विश्व प्रेस स्वतन्त्रता दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व प्रेस स्वतन्त्रता दिवस




विश्व प्रेस स्वतन्त्रता दिवस विशेष अडियो सामग्री

स्वतन्त्रता मुटु अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस

सन् २०२१ मा विश्व कोरोना त्रासले आक्रान्त छ । अघिल्लो वर्ष पनि यो समय यस्तै सन्त्रासमा थियो । यो वर्ष पनि त्यसमा फेरबदल आएको छैन । यद्यपि विश्वभरि सूचना, सार्वजनिक हितका लागि भन्ने नाराका साथ ‘विश्व प्रेस स्वतन्त्रता दिवस’ मनाइँदैछ ।

समाचार मिडियाको आर्थिक पूर्णता इन्टरनेट कम्पनीहरूको पारदर्शिता अनि मिडिया साक्षरतामा जोड दिँदै विश्वभरि ‘भर्चुअल’ कार्यक्रमबीच यो दिवस मनाइँदैछ । आउनुहोस् यसै पेरिफेरिमा वात मारौं ।

हुन त, हरेक वर्ष नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं र मुलुकका अन्य शहरमा मे–३ को दिन प्रभातफेरि कार्यक्रम हुन्थ्यो । त्यसअतिरिक्त दिउँसो पनि पत्रकारिता, प्रेस स्वतन्त्रताका सवालमा कुनै न कुनै किसिमको छलफल आयोजना गरिन्थ्यो । तर यो वर्ष कोभिड–१९ कहरकै बीचमा प्रेस स्वतन्त्रता दिवस परेको छ । चारैतिर संक्रमणको डर छ । भौतिक दूरी कायम राख्नुपर्ने अवस्था छ । सँगै सरकारी निषेधाज्ञाका कारण पनि भेला हुन सक्ने स्थिति छैन ।

राज्यको चौथो अगंको कुरा गरौँ आज । प्रेस अर्थात् सञ्चार माध्यमका कुरा गरौँ । अनि तिनका स्वतन्त्रताका सवालहरूबारे बहस गरौं ।

हरेक वर्षको मे महिनाको ३ तारिखमा विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि वहस गरिँदै समाचार संकलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झनासहित र सम्मान गर्दै मनाइन्छ । सन् १९९३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो संयुक्त राष्ट्र संघीय युनेस्कोको आह्वानमा यो दिवस मनाइने क्रमको सुरुआत भएको हो ।

सञ्चार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिएको खण्डमा लोकतन्त्र अनि सूचनाको अधिकारमामै धक्का पुग्छ । स्वतन्त्रता अनि निष्पक्षताको वकालत भइरहे पनि आजको विश्वमै पनि दर्जन भन्दा धेरै देशहरूमा प्रेसमाथि सेन्सरसीप नियमित गरिन्छ । सञ्चारकर्मीहरूमाथि बन्देज लगाउने, बन्दी बनाउने, आक्रमण अनि हत्यासम्मका क्रियाकलाप हुँदै आएका छन् । आजको दिनले सामान्य जनताहरूलाई अनि संसारवासी हामीहरूलाई प्रेस स्वतन्त्रताबारे जानकारी अनि महत्व बुझाउने सर्वब्यापी चेष्टा गर्छ । यसका साथै आजको दिनले संसारभरिका सञ्चारकर्मीहरूलाई प्रेस तठस्थ रहनुपर्ने पाठ र महत्वको झभल्को दिने कार्य गर्दछ ।

पछिल्लो दशकमा लोकतन्त्रको पुर्नआगमनसँगै नेपालमा पनि पत्रकारिता कर्मप्रतिको उत्साह बडो गज्जबले बढेको छ । रेडियो नेपाललाई शर्टवेभमा मात्र एन्टेना तानेपछि समात्ने नेपाली तरङ्ग आकाशमा आज सैयाँैको संख्यामा रेडियो केन्द्रहरू छन् । त्यसैगरी टीभी, पत्रिका, अनलाइन गरी विभिन्न स्वरूपमा धेरै सञ्चार केन्द्रहरू स्थापना भएका छन् । यो एउटा गज्जबको विकास हो । तथापि हरेक विकासँगै आउने चुनौतिहरूझैँ प्रेस स्वतन्त्रता अनि निष्पक्षताका मर्महरू नेपालमा कतिको सम्बोधन अनि समाहित गर्न सकिएको छ त ? विचारयोग्य प्रश्न हो । आजको दिनले मनन गर्न झक्झक्याउने पनि छ ।

यस वर्ष आजको दिन एसियाली देश इन्डोनेशियाको राजधानी जकार्तामा संसारभरिका मिडिया प्रतिनिधिहरू भेला भएर युनेस्को गुईलेरमो क्यानो विश्व प्रेस स्वतन्त्रता उपाधि प्रदान गरिनेछ ।

आज संसारभरिका अधिकांश राष्ट्रका प्रेस काउन्सिलहरूले विज्ञप्ती जारी गर्ने चलन पनि छ । स्वतन्त्रतासँगै कर्तब्यनिष्ठ प्रेसको अपेक्षा पनि राष्ट्रलाई रहन्छ । पाठक-स्रोता, दर्शकलाई गलत जानकारी दिएर झुक्याउने या त्रासदी फैलाउने भन्दा पनि सही र सकारात्मक पत्रकारिता तथा सूचना आवश्यकता छ ।

अझ लोकतान्त्रिक अभ्यासमा स्थानीय चुनावको संघारमा आएको नेपाललाई नेपालीपनको धागोमा एक सूत्र गर्न सक्ने प्रेसको आवश्यकता छ । हामी हाम्रो पात्रो आफ्ना सम्पूर्ण भाग अनि भूगोलमा तठस्थ, सकारात्मक अनि नेपालीपनका सूत्र जोड्ने सन्दर्भ र साम्रगी लिएर आउने वाचा पनि यसै आलेख साथ गर्दछौ है ।

हरेक किसिमको स्वतन्त्रताको कसी या मुटु चाहिँ प्रेस स्वतन्त्रतालाई मानिन्छ । अर्थात्, कुनै मुलुक कति स्वतन्त्र छ भनी मापन गर्ने काम प्रेस स्वतन्त्रताबाटै हुन्छ । जहाँ प्रेस स्वतन्त्रता प्रत्याभूत हुँदैन, त्यहाँ नागरिकका अन्य प्रकृति स्वतन्त्रता कुण्ठित हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसकारण पनि समाजको खुलापन र लोकतान्त्रिक पद्धति स्थापित गर्न प्रेस स्वतन्त्रता अपरिहार्य तत्व ठानिन्छ ।

हुन पनि संविधानसभा निर्मित संविधानमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । अर्थात्, संवैधानिक हिसाबले प्रेस स्वतन्त्रता दरिलोसँग स्थापित छ । तर, शासकीय व्यवहार चाहिँ नियन्त्रणमुखी छन् । हामी कहाँ बेलाबखत अनेकन नियन्त्रण निम्ति अनेकन विधेयक प्रस्तुत गर्ने प्रयत्न भइरहेकै छन् । कानुन संशोधनका नाममा बीचमा नागरिक तथा प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयत्न भइरहेकै छ, संविधानमाथि कानुन भएको अनौठो शैली प्रदर्शन गर्दै ।

त्यसो त, स्वतन्त्रता अर्थ छाडापन कदापि होइन । प्रेसले पनि मर्यादाका सीमाभित्र रहनुपर्छ ।

२०४६ सालको आन्दोलन होस् या १० वर्षे शसस्त्र द्वन्द्व या २०६२-०६३ को जनआन्दोलन होस्, हामीले पाएको सूचना अनि ताजा अपडेटहरू दिन धेरै जना पत्रकारले पसिना बगाउने, ज्यान जोखिममा राखेर अनि कतिले त ज्यान नै गुमाउनुसम्म भएको छ । चाहे नेपालमा मारिएका पत्रकार डेकेन्द्र थापा हुन् या अफगानिस्तानमा मारिने कुनै अन्य देशका पत्रकार तर यसरी प्रेसमाथिको आक्रमणले स्वतन्त्रता र लोकतन्त्रमाथि नै धावा बोलेको छ । विमान दुर्घटनामा विट ठाउँमा पर्दा राति–राति पत्रकार पनि प्रहरी अनि बचाव दलसँग टर्च लाइट बाल्दै पुगेको हुन्छ र मात्र भोलि पत्रिकाको हेडलाइनमा हामीले पढ्न पाउँछौ ।

टिभीमा देख्न अनि रेडियोमा सुन्न पाउँछौ । खबरहरू, यस्ता धेरै उदहारणहरू अनि साहसिक कार्यहरू नेपाली पत्रकारहरूले गर्नुभएको छ र गर्नुहुन्छ ।
सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा ज्यानकै बाजी थाप्न पनि नपर्ने यी पेशाकर्मीलाई हार्दिक नमन । अनि भविष्यमा पनि प्रेसलाई राजनीति अनि अन्य ब्यवसायको अखडा बनाउने सुनियोजित कार्य नहोस् । नेपालीहरूको चाहना यही हो । समाचार र सूचना हाम्रो अधिकार हो भने प्रेस सुरक्षा अनि स्वतन्त्रता हाम्रो दायित्व पनि हो । प्रेस स्वतन्त्रता दिवसका अवसरमा पाठक अनि लेखक, दर्शक अनि प्रस्तुतकर्ता, श्रोता र वाचक सबैलाई शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.