Hamro Patro Naag Panchami | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

नाग पञ्चमी | कल्की जयन्ती




नाग पञ्चमी विशेष अडियो सामग्री

आज नागपञ्चमी । अब बिस्तारै वर्षा ओरालो लाग्दैछ । चाडबाडहरूको मौसम शुरु भइसक्यो । अब लाग्ने चर्को घाममा दसैँको आभास पाइन्छ । चाडपर्वहरूलाई धर्मसँग मात्र नजोडी संस्कारसँग जोड्ने हो भने हाम्रो संस्कारलाई नागपञ्चमी जस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन् । आजको दिन सरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।

कलियुग आफ्नो चरममा छ । युद्ध, त्रास, भय, अपराध अनि मानवीय चाहनाहरूको उत्कट समयमा सबैलाई कल्कीको आगमनको अपेक्षा छ । विष्णुको दश अवतारमध्ये अन्तिम अवतार कल्कीको आगमनसँगै कलियुग समापन हुने र सत्ययुगको चक्रतर्फ सभ्यताउन्मुख हुने विश्वास छ । नागपञ्चमीका दिन कल्कीको पनि जयन्ती मनाइन्छ । यस विषयमा म पछि आउनेछु ।

श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्काेटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।

नागपञ्चमी विशेष भिडियो : 


यिनै नागहरू अंकित चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानका घरमा दैलोमा गाईको गोबर, दुबो लिएर नाग टाँस्न पुग्छन् । यसरी दैलो या मूल खाम्बोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । रक्षार्थ टाँसिने यस्ता चित्रहरू टाँस्ने पुरोहितहरूलाई जजमानले गक्ष अनुसारको दक्षिणा, नैबेद्य र भोजन पनि गराउने चलन छ ।

नागपञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित् नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डँस्छ । उनको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे । यसका लागि उनले महायज्ञ शुरु गर्छन्, त्यसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।

उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षकबाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जनमेजयसम्म आइपुग्छन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जनमेजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यसपछि आजैका दिन पुर्नजीवन पाएको विश्वास गरिन्छ ।

यस दिन नागदेवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामन्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

कल्की जयन्ती
सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरूमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावैबाट यो दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवी–देवताका साथ कल्की भगवान धर्तीमा अवतरण गर्ने जनविश्वास छ । यसै आगमनको आशामा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा कल्की जयन्ती मनाइने गरिन्छ । भगवान विष्णुको यो अवतार ६४ कलाले युक्त हुन्छ । पुराण अनुसार, भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनास गर्नेछन् ।

कतिपय जनविश्वासका अनुसार, भगवान विष्णुको दशौँ तथा अन्तिम अवतार ‘कल्की अवतार’ भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ । आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ । कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनास गरेर पुनः एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनस्र्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

कृष्णको झैँ पहेँलो वस्त्रमा धर्तीमा पर्दापण हुने कल्कीको जन्म र कर्मबारे भागवत गीतामा व्याख्या समेत गरिसकेको पाइन्छ । धर्मको जय होस् ।
––
हाम्रो पात्रोका लागि सुयोग ढकालले तयार पारेको आलेख ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.