विश्व हेपाटाइटिस दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व हेपाटाइटिस दिवस





हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा लिइन्छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो, आज । खतरनाक स्वास्थ्य समस्या मानिएको ‘हेपाटाइटिस’ आधुनिक युगमा पनि उत्तिकै विकराल रूपमा देखापरिरहेको छ ।

सन् २०२१ मा भने हेपाटाइटिस दिवसको नारा चाहिँ "Hepatitis can't wait" हो । जसको अर्थ ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने हो । कोरोना त्रास अनि संक्रमण जोखिमले उच्च बिन्दुमा रहेको वर्षहरूमध्ये वर्ष २०२१ मा हेपाटाइटिसको जोखिममा पनि उत्तिकै ध्यान दिन आव्हान गएिको छ ।

विश्व स्वास्थ्य संस्थाको तथ्यांक हेर्नेे हो भने, संसारभर ठूलो संख्यामा मानिसहरू भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाउने रहेछ ।

यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्या विकराल रूप थप सघाऊ त पुर्याउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ मान्यतास्वरूप जनचेतना जगाउने अभियान शुरु भएको हो । हामीमध्ये कति जनालाई यो रोगबारे थाहा छ त ?

एचआइभी एड्स, मलेरिया, क्षयरोग जस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको शिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस ‘बी’ र ‘सी’ लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ ।

कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्छ । हेपाटाइटिस भनेकै भाइरल संक्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्यगरी पाँच किसिमका हुन्छन्ः ‘ए, बी, सी, डि र इ’ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् । एचआइभी एड्स, मलेरिया र क्षयरोगभन्दा हेपाटाइटिस ‘बी’ र ‘सी’का कारणले वार्षिक धेरै मानिसहरूको मृत्यु हुने गर्छ । कलेजोको क्यान्सरले मृत्यु हुने ३ मध्ये २ हेपाटाइटिसका रोगी हुने गर्छन् ।

हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस ‘बी’ र ‘सी’लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्यगरी बालबालिका र सीमान्तकृत समूहलाई नै बढी पिरोल्ने गर्दो रहेछ ।

लागूपदार्थ दुर्व्यसनी, एचआइभी संघर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी सताउने गरेको देखिन्छ । अझ हेपाटाइटिस ‘बी’ लागेका ९०% मानिसहरू र हेपाटाइटिस ‘सी’ भएका ८०% मानिसहरूलाई त आफूमा यो रोग लागेकोबारे अनभिज्ञ रहने र नजानेरै अरुमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरूसरह घातक रोग मानिन थालिएको रहेछ ।

हेपाटाइटिसबारे जागरुकता बढाउन हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदैछ । अस्पतालको सहज पहुँच, औषधिको सुलभ उपलब्धता र स्वास्थ्य अधिकार नभएसम्म हामीले अभैm धेरै मानिसहरू गुमाउनेछौँ । उनीहरू विश्व जनसंख्याबाट ओझेल पर्नेछन् । यी ओझेल अनुहारहरू फेरि अर्को वर्षको निम्ति तथ्यांक बनेर थन्किनेछन् । यी ओझेल अनुहारहरू पनि त जीवन हुन् भनेर एक चोटि फेरि बिर्सिनेछौँ हामीले । अनि अर्को वर्षको हेपाटाइटिस दिवसमा पुनः स्मरण गर्नेछौँ । यी हराएका, विलिन भएका, हामीले बचाउन सक्ने सम्भावित जीवन कथाहरू ।

स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्छ । यस्ता भयानक रोगबाट ग्रसित हुनुपर्दा त मृत्युकै बाटो रोज्नुपर्ने हुन्छ । यसकारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य ।

आजकै दिन भएपनि आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बँच्ने तरिकाहरू के रहेछन् भन्नेबारे छलफल गर्न तपाईंहरूलाई हामी सुझाउँछौँ ।
–––––––
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.