मङ्गल चौथी व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरु

मङ्गल चौथी व्रत




मङ्गल चौथी व्रत विशेष अडियो सामग्री

हिन्दू संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान श्री गणेशको आरधना र स्मरण गर्छन् । भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रुपमा पूजा गर्ने चलन पनि छ ।

आज मंगलबारलाई भगवान गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आरधना गरेर मनाइने चलन रहेको छ । मंगलबार भगवान गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।

भगवान गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान प्रसन्न भएर व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्नहर्ता तथा सिद्धि दिने सिद्धिविनायक विशेष आजको दिन सबैको मंगलमय होस् ।


मङ्गल चौथी पूजा विधि
– ज्यो पं नारायणप्रसाद दुलाल


विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते

विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरुले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटीकोटी नमस्कार छ ।

उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् । अतः माता दुर्गा भवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।

मंगलबारको दिन चौथी तिथि पर्यो भने गणेशजीलाई प्रसन्न पार्न मंगल चौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आरधना, ब्रत प्रारम्भसहित उद्यापन पनि गरिन्छ । जसले यसदिन ऋद्धिसिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःखकष्ट र बिघ्नबाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरि दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ ।

संकल्प पश्चात् अर्घ स्थापना गरेर विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरुको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बीचमा गणेशजीको प्रतिमा वा मुर्ति राख्ने र गणेशजीको विशेष पूजनकालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्नेः

वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।

यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नम ः भन्दै पाद्य, अर्घ, आचमनी, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरि धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरि रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको निराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरि सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्नहर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरि आर्शिवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
अस्तु ।। 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.