा पुग्छन्, मन्त्रोच्चारण गरेर कीर्तन गर्दै गुरुहरुको महिमा वर्णन गर्छन् । यसलाई अमृत भेला पनि भनिन्छ । अमृत भेलापछि सिख धर्मावलम्बीको लगांरु सुरु हुन्छ । लगांरु भनेको निःशुल्क सामुदायिक भोजन हो । यस्तो भोजनमा सिख धर्मावलम्बीहरु मात्र होइन, अन्य धर्मका मानिसहरुलाई समावेश गराइन्छ । गुरु नानकको चाहना पनि यही थियो, सबै मानिसहरु बराबर होउन्, सबैले समानताको आभास गर्न पाउन् ।

गुरु नानकले १६ औं शताब्दिको सुरुवातमा नै एशियाका विभिन्न देशमा घुमेको र अहिंसा र समानताको पक्षमा आवाज उठाएको मानिन्छ । उनले एक ओंकर अर्थात् एक भगवान भन्ने मूल शिक्षा लिएर एशियाका विभिन्न देश घुमेको हुनसक्ने अनुमान गरन्छ । उनले दिएका शिक्षाहरुलाई ९ सय ७४ काव्यिक पद्यहरुमा समावेश गरिएको छ ।

५५ वर्षको उमेरमा सिखका संस्थापक गुरु नानक कार्तापुरमा गएर बसेको र उनको त्यहाँ नै सन् १५३९ मा निधन भएको थियो ।

नेपालमा पनि विभिन्न ठाउँमा सिख धर्मावलम्बीहरुले गुरुद्वार बनाएका छन् । त्यहाँ आजको दिन विशेष भजनकीर्तन गरिन्छ ।

संसारभरका मानिसहरु एक हुन्, समान हुन् र सबैले एकअर्काको सहयोग तथा समृद्धिका लागि कदमहरु चाल्नु पर्छ भन्ने मूल नाराका साथ विश्वमा अहिंसाको आवश्यकतालाई विकास गर्न महत्त्वपूर्ण योगदान दिएका गुरु नानक जयन्तीको अवसरमा हाम्रो पात्रोको तर्फबाट पनि सबैलाई शुभकामना ।

हामी पनि अहिंसामा विश्वास गरौँ, संसारभरका मानव जाति समान हुन् भन्ने विश्वासमा अटल रहौँ, सबैको जय होस् ।

चतुर्मास र कार्तिक स्नान समापन
कार्तिक शुक्ल पूर्णिमाको दिन हरेक वर्ष चतुर्मास समापन गरिने चलन छ । चतुर्मासमा शुभकार्यहरु गर्नाले कुनै फलिफाप नहुने विश्वास गरिन्छ । त्यसैले यो समयमा विभिन्न विशेष काम तथा शुभकार्यहरु शुभारम्भ गरिँदैन ।

यो समयमा भगवान विष्णु निद्रामा हुने भएकाले शुभ तथा मंगल कार्यहरु रोकिएको मानिन्छ । आजबाट फेरि शुभ कार्यको थालनी गर्न सकिन्छ, नयाँ सुरुवात गर्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

हुन पनि अब मंसिर लागेसँगै हाम्रो समाजमा विवाह तथा ब्रतबन्धका साइतहरु धमाधम सुरु हुन्छन् ।

चतुर्मासका कारणले रोकिएका विवाह तथा ब्रतबन्धहरु अनि ठूला पूजाआजहरु अब आजबाट सुरु हुन्छन् । तपाईंहरुले पनि विशेष केही गर्ने योजना बनाउनु भएको छ भने हाम्रो पात्रो परिवारको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना ।

चर्तुमास सँगसँगै सनातनी हिन्दू धर्मालम्बीहरुका लागि आजबाट कार्तिक स्नान पनि समापन भएको छ । बडादशैंको समापनसँगै सुरु भएको कार्तिक स्नान आजबाट समापन भएको हो ।

आश्विन शुक्ल पूर्णिमाको दिन महालक्ष्मीको आरधना गरेर राति जाग्राम बसेसँगै औपचारिक रुपमा बडादशैं सकिएको थियो, आजबाट अब कार्तिक स्नान पनि सकिएको छ ।

अब त चिसो पनि निकै बढिसकेको छ । विहानपख हाम्रो धर्ती शीतले लपक्कै भिजेको हुन्छ । चिसो सुरु भएसँगै हामीले हाम्रो स्वास्थ्यको पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामीले पनि तपाईंहरु सबैलाई आफ्नो विशेष ख्याल दिन अनुरोध गरेका छौँ र सुस्वास्थ्यको कामना पनि गरेका छौँ है ।

निम्बार्काचार्य जयन्ती
आज निम्बार्काचार्य जयन्ती पनि हो । हामीमध्ये धेरैले गुरु निम्बार्काचार्यको नाम नसुनेका पनि हुन सक्छौँ । आउनुहोस्, आज निम्बार्काचार्य गुरुबारे संक्षिप्तमा कुराकानी गरौँ ।

गुरु निम्बार्काचार्यको जन्म भारतीय क्षेत्रमा गोदावरी नदी तटमा वैदुर्यपत्तन नामको सहरमा भएको मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यको जन्म द्वापरयुगमा नै भएको मान्छन् भने कतिपयले ईशा कालको ११ औं शताब्दिमा भएको मान्छन् ।

गुरु निम्बार्काचार्यका नाम रहनुको कारण चाहिँ निमको रुख र सूर्यको प्रसंग रहेको छ । निम्बार्क अर्थात् निमको रुख र अर्क अर्थात् सूर्य भन्ने भएकाले पनि यहीबाट गुरु निम्बार्काचार्यको नाम रहेको तर्क गरिन्छ ।

गोदावरी किनारमा जन्मिए पनि गुरु निम्बार्काचार्यको साधना चाहिँ यमुना तटमा भएको मानिन्छ । एकदिन गुरु निम्बार्काचार्य आफ्नो आश्रममा बसिरहँदा दण्डी स्वामी त्यहाँ पुगेको विश्वास गरिन्छ । त्यति बेला साँझ छिप्पिइसकेको मानिन्छ ।

साँझ परिसकेपछि आफूले भोजन नगर्ने दण्डी स्वामीले बताएपछि गुरु निम्बार्काचार्यले साँझको पाहुनालाई भोकै पठाउन नचाहेको र आँगन छेउको निमको रुखमा सूर्य देवता उत्पन्न गराएको विश्वास गरिन्छ । सूर्य देखिएपछि दण्डी स्वामीले भोज गरेको विश्वास अहिले पनि चर्चा हुने गरेको छ । यही प्रसंगपछि गुरुको नाम निम्बार्काचार्य रहेको विश्वास गरिन्छ ।

गुरु निम्बार्काचार्यलाई सूर्यको अवतार पनि मानिन्छ । कतिपयले गुरु निम्बार्काचार्यलाई भगवान विष्णुको सुदर्शन चक्रको अंश पनि मान्छन् । कार्तिक शुक्ल पूर्णिमाका दिन गुरु निम्बार्काचार्यको जन्म भएको मानिन्छ । त्यसैले पनि यसलाई विशेष चासो, महत्त्व र सम्मानका साथ मनाइन्छ ।

यो पावन दिनको सबैलाई शुभकामना ।

विश्व शौचालय दिवस

अहिले पनि विश्वभर ३ अर्बभन्दा बढी मानिसहरुमा सरसफाइका लागि अत्यावश्यक शौचालयको पहुँच नभएको मानिन्छ । यही कारणले विश्वभरका मानिसमा सरसफाइलाई महत्त्व दिन र यसको पहुँच होस् भन्ने उद्देश्यले सन् २००१ म विश्व शौचालय संघले सुरुवात गरेको हो । पछि सन् २०१३ मा संयुक्त राष्ट्रसंघले आजको दिनलाई विश्व शौचालय दिवसका रुपमा ग्रहण गर्यो, स्वीकार गर्यो ।

हामीले चर्पी भने पनि, शौचालय भने पनि, ट्वाइलेट भने पनि वा रेस्टरुम भने पनि कुनै पनि समाजको सुस्वास्थ्य तथा सरसफाइका लागि शौचालयको निकै ठूलो महत्त्व हुन्छ, आवश्यकता हुन्छ ।

विज्ञानले नै प्रमाणित गरिसकेको छ, मानव जातिको स्वास्थ्यका लागि शौचालय अहिलेको आवश्यकता हो । सरसफाइ भयो भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ, हाम्रो फुड चेनमा हामीलाई गम्भीर रोगहरुबाट संक्रामक बनाउने भाइरस तथा ब्याक्टेरियाको प्रवेश हुन पाउँदैन । शौचालयको राम्रो व्यवस्थापन भएसँगै हैजा, झाडापखाला, कलेराजस्ता भयानक संक्रामक रोगहरुको पनि विस्थापित हुँदै गएका छन् ।

त्यसैले प्रत्येक वर्ष विश्वभर शौचालयको पहुँचमा नरहेका मानिसहरुलाई पनि यसको पहुँचमा सहज होस् भन्ने हेतुले विश्व शौचालय दिवस मनाइन्छ । यो वर्ष ‘शौचालयको उपयोगिता’ नाराका साथ विश्व शौचालय दिवस मनाइँदैछ । शौचालयको प्रयोगपछि अनिवार्य रुपमा साबुन पानीले हात धुने बानी बसाल्नु पर्छ । यो सन्देश पनि आजको दिन विशेष प्राथमिकताका साथ दिइन्छ ।

आज पनि ३ अर्बभन्दा बढी मानिस शौचालयको पहुँचमा छैनन् । उनीहरुलाई पनि शौचालयको पहुँच सहज होस्, यसको महत्त्व र आवश्यकता सबैले बुझ्न जरुरी छ । हाम्रो पात्रो परिवार पनि विश्वमा मानव जातिलाई सहज सरसफाइमा पहुँच पुगोस् भन्ने चाहन्छ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.