विश्व बौद्धिक सम्पत्ति दिवस | पूर्णिमा व्रत | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व बौद्धिक सम्पत्ति दिवस | पूर्णिमा व्रत




विश्व बौद्धिक सम्पत्ति दिवस विशेष अडियो सामग्री

दुई टुक्रा जमिन, दुई तोला सुन अनि दुई हल गोरुहरू जस्ता थुप्रै भौतिक सम्पत्तिका अवयव मान्दै नेपाली समाज वर्षाैबदेखि बढिरहेकै थियोे । त्यसो त, विश्व पनि त्यसैगरी अघि बढेको हो ।

मरिचका दानादेखि सिमानाका जमिनका रेखाका लागि विश्वमा अनेकन युद्ध पनि भएकै हुन् । अझै हुन सक्ने सम्भावना उत्तिकै छन् । हाम्रै समाजमा पनि गोरुले धान खाएको अनि बाख्राले बिस्कुन खाएकासम्म घटना र झगडाहरूमा आ–आफ्ना सम्पत्ति र सामानको रक्षार्थ भएका तर्क र परिवेश बुझ्न सकिन्छ ।

सम्पत्तिको परिभाषा अब भौतिक सवालमा मात्र पनि कहाँ रह्यो र ? अब त शब्द, सञ्चार अनि अन्य विभिन्न बौद्धिक तत्वहरू झनै प्रखर सम्पत्तिका रूपमा तुलना हुन र जोखिन थालेका छन् ।

अब कविका कविताले पनि उत्तिकै मूल्य बोक्छन् । जति हलियाका हलीले बोक्ने गर्दथे । गीतकारको गीत, पंक्तिकारको पंक्ति, गायकको आवाज, संगीतकारको रचना, खानेकुराको परिकारको रेसिपीदेखि मसलाको मिश्रणसम्म सर्जकका सम्पत्ति हुन् ।

व्यापारको ट्रेडमार्क, विज्ञापनको तवरदेखि प्रविधिगत नवप्रर्वतनसम्म पनि बौद्धिक सम्पत्ति हुन् । १९औं शताव्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पत्तिको अधिकारका सवाल भनिएपनि २०औ शताव्दी बौद्धिक सम्पत्ति अधिकारको शताव्दी भएको छ ।

द्धिक विचार लगायतका अन्य कुराहरूको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्य रूपमा भन्दा अब सम्पत्ति कमाउन पसिना अनि दिमाग दुवैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।

उदहारणका लागि कसैले हावाबाट चल्न मिल्ने गाडी बनायो भने त्यो गाडी अनि उत्पादनका उपाय र प्रविधिहरू उसका बौद्धिक सम्पत्ति हुन् । निश्चित समयसम्म उसको यस नवप्रवर्तनमा आर्थिक अधिकार रहन्छ र अन्य कसैले यसै उत्पादन या कुनै तवरमा प्रयोग चाहे उसँग इजाजत लिनुपर्ने हुन्छ । यो कुरा अन्य हरेक बौद्धिक उत्पादन अनि खोजमा लागू हुन्छ ।

हरेक वर्षको अप्रिल २६ तारिखका दिन विश्व समुदायले विश्व बौद्धिक सम्पत्ति दिवस मनाउने गर्छ । यो वर्षको बौद्धिक सम्पत्ति दिवसको सबैमा शुभकामना । हामीले कहिले काहिँ सुनेका पनि छौं कि कसैको चलचित्रमा कसैको गीतको सानो अंश प्रयोग भएकामा मुद्दा दायर हुँदै झमेलामा परेका घटना सुनाएकै हौ । यी सबै विषय बौद्धिक सम्पत्ति अधिकारमा पर्छ । सर्जकको अनुमतिविना केही तथ्य या सामग्रीहरू अरुले प्रयोग गर्न पाइन्न ।

दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसायिकता दुवै हुन्छ । त्यसको संरक्षणको संस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । यतिखेर डिजिटल युगमा त झन् विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढी झैं आएको छ । बौद्धिक अधिकारको संरक्षणविना त सर्जकको सिर्जनाको मूल्य नै रहन सक्ने अवस्था छैन । हामीले सुन्ने गीतदेखि ‘कपी–पेस्ट’ गर्ने विचार अनि भनाइहरू ती सर्जकका सम्पत्ति हुन् ।

सन् २०२१ को बौद्धिक सम्पत्ति दिवसको नाराले साना व्यवसायहरूको बौद्धिक सम्पत्तिहरूको अधिकारलाई केन्द्रमा राखेको छ । कोरोनापछिको विश्वमा थप महत्वपूर्ण भएका साना तथा मझौला व्यवसायहरूको बौद्धिक सम्पत्तिको रक्षाको महत्वलाई यस वर्षले प्रकाश पारेको हो ।

कथाकारले कथा लेखेरै खान पाउन् । उनका कथा अनि चरित्रहरू नचोरिउन् । कविले कवितामै जीवन पाउन अनि उनका कवितामा उनैको मात्र अधिकार रहोस् । अनि हरेक सर्जकले आ–आफ्नो सिर्जनाको मूल्य पाउन् । सर्जक र सिर्जना दुवैको सम्मान होस् । व्यापार, समाज अनि प्रविधि सर्वज्ञ बौद्धिक सम्पत्तिको रक्षा हुने वातावरण रहोस् । शुभकामना


पूर्णिमा व्रत
हरेक पूर्णिमाका तिथिहरू पवित्र अनि चाडवाड झैं मनाइने उत्सर्गका रूपमा लिइन्छ । पूर्णचन्द्रको तिथिलाई संस्कृतमा पूर्णिमा भनिन्छ ।
आहुती, होम, स्नान, दान अनि आव्हानका लागि पूर्णिमाको विशेष महत्व रहन्छ । यस दिन व्रत बस्नाले दुःख हरण हुने र पितृ दोषहरूबाट पनि मुक्त हुने विश्वास छ ।

विक्रम सम्वत् २०७८ को बैशाख शुरु भएतापनि पछिल्लो वर्षका तिथिहरू अझै यस वर्षमा समापन भएको छैन । आज चैत्र पूर्णिमा हो । सामान्यतया बैशाखमा परेको भएर बैशाखे पूर्णिमाका रूपमा लिइने पनि पाइन्छ । तर बैशाख पूर्णिमा बुद्ध जयन्ती अनि कुर्मा जयन्तीका रूपमा विशेष चर्चित छ ।

आजको पूर्णिमामा व्रत बसेर सत्यनारायणको पूजा लगाउने चलन पनि निकै पाइन्छ । यस पूर्णिमामा बिहान स्नान गरेर भगवान शिव, विष्णु र लक्ष्मीलाई मिठाई, फल र पुष्प चढाउने गर्नाले वर्षभरि हितकर रहने जनविश्वास छ । साँझमा चन्द्रमालाई अर्घ दिइन जरुरी ठानिन्छ ।
हुन त, चैत्र पूर्णिमालाई हनुमान जयन्तीका रूपमा पनि मनाइन्छ । यद्यपि आज चाहिँ तिथिका रूपमा चर्तुदशी हो । भोलिपल्टको पूर्णिमाका लागि आज नै व्रत बस्ने चलन छ ।

तिथिका हिसाबले अब भोलिबाट चाहिँ नयाँ वर्षको शुरु हुनेछ । चैत्र पूर्णिमामा गायत्री मन्त्र पाठ गर्ने र भागवत गीता अध्ययन र आत्मसात् गर्ने गरिन्छ । चैत्र पूर्णिमाको व्रतको शुभकामना । व्रतालुहरूको कल्याण होस् । उनीहरूको व्रतको प्रतापले समग्र विश्वको नै कल्याण होस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.